Logo
Logo

डेढ वर्षमा तीन स्वास्थ्यमन्त्री, भाइरसका पनि तीन प्रजाति


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस गत सय वर्षयताको सबैभन्दा ठूलो महामारी बनेको छ । सन् १९१८ देखि १९२० सम्म विश्वमा फैलिएको स्पेनिस फ्लु ५० करोड मानिसमा संक्रमण भएको थियो भने ५ करोडभन्दा बढीको ज्यान लिएको थियो । सन् २०१९ को अन्त्यदेखि सुरु भएको कोरोना महामारी सोमबारसम्म विश्वमा १७ करोड ३३ लाखमा सरिसकेको छ भने ३७ लाख ३० हजारको ज्यान लिइसकेको छ ।

२०७६ माघ १० मा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको नेपालमा हालसम्म ५ लाख ९१ हजार संक्रमित भइसकेका छन् भने ७ हजार ९९० ले अकालमा ज्यान गुमाइसकेका छन् । नेपालमा संक्रमण दर अझै पनि २५ देखि ३० प्रतिशत हाराहारीमा छ । यो दर महामारी फैलावटको हिसाबले उच्च हो । हाल संक्रमण सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी फैलिएको छ । अधिकांश जिल्लामा विगत ८ सातादेखि निषेधाज्ञा जारी छ । पछिल्ला दिनमा कोरोना भाइरसको मृत्युदर १।६ प्रतिशतमा उक्लेको छ ।

जनस्वास्थ्यको यस्तो चरम संकटका बेला स्वास्थ्य मन्त्रालयले नेतृत्वदायी भूमिका खेल्न नसकेको भनी आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी सुरु भएको डेढ वर्षमा गत साता तेस्रो स्वास्थ्यमन्त्री नियुक्त गरेका छन् । यसरी महामारी नियन्त्रणमा केन्द्रीय र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व महामारीबीच तेस्रो पटक परिवर्तन भएको छ ।

गत पुस १० मा नियुक्त भएका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी ६ महिना नपुग्दै बाहिरिएका छन् । उनलाई गत साता गरिएको मन्त्रिमण्डल हेरफेरका क्रममा शेरबहादुर तामाङले प्रतिस्थापन गरेका छन् । त्यसअघि भानुभक्त ढकालले एक वर्षजति मन्त्रालयको नेतृत्व सम्हालेका थिए ।

नेपालका लागि इतिहासकै सबैभन्दा ठूलो महामारीको यो पृष्ठभूमिमा स्वास्थ्य मन्त्रालयलाई सक्षम र स्थिर नेतृत्वको आवश्यकता हुँदाहुँदै पनि त्यसलाई ‘पंगु र अस्थिर’ बनाउन प्रधानमन्त्री जिम्मेवार देखिएका छन् ।

लीले ३ वर्षमा ५ पटक स्वास्थ्यमन्त्री फेरेका छन् । संसद्को लगभग दुईतिहाइ सदस्यको समर्थनमा सरकार गठन गरेका प्रधानमन्त्री ओलीले २०७४ चैत २ गते पद्मा अर्याललाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए । अर्यालले मन्त्रीसरहको अधिकार प्राप्त गरेकी थिइन् । अर्यालले एक वर्षभन्दा बढी नेतृत्व सम्हालेपछि २०७५ जेठमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । त्यसपछि २०७६ मंसिरमा स्वास्थ्यमन्त्रीको जिम्मा भानुभक्त ढकालले लिएका थिए ।

मन्त्रालयको यो नेतृत्व परिवर्तन महामारी नियन्त्रणमा सक्षम नेतृत्व दिने व्यक्तिको खोजीभन्दा पनि प्रधानमन्त्रीले आफ्नो सत्ता स्वार्थ पूरा गर्नमा केन्द्रित देखिएको छ। विषयगत विज्ञता गौण देखिएको छ । मन्त्रीमात्र होइन, ओली सरकार गठन भएको ३ वर्षयता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आधा दर्जन सचिव फेरिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्