काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का दुई पक्षबीच स्परिष्करण लेनादेना चलेको छ । तर, दुवै पक्षले एक अर्कालाई पार्टीको निर्णय विपरित लागेको आरोप लगाएका छन् । अध्यक्ष उपेन्द्र यादवले पार्टीको निर्णय र नीति विपरित कार्य गरेको भन्दै अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई स्पष्टिकरण सोधेको केही समयभित्रै अध्यक्ष यादवलाई पनि प्रष्टिकरण सोधिएको हो । तर, ती स्पष्टिकरणको दुवै पक्षको आरोप एउटै छ, ‘किन पार्टीको निर्णय र नीति विपरिच चल्यौं ?
जसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको निर्णयविपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोधेको हो । अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयभित्र पठाउने गरी सातबुँदे स्पष्टीकरण सोधिएको छ ।

पछिल्ला दिनमा जसपाको मूल्यमान्यता, नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधानबमोजिम अनुशासनको कारबाहीको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा मंगलबार अबेर जारी विज्ञप्तिमा भनिएको छ ।
स्पष्टीकरणमा लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्काशन गरेको, विपक्षी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)सँग मिलेर सर्वोच्च अदालतमा संसद् पुनःस्थापनाको माग गर्दै रिट निवेदन दायर गर्न गएको र एकलौटी रुपमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी निर्णय गरिएको विषयमा प्रश्न सोधिएको छ ।
त्यसैगरी, पार्टीको संसदीय दलको निर्णयानुरूप प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नुपर्नेमा ठीक विपरीत विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन कुन कारणले हस्ताक्षर गरेको तथा सर्वोच्च अदालतमा पार्टीको निर्णयबेगर विपक्षी गठबन्धनको रिटमा किन हस्ताक्षर गरेको भनी प्रश्न उठाइएको छ ।
यस्तै, यसअघि अध्यक्ष उपेन्द्र याववले पनि अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई स्पष्टिकरण सोधेका थिए । अध्यक्ष यादवले पनि अर्का अध्यक्ष र नेता महतोलाई पार्टीको निर्णय विपरित कार्य गरेकाले तीन दिनभित्र चित्त बुझ्दो जवाफ दिन भनिएको छ ।
यादवको स्पष्टिकरण पत्रमा पार्टीको निर्णय विपरित ‘प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको ?’ लगायतका विभिन्न प्रश्न सोधिएको छ ।
















