Logo
Logo

रेशमको अनुरोध- ‘क्षमा होइन, न्याय चाहियो’ (भिडियोसहित)


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी समिति सदस्य रेशम चौधरीले आफूलाई न्याय चाहिएको बताएका छन् ।

जसपा विवादबारे निर्वाचन आयोगले सनाखतका लागि बोलाएपछि कडा सुरक्षासहित निर्वाचन आयोग पुगेका चौधरीले संचारकर्मीसँग कुरा गर्दै आफूलाई क्षमा नभई न्याय चाहिएको बताए ।

टिकापुर घटनामा संलग्न रहेको अभियोगमा डिल्लबजार कारागारमा रहेका कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचति प्रतिनिधिसभा सदस्य चौधरीले यस्तो अपिल गरेका हुन् ।

निलम्बित सांसद चौधरीलाई जसपा विवाद समाधाननको क्रममा निर्वाचन आयोगले ‘हेड काउन्ट’का लागि कारागारबाट आयोगसम्म झिकाएको भएपनि चौधरीले भने दुवै समूहको पक्षमा हस्ताक्षर नगरी तटस्थ बसेका छन् ।

निर्वाचन आयोगबाट फर्कने क्रममा चौधरीने भने– ‘आज जेलबाट निर्वाचन आयोगमा आएर पक्ष र विपक्षको सनाखत गर्न मेरो नियत र नैतिकताले दिएन । मेरो लागि पक्ष जसपा हो, विपक्ष पनि जसपा हो । म जसपाको एउटा कार्यकर्ता हुँ । आज राजनीतिक मुद्दाका कारणले म जेल बस्नुपरेको छ । मेरो मुद्दामा मेरो पार्टी कतिको लडिरहेको छ त्यो उहाँहरूको दृष्टिकोण होला । मलाई क्षमा होइन, न्याय चाहिएको छ ।’

कवितात्मक शैलीमामा चौधरीले भने–
कठघरामा उभिएर जति सत्य बके पनि
न्याय पाउँ भन्दै हजुर सयौँ पटक झुके पनि
निरीह ठान्दा रहेछन् शीर निहुराएपछि
दोषी ठहर्याउँदा रैछन् चुप लागेर बसेपछि
श्रीमान् न्याय देऊ हामीलाई क्षमा चाहिँदैन
दोषीलाई दण्ड देऊ तर निर्दोषीलाई थुन्न पाइँदैन
एक न्याय, दुई न्याय, तीन न्याय !

चौधरीले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा एउटा पक्षले जित्ने निश्चित हुँदाहुँदै पनि आफू तटस्थ बसेको बताउँदै पार्टी अध्यक्ष ठाकुरलाई सघाउन नसकेमा क्षमायाचना गरे । आफ्नो लागि पक्ष र विपक्ष दुवै जसपा पार्टी भएकाले तटस्थ बस्ने निर्णय लिएको उनको प्रतिक्रिया थियो ।

भिडियाे:

प्रतिक्रिया दिनुहोस्