Logo
Logo

नेकपा धनकुटाका सात वटै स्थानीय तहमा एकता सम्पन्न


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , २० चैत्र ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको लामो समयपछि एकता स्थानीय तहसम्म हुन थालेको छ। नेपाल कम्युनिस्ट पार्टी बनेको १० महिनापछि बल्ल स्थानीय तहमा एकता हुन थालेको हो। यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटाको सात वटै स्थानीय तहका समितिका सदस्यहरूले सपथ लिएका छन्।

३ नगरपालिका र ४ गाउँपालिका रहेको धनकुटामा पूर्व एमालेले धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, साँगुरीगढी गाउँपालिका, छथर जोरपाटी गाउँपालिका र शहीदभूमि गाउँपालिकाको नेतृत्व गरेको छ भने महालक्ष्मी नगरपालिका र चौबिसे गाउँपालिकाको नेतृत्व पूर्व नेकपा माओवादी केन्द्रले गरेको छ।

जसअनुसार धनकुटा नगर अध्यक्षमा अर्जुन छाराहाङ र सचिवमा खगेन्द्र विष्ट, पाख्रीवास नगर अध्यक्षमा शान्तिराम गौतम र सचिवमा मुक्ति बजगाईं, साँगुरीगढी गाउँपालिका अध्यक्षमा देवमान राई र सचिव जगत राई, छथर जोरपाटी गाउँपालिका अध्यक्षमा इन्द्र सारुमगर र सचिवमा ज्ञानेन्द्र कार्की र शहीदभूमि गाउँपालिका अध्यक्षमा निरबहादुर राई र सचिवमा मातृका राई रहेका छन्।

त्यस्तै पूर्व नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तहहरुमा महालक्ष्मी नगर अध्यक्षमा प्रेमबहादुर खड्का र सचिवमा विष्णुप्रसाद दाहाल तथा चौबिसे गाउँपालिका अध्यक्षमा इन्द्रबहादुर खत्री र सचिवमा राजकुमार चेम्जोङलाई जिम्मेवारी पाएका छन्। पार्टीको स्थानीय तह परिचालनको लागि इन्चार्ज भने जिल्ला नेतृत्व निर्माण भएपछि मात्र तोकिने नेकपाको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्