
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभा ‘मैनाचरीहरुको सभा’ भएको टिप्पणी गरेका छन् ।
गण्डकी प्रदेश सभामा विश्वासको मत प्रस्तावमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री गुरुङले प्रदेशसभा सदस्यहरुले पार्टीका नेताहरुले जे भन्छन् सोहीअनुसार मात्र काम गरेको भन्दै प्रदेश सभा मैनाचरीहरुको सभा भएको टिप्पणी गरेका हुन् ।
मुख्यमन्त्री गुरुङले भने– ‘माननीय प्रदेशसभा सदस्यज्यूहरु प्रदेश सभा मैनाचरीहरुको सभा जस्तो भयो । हामी सृजनशील हुन सकेनौं । क भन्दा क भन्ने मात्र भयौं । हामी सृजनशील हुन सकेनौं भने संघीयता सफल हुन सक्दैन ।’
पार्टीका शीर्ष नेताहरुको चाहनामा संघीय सरकार संकटमा परेको र त्यसैको प्रभाव प्रदेश सरकारमा समेत परेको भन्दै मुख्यमन्त्री गुरुङले अझै पनि केन्द्रीयताको मानसिकताले काम गर्नुले संघीयता संकटमा पर्दै गएको धारणा व्यक्त गरेका छन् ।












