Logo
Logo

माधव समूह बैठक : कार्यदलले गरेको १० बुँदे प्रस्तावमा छलफल हुने


सुवास साह


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाललाई अधिकारसहित सम्मानजनक पार्टी एकता हुनुपर्ने सुझाव नेताहरूले दिएका छन् ।

पार्टीलाई एकताबद्ध बनाउने पहल भइरहेकै बेला सोमबार नेपाल समुहले आफू निकटका स्थायी कमिटी सदस्यहरूले अधिकारसहित सम्मानजनक पार्टी एकता हुनुपर्ने सुझाव दिएका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता रघुजी पन्तले भने, ‘१० बुँदे सहमति गर्दै कार्यदलले गरेको प्रस्तावका आधारमा पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भयो’ उनले भने, ‘हामीले कार्यदलद्वारा प्रस्ताव गरिएको १० बुँदे सहमतिका आधारमा सम्मानजनक पार्टी एकताका लागि सुझाव दिएका छौं ।’

दोस्रो तहका नेताका साथै एमाले सांसदले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने भन्दै दबाब सुरु गरेपछि वरिष्ठ नेता नेपालले आफू निकटका स्थायी कमिटीसंँग छलफल गरेका हुन् । एमाले नेताहरूका अनुसार छलफलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षबाट दोस्रो अध्यक्ष बनाउने भन्ने बारेमा नेता सुवास नेम्वाङ, विष्णु पौडेलले गरेको प्रस्ताव माधव समूहले अस्वीकार गरेको छ ।

छलफलमा सहभागी नेताहरूले अहिलेको अवस्थामा पार्टी एकताको विकल्प नभएको सुझाव दिएका छन् । समान अधिकारसहित सम्मानजनक एकता हुनुपर्ने बताउँदै उनीहरूले ओली समूहबाट आएको विभिन्न प्रस्तावका बारेमा सकारात्मक रुपमा छलफल गर्दै टुंगोमा पुग्न सकिने बताएका थिए ।

‘ओली समूहबाट आएको दोस्रो अध्यक्षको बारेमा उहाँ सशंकित हुनु्हुन्छ । अधिकारसहित सम्मानजनक एकताका लागि विधान संशोधन गरेर त्यसको सुनिश्चितता सो प्रस्तावको बारेमा पनि छलफल गरेर अगाडी बढ्न सकिन्छ’ नेपालको भनाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने ।

एमाले स्थायी कमिटीका सदस्य समेत रहेका अनुशासन आयोगका प्रमुख अमृत कुमार बोहराले पछिल्लो समयमा सत्तारुढ दलको गठबन्धनमा नेपाल सहभागी भएकोमा आपत्ति जनाएका छन् । पार्टी एकताका लागि छलफल भईरहेको बताउँदै उनले प्रतिनिधिसभा पुनस्र्थापना भइसकेको अवस्थामा अब सत्तारुढ गठबन्धनको बैठकमा जानु राम्रो नभएको बताए ।

बैठकमा सहभागी एमाले उपाध्यक्षद्वय भीम रावल, युवराज ज्ञवाली, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटीका सदस्यह सुरेन्द्र पाण्डे, डा. बेदुराम भुसालले लगायतका नेताले १० बुँदे प्रस्ताव र ओली समूहबाट आएको पछिल्लो प्रस्तावमा केन्द्रित भएर पार्टीलाई एकताबद्ध बनाउने बिषयमा छलपलल गर्नुपर्ने आवश्यक्ता रहेको सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्