Logo
Logo

ह्वात्तै बढ्यो लागुऔषधको कारोबार


दृष्टि संवाददाता

252
Shares

कञ्चनपुर । कञ्चनपुरमा पछिल्लो समय लागुऔषधको कारोबार डरलाग्दो रुपमा अघि बढिरहँदा प्रहरीले त्यसको जालो भत्काउने अभियान प्राथमिकतामा राखेको छ ।

आर्थिक वर्ष २०७२÷७३ मा प्रहरीमा लागुऔषधका १२ मुद्दा मात्रै दर्ता थिए । त्यसको ठीक छ वर्षपछि चालु आवको हालसम्म १२३ लागुऔषधका मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले लकडाउन अवधिमा खुल्ला सिमानाका भएको कञ्चनपुरमा खैरो हिरोइनलगायत लागुऔषधको तस्करी जारी रहेको बताए ।

बितेका केही महिनामा २०१ लागुऔषध कारोबारी पक्राउ गरेको प्रहरीले यहाँ हरेक दिनजसो खैरो हिरोइनसहित लागुऔषधको लतमा लागेका पक्राउ पर्न थालेका छन् ।

‘लकडाउनमा सीमा नाकामा आर्थिक प्रलोभनले पनि लागुऔषधको कारोबारमा संलग्न रहेको पाइयो’, प्रवक्ता थापाले भने, ‘यो बीचमा दश भारतीय र चार महिलासमेत कानूनको दायरामा आएका छन् ।’

प्रहरीका अनुसार यहाँको कारागारमा समेत ५० प्रतिशतभन्दा बढी लागुऔषध मुद्दाका अभियुक्त रहेका छन् । जिल्ला प्रहरी कार्यालयको नेतृत्व प्रहरी उपरीक्षक उमाकान्त चतुर्वेदीले सम्हालेयता लागुऔषध नियन्त्रणका लागि उनले अभियान नै सञ्चालन गरेका छन् ।

‘कारबाही र सचेतना’को नीतिसहित जिल्लाभर लागुऔषध नियन्त्रणका लागि खटिएको प्रहरीले लागुऔषधको कारोबार गर्ने धमाधम पक्राउ पर्न थालेपछि जघन्य लगायतका अपराधमा पनि समाजमा कमी आएको प्रहरीको दाबी छ ।

‘अपराधको जननी जस्तै यहाँ लागुऔषध रहेछ’, थापाले भने, ‘लागुऔषध सेवनकर्ताबाटै यहाँ बढी घटा घटेको तथ्याङ्क छ ।’

प्रहरीको तथ्याङ्कअनुसार कञ्चनपुरमा आर्थिक वर्ष २०७३÷७४ मा २२ मुद्दा, २०७४÷७५ मा ५०, २०७५÷७६ मा ४६ र २०७६÷७७ मा ५५ मुद्दा दर्ता भएको देखिन्छ । लागुऔषध नियन्त्रणका क्रममा प्रहरीसितको दोहोरो झडपमा यहाँ केही महिनाअघि एक भारतीय तस्करले ज्यानसमेत गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्