काठमाडौं । जनस्वास्थ्यकर्मीहरुले निर्वाचन घोषणा फिर्ता गर्न सरकारसँग आग्रह गरेका छन् । कोरोना महामारीको समयमा जनताको जीवन रक्षामा केन्द्रित हुनुको सट्टा मध्यावधि निर्वाचनको घोषणा गर्नु नागरिकको जीवनप्रति सरकारको चरम गैरजिम्मेवारीपन भएको भन्दै उनीहरुले फिर्ता गर्न आग्रह गरेका हुन् ।

आइतबार एक विज्ञप्ति जारी गर्दै देश कोभिड–१९ को महामारीको दोश्रो लहरबाट आक्रान्त भैरहेको बेला प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संघीय संसदको विघटन र मध्यावधि निर्वाचनको घोषणाले आफूहरु चिन्तित र मर्माहित भएको जनस्वास्थ्यकर्मीहरुले बताए छन् ।
डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्री राज पाण्डे, डा. सुजन बाबु मरहठ्ठा, डा. अरुणा उप्रेती, डा. समीरमणि दीक्षित, डा. बिन्ज्वला श्रेष्ठ, डा. राजेन्द्र बि.सी. र डा. कृष्णमान शाक्यद्वारा जारी अपीलमा भनिएको छ, ‘कोभिड १९ को महामारीले स्वास्थ्यमा भएको सङ्कटपूर्ण स्थितिलाई स्वीकार गर्नु र अर्कोतिर निर्वाचनको घोषणा गर्नु आफैमा विरोधाभासपूर्ण छ ।’
उनीहरुले निर्वाचन कोभिड संक्रमणको माध्यम बनेर महामारीको भयावह स्थिति बन्न सक्ने जोखिमको कारण पनि बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
‘यो क्षम्य हुदैन र हामी जनस्वास्थ्यकर्मीहरु यो छुट कदापी दिन सक्दैनौँ । त्यसैले, यो महामारीको बेला नागरिकको जीवनलाई जोखिममा राख्दै गरिएको मध्यावधि निर्वाचनको घोषणा अविलम्ब फिर्ता लिन हामी माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।











