Logo
Logo

प्रजातन्त्र सेनानीका छोरा गणतन्त्रका मुख्यमन्त्री


दृष्टि संवाददाता


काठमाडौं । कृष्णचन्द्र पोखरेल नेपाली राष्ट्रिय राजनीतिमा खासै सुनिएको नाम होइन । जसरी गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ राष्ट्रिय राजनीतिमा चिनिन्छन् । गुरुङलाई सत्ताबाट बिदा गर्दै उनै लो प्रोफाइल पोखरेल मुख्यमन्त्री भए । उनको सर्वत्र चर्चा छ । को हुन भन्ने सबैले चासो राखेका छन् ।

गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त पोखरेल नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन । तर, केन्द्रीय सदस्य भए पनि खासै चिनिएका नेता होइनन् । उनी हाल गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता छन् ।

पोखरेल २०७४ सालको प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश अन्तरगतको नवलपरासी पूर्व १ (क) बाट निर्वाचित भएका हुन् ।

प्रजातन्त्र सेनानी गोवर्द्धन शर्माका छोरा पोखरेल हाल ​७१ वर्ष पुगेका छन् । पोखरेल २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका हुन् ।

पोखरेलले विद्यार्थी राजनीति तनहुँबाटै सुरु गरेका हुन् । २०२८ सालमा नेपाली काँग्रेसको जिल्ला सदस्य बनेका पोखरेल ६ पटकभन्दा धेरै जेल परेका छन् । पोखरेलले २०२२ देखि २०२८ सालसम्म बुबा गोवर्द्धन शर्मासँगे भारतमा निर्वासित जीवन बिताएका थिए ।

शर्माले लामो समय शिक्षण पेशामा समेत समय व्यतित गरेका छन् । उनले काभ्रेको फलानटे, तनहुँको दमौली र तनहुँको थर्पुका हाइस्कुलमा राजनीतिशास्त्र, भूगोल, इतिहास पढाए ।

२०३६ सालको जनमतसंग्रहमा बहुदलको पक्षमा प्रचार गरेर नेपाली कांग्रेसलाई विजयी गराएको भन्दै मन्त्रिपरिषदले जुम्ला सरुवा गर्ने निर्णय गरेको थियो । २०३६ सालमा पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेसा छोडे । यसरी उनले लामो समय नेपाली राजनीतिमा खर्चेका छन् ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमार्फत निर्वाचित भइ पोखरेल मुख्यमन्त्री भए ।

प्रतिक्रिया दिनुहोस्