Logo
Logo

गर्मी मौसममा छालाको स्याहार कसरी गर्ने ?


डा. रेखा थापा


गर्मी मौसमको चर्काे घाम, तातो हावा, धुलोधुँवा, पसिना र वातावरणीय प्रदुषणले छालामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले छालाको विशेष हेरचाह गर्नुपर्छ ।

चिल्लो छालामा चिपचिप हुने, डण्डीफोर तथा खटिरा आउने, मसिना विमिरा आउने, सुख्खा र छाला फुस्रो हुनेजस्ता समस्या हुन्छन् । त्यतिमात्र होइन, छाला डढ्ने र कालो धब्बा बस्ने समस्या पनि उत्तिकै हुन्छ । कहिलेकाहीँ छालाको एलर्जी पनि हुन्छ । त्यसैले गर्मी मौसममा छालाको विशेष स्याहार आवश्यक हुन्छ ।

किन गर्मीमा छालाको समस्या बढ्छ ?

गर्मी मौसममा छालामा अत्याधिक पसिना निस्कन्छ । तेलग्रन्थीले पनि धेरै तेल (शिवम्) उत्पादन गर्छ । धेरै तेल उत्पादन भएपछि छालामा धुलो जस्ता फोहोर टाँसिएर पसिना र तेल निस्कने छिद्रहरु बन्द हुन्छन् । त्यस कारण छालामा संक्रमण भइ डण्डीफोर निस्कने, छाला रातो हुने, खटिरा तथा एलर्जी जस्ता समस्या शुरु हुन्छ ।

गर्मीमा छाला कसरी जोगाउने ?

-गर्मी मौसममा पसिना र शिवम् धेरै उत्पादन हुने भएकाले मोइस्चराइजर प्रयोग गर्न कम गर्छाै । तर, यसो गर्नाले छालामा समस्या आउन थाल्छ ।

-गर्मीमा पनि उत्तिकै मात्रामा मोइस्चराइजर आवश्यक हुन्छ । तर, यो समयमा भने हल्का खालको मोइस्चराइजर प्रयोग गर्नुपर्छ ।

– एन्टी अक्सिडेन्टयुक्त सौन्दर्य सामग्रीमा प्रयोग गर्नुपर्छ । यसले छालामा समस्या आउनबाट बचाउँछ ।

– पर्याप्त मात्रामा पानी पिउनुपर्छ । पानी पिउनाले स्वास्थ्य त राम्रो हुन्छ नै छाला पनि स्वस्थ भइ समस्या आउँदैन । छाला डिहाइड्रेट हुन पाउँदैन ।

-छाला स्वस्थ हुँदा सुख्खा हुने, फुस्रो हुने र चाउरीपन जस्ता समस्या कम हुन्छ ।

-जुस तथा झोलिलो खानेकुरा खानुपर्छ ।

-छालाको प्रकृतिअनुसार उचित स्याहार गर्नुपर्छ । सामान्यतया चिल्लो, सुख्खा र सामान्य गरी तीन प्रकृतिको छाला हुन्छ । त्यसैले आफ्नो छालाको प्रकृतिसँग उपयुक्त सौन्दर्य सामग्री प्रयोग गर्नुपर्छ । वातावरण परिवर्तन हुँदा छालामा पनि परिवर्तन आउने भएकोले गर्मी सुरु भएसँगै सौन्दर्य सामग्री परिवर्तन गर्नुपर्छ ।

-घरबाहिर निस्कनुभन्दा २० मिनेट अगाडि कमसेकम ‘३० एस.पी.एफ’को सनस्कृन लगाउनुपर्छ ।

-दिनमा दुई पटक फेसवासले राम्रोसँग अनुहार सफा गर्नुपर्छ । जसले छालामा रहेका अनावश्यक तेल, पसिना, धुलो र फोहोर रहन पाउँदैन र छाला स्वथ्य हुन्छ ।

दिनमा छालाको स्याहार

-बिहान उठेर छालाको प्रकृतिअनुसार क्लिन्जरले अनुहार धुनुपर्छ । यसले दिनभर छाला फ्रेस राख्छ ।

-अनुहार धोइसकेपछि टोनर लगाउनुपर्छ ।

-गर्मीमा पनि मोइस्चराइजर लगाउनुपर्छ । सजिलै एब्जर्व हुने मोइस्चराइजर लगाउनु उपयुक्त हुन्छ ।

