Logo
Logo

प्रदेश २ मा तनावग्रस्त : राज्यमन्त्रीको गाडी तोडफोड


- दृष्टि न्युज/संवाददाता


जनकपुरधाम, १६ चैत । एसइईको प्रश्नपत्र आउट भएसँगै परीक्षा स्थगित गरिएपछि आक्रोशित बनेका प्रदेश २ का परीक्षार्थीले शबिनार बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । बिज्ञान र सामाजिक विषयको प्रश्नपत्र आउट भएपछि यी दुवै विषयको परीक्षा रद्द गरिएको छ ।
आज शनिबार हुने स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको समेत प्रश्नपत्र एक दिन अगावै बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेपछि विद्यार्थी आन्दोलित भएका हुन् ।

विद्यार्थीले सप्तरीमा बिहानैदेखि प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेपछि सयौँ सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।
आक्रोशित परीक्षार्थीले सप्तरी सदरमुकाम राजविराजमा संघीय शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको पुत्ला जलाएका छन् । शिक्षा मन्त्रीले राजिनामा दिनुपर्ने मुख्य माग राख्दै उनीहरुले पुत्ला जलाएका हुन् ।
यस्तै, परीक्षा स्थगित गरिएको बिरोधमा आन्दोलनरत परीक्षार्थीले प्रदेश २ सरकारका राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन् । प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा ढुंगामुडा गरिएको छ । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, आन्दोलनमा उत्रेका विद्यार्थीले तोडफोड गर्न खोज्दा प्रहरीसँग झडप भएको छ । झडपमा एक प्रहरी जवान र केही विद्यार्थीहरु घाइते भएका छन् । झडपमा प्रहरी जवान निरु श्रेष्ठ र केही विद्यार्थीहरु घाइते भएका छन् । विद्यार्थीहरुले केही सवारी साधनमा आगजनी र तोडफोड गरेका छन् । विद्यार्थीहरुले प्रहरीको ना १ झ ७१२ नम्बरको गाडीमा आगजनी गरेका छन् ।
प्रहरीमाथि नै ढुंगामुढा गरिएपछि प्रहरीले केही थान अश्रु ग्यास प्रहार गरेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी दानबहादुर थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्