Logo
Logo

सुदूरपश्चिमका तीन मन्त्रीलाई फिर्ता हुन एमालेको निर्देशन


दृष्टि संवाददाता

1.3k
Shares

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आफ्ना तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ ।

प्रदेश समितिका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले तीनै जना मन्त्रीलाई छुट्टाछुट्टै पत्र लेख्दै आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका हुन् ।

यसअघि गत शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोहीअनुरूप तीनै मन्त्रीलाई ११ जेठमा सरकारबाट फिर्ता हुने पत्र काटिएको थियो ।

तर, बुधबार बसेको एमाले सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको थियो । केन्द्रको स्थायी समितिको निर्णयलाई चुनौती दिँदै प्रदेशको संसदीय दलको बैठकले समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।

सुदूरपश्चिम एमाले संसदीय दलमा माधव नेपाल पक्षको बहुमत छ भने अहिले फिर्ता बोलाइएको तीनै जना मन्त्री माधव नेपाल पक्षीय हुन् । संसदीय दलको निर्णयलाई ओली पक्षका प्रदेश सभा सदस्यहरुले भने नमान्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्