काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको प्रस्तावको विपक्षमा नेता मिलन पाण्डेसहित चार नेताले अर्को प्रस्ताव ल्याएका छन् ।
मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत गर्नुपर्ने प्रस्ताव ल्याएका थिए । उक्त प्रस्तावको विपक्षका पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य केशव दाहाल, डा राजेन्द्र पंगेनी र रञ्जु दर्शनाले नयाँ प्रस्ताव ल्याएका हुन् ।

चार नेताले ल्याएको ‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्तावमा गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र सङ्घीयतामा सुधारको वकालत गरिएको छ । त्यस्तै मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने जिकिर छ ।
तीनै तहको सरकार प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैरसंसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्था हुनुपर्ने उनीहरूको प्रस्तावमा उल्लेख छ । उनीहरूले शिक्षा निःशुल्क हुनुपर्ने, स्वास्थ्य सेवा सर्वसुलभ हुनुपर्नेलगायतका कुरा पनि उठाएका छन् ।











