Logo
Logo

सूचक प्रजातिको रुपमा रहेको हरिहाँसको गणना हुँदै


हिक्मत बम


कैलाली । विश्व रामसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी सिमसारमा पाइने हरिहाँसको गणना सुरु भएको छ । पङ्क्षी संरक्षण संघ (बीसीएन) को नेतृत्वमा बुधबारदेखि हरिहाँसको गणना सुरु भएको हो । जैविक विविधताले अत्यन्त महत्वपूर्ण घोडाघोडी ताल क्षेत्रको लागि हरिहाँस सूचक प्रजाति मानिन्छ ।

घोडाघोडी ताल क्षेत्रमा जाडो र गर्मी दुवै सिजनमा हरिहाँसको गणना हुँदै आएको छ । सन २००९ देखि हरेक वर्ष यो जलपक्षीको गणना र अनुगमन हुँदै आएको छ । पछिल्लो एक दशकमा गरिएको गणनाको क्रममा दुवै सिजनमा घोडाघोडी ताल क्षेत्रमा हरिहाँसको सङ्ख्या बढेको पाइएको छ ।

सन २००९ देखि २०२० सम्म क्रमशः १५५, १८८, २४३, २९०, ३००, २८९, ३५७, ३२९, ३६०, ३७४, ३९२ र ३६८ हरिहाँस घोडाघोडीमा गणना गरिएको छ । यो जाडो सिजनको सङ्ख्या हो । गर्मी याममा भने जाडो यामको तुलनामा सङ्ख्या कम अभिलेख गरिएको छ । गर्मी याममा क्रमशः १३९, १८०, १७५, २५२, २८८, १७५, १४३, १५३, १७४, १६४, १५६ र १९० हरिहाँस अभिलेख गरिएका छन् ।

बर्खा याममा तालबाहेक अन्यत्र पनि पानी हुने गरेका कारणले यो चरा यत्रतत्र जाने र तालमा कम देखिने गरेको बताइएको छ । यद्यपि, घोडाघोडी ताल क्षेत्रमा पारिस्थितिकीय प्रणालीमा सुधार आएको कारण हरिहाँसको सङ्ख्या बढ्दै गएको संरक्षणकर्मीहरुको ठहर छ ।

सन १९९२ मा यो ताल क्षेत्रमा ६६६ वटा हरिहाँस गणना गरिएको थियो । त्यसपछि सङ्ख्या निकै घटे पनि पछिल्लो एक दशकयता हरिहाँसको सङ्ख्यामा केही सुधार भएको बताइएको छ ।

तर, प्राकृतिक बासस्थानको विनाश, चोरी सिकार, ‘ब्रिडीङ’ सिजनमा मानवीय हस्तक्षेप जस्ता कारणले हरिहाँसको संरक्षणमा चुनौती बढ्दै गएको चराविद हिरुलाल डङ्गौराले बताए ‘हरिहाँसको संरक्षणका लागि उनीहरुको प्राकृतिक बासस्थान जोगाउन आवश्यक छ’, उनले भने ।

यस्तै, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग पनि हरिहाँसको लागि ज्यादै हानिकारक रहेको डङ्गौराले उल्लेख गर्नुभयो । घोडाघोडी ताल क्षेत्रका लागि जङ्गली धान, मगर गोही पनि सूचक प्रजाति मानिन्छ । यी तीन सूचक प्रजातिका कारणले घोडाघोडी सिमसार विभिन्न क्षेत्रमा चिनिएको छ ।

प्रतिक्रिया दिनुहोस्