-घरभित्रै बस्दा कमसेकम १५ एस.पी.एफ. र बाहिर निस्कदा ५० एस.पी.एफ.को सनस्कृन लगाउनुपर्छ ।

-हल्का प्रकृतिको मेकअप गर्नुपर्छ ।

रातमा छालाको स्याहार

-दिनभरको मेकअप र छालाको फोहोर पसिना साँझपख अनिवार्य पखाल्नुपर्छ । फेसवास, क्लिन्जिङ मिल्क वा छाला सुहाउँदो कुनैपनि क्लिन्जरले अनुहार सफा गरे हुन्छ ।

-सफा भइसकेपछि टोनर लगाउनुपर्छ ।

-टोनर एब्जर्व भइसकेपछि भिटामिन–सी सीरम लगाउनुपर्छ । यसले छालालाई रिपेयर गर्छ र कुनै समस्या आउन दिँदैन ।
– ‘भिटामिन–ई’युक्त नाइट क्रिम लगाउनुपर्छ ।

-आँखाको वरिपरि ‘आइक्रिम’ लगाउनुपर्छ । यसले आँखाको वरिपरि चाउरी पर्न दिँदैन । यसले ‘डार्क सर्कल’बाट बचाउँछ ।

-मृतकोषिकाले अनुहारमा चमक आउन दिँदैन । त्यसैले हप्तामा दुईपटक छालामा स्क्रब गर्नुपर्छ । स्क्रबले मृतकोषिका हटाउँछ । हप्तामा एकपटक अनुहारमा प्याक लगाउँदा छाला स्वस्थ हुन्छ । यसका लागि विभिन्न घरेलु सामग्री प्रयोग गर्न सकिन्छ ।

– महिनामा एकपटक विशेषज्ञको सल्लाहमा फेसियल गराउनुपर्छ ।

घरेलु प्याक बनाउने तरिका

-खर्बुजा पिसेर जुस बनाउने । उक्त जुसलाई दहीमा मिसाएर लेप बनाइ अनुहारमा लगाउने । यसले अनुहारमा ताजगी आउनुका साथै हाइड्रेट गरी स्वस्थ बनाउँछ ।

-पाकेको केरा पिसेर दहीमा मिसाइ लेप बनाएर अनुहारमा लगाउँदा चाउरीपन कम हुन्छ ।

-अनुहारमा मसिना खटिरा र विमिरा आएको बेला वेशनको पिठोमा आधा चम्चा बेसार र केही थोपा कागतीको रस मिसाएर लगाउँदा समस्या कम हुन्छ ।

-घ्यूकुमारीको जेल निकालेर अनुहारमा लगाउने । २० मिनेट राखेर पखाल्ने । यसले छालालाई प्राकृतिक रुपमा हाइड्रेट गराई स्वस्थ बनाउँछ । साथै, छाला चिलाउने, पोल्ने, फुस्रो हुनेजस्ता समस्या कम हुन्छ ।

– पानीको मात्रा धेरै हुने भएकाले काँक्राको रसलाई आइसक्यूब बनाई आँखामा लगाउँदा डार्क सर्कल, पफिनेस, रातो हुने जस्ता समस्या समाधान हुन्छ ।

-मुलतानी माटोमा चिसो पानी हालेर लेप बनाई अनुहारमा लगाउँदा छालाबाट विकार निस्कन्छ । यसले छालालाई शीतलता प्रदान गर्छ ।

छालाको सौन्दर्यसँग सुन्दरताको सम्बन्ध रहन्छ । त्यतिमात्र होइन, छालाको स्वच्छतासँग स्वस्थ जीवनको विशेष सम्बन्ध हुन्छ । त्यसैले सुन्दर देखिनका लागि मात्र छालाको स्याहार गर्नुपर्छ भन्ने हुँदैन । स्वस्थ जीवनका लागि पनि छालाको विशेष हेरचाह आवश्यक हुन्छ । यहाँ छालामा समस्या आउने कारण र उपचार विधि प्रस्तुत गरिएको छ । प्रस्तुत विधिले छालाको समस्या समाधान नभए विशेषज्ञसँगको सल्लाहमा उपचार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्