काठमाडौं । विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न सांसदहरुको हस्ताक्षर संकलन पश्चात गठबन्धनका शीर्ष नेताहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच छलफल सुरु भएको हो ।

विपक्षी गठन्धनले सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न लागेका हुन् । यसका लागि सांसदहरूको हस्ताक्षरसमेत संकलन भइसकेको कांग्रेसमा एक नेताले बताए ।
विपक्षी गठबन्धनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतबाटै ‘प्रधानमन्त्री घोषणा’ गर्न परमादेश माग गर्दै रिटको ‘ड्राफ्ट’समेत तयार पारिसकेका छन् ।
कांग्रेस नेता तथा अधिवक्ता रमेश लेखकका अनुसार हस्ताक्षर संकलन भइसकेपछि आजै सर्वोच्च जाने तयारी भइरहेको छ । सर्वोच्च अदालतले बहुमत सांसदको आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्दै संसद विघटन खारेज गर्नुपर्ने आफूहरुको माग रहेको उनको भनाइ छ ।











