महाकाली घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग « Drishti News – Nepalese News Portal
Logo

महाकाली घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा स्पष्ट पार्न सरकारसँग आग्रह गरेका छन् ।

बैठकमा सत्तारुढ नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काटिदिँदा ३३ वर्षीय धामी बेपत्ता भएको प्रकरणमा स्पष्ट जवाफ दिन माग गरिन्

उनले धामीको खोजीका लागि पहल गर्नुपर्नेमा जोड दिँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरिन् । उनले आफ्नै भूमि भएर सदरमुकाम आवतजावत गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिन् ।

लामो समय हुँदा पनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नसकेकोप्रति गुनासो राख्दै उनले वर्तमान सरकारबाट जनताले परिणाम खोजेको बताइन् ।

कांग्रेसका अर्का सांसद रमेशजङ्ग रायमाझीले प्रतिपक्षी दलबाट आएको अभिव्यक्तिप्रति इङ्गित गर्दै सरकार कुन आधारमा निर्दलीय सरकार भयो भनी प्रतिप्रश्न गरे । उनले संसद्बाटै बहुमतको आधारमा विश्वासको मत प्राप्त सरकार भएको स्पष्ट पारे । उनले कोरोनाविरुद्धको खोप लगाउने कामलाई प्राथमिकतामा राख्न माग गरे ।

सांसद रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दुई वर्षमा तुइन विस्थापित गर्ने घोषणा घोषणामै सीमित रहेको बताए । उनले अझै धेरै ठाउँमा तुइन यथावत रहेको र महाकालीमा मात्रै सातवटा तुइन बाँकी रहेको जानकारी गराउँदै तुइन तर्दा धामी नदीमा बेपत्ता भएको घटना स्मरण गराए ।

सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा उनले जोड दिए । बैठकमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका गोपीबहादुर सार्की अछामीले दार्चुलाको महाकाली नदीमा भएको घटनाका विषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन आग्रह गरे ।

भारतसँगको उच्चस्तरीय वार्तामार्फत समस्या समाधान गर्न पनि उनले सरकारसँग माग गरे । उनले जाजरकोटको एक गाउँपालिकाका वडाध्यक्षले सेवाग्राहीमाथि ज्यादती गरेकाले सत्यतथ्य छानबिन गरी दोषीमाथि कारवाहीको माग गरे ।

प्रतिक्रिया दिनुहोस्