दन्दनी बलेर खरानी हुने ‘लाक्षागृह’ जस्तै एमाले « Drishti News – Nepalese News Portal
Logo

दन्दनी बलेर खरानी हुने ‘लाक्षागृह’ जस्तै एमाले


लक्ष्मण देवकोटा


पौराणिक ग्रन्थ महाभारतमा उल्लेख गरिने ‘लाक्षागृह’ पाण्डवहरुलाई वध गर्न गुप्त षडयन्त्रपूर्वक बनाइएको यौटा मैनको दरबार हो । मामा शकुनी र दुर्योधनको योजना बेलैमा सूचना चुहिएकोले पूरा हुन पाएन । कौरव पक्षको योजना थाहा पाएर सुरुङबाट भागेका थिए, पाण्डवहरु । एक झिल्कामै दन्दनी आगो बलेर खरानी हुने ज्वलनशील लाक्षागृह जस्तै भएको छ, अहिलेको नेपाल कम्युनिष्ट पार्टी एमाले ।

भारतीय सुरक्षा बलले क्रूरतापूर्वक तुइन काटिदिँदा महाकाली नदीमा बगेका जयसिं धामीको लास यतिबेलासम्म भेटिएको छैन । मानिसहरुले तुइन नकाटिदिन अनुरोध गर्दागर्दै भारतीय पक्षको अमानवीय हर्कतले एकजना नेपाली युवाले ज्यान गुमाउनु परेको छ । सरकार झारा टारेर सकेसम्म जनआक्रोश कसरी साम्य पार्न सकिन्छ भन्ने ध्याउन्नमा देखिन्छ ।

गृहमन्त्री बालकृष्ण खाँणको जिब्रो लर्बरिएको छ । सोही क्षेत्रबाट निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा मौन छन् । उनलाई केही बोलिहाले नेपाल–भारतको सम्बन्ध झन् बिग्रिएला र कम्युनिष्टका झगडाले हात परेको कुर्ची पनि फुत्किएला भन्ने भय छ । खड्गप्रसाद ओली र माधव नेपालको दुई धुरीमा बाँडिएका युवाहरु सडकमा रातो कफन बाँधेर उत्रिएका छन् । तर, जयसिं धामीको हत्याको विरोधमा होइन, आफ्ना नेताहरुको बचाउका निम्ति ।

बडो अनौठो दृष्य देखिएको छ, नेकपा एमालेको पार्टी जीवनमा । त्यही नेकपा एमाले जसले मानेभन्ज्याङ्ग र सुस्ताको अतिक्रमणविरुद्ध जनलहर उचालेर देशको स्वाभिमानलाई माथि उठायो । तिनै नेकपा एमालेका जुझारु युवा जो कालापानी मार्चमा ज्यानको पर्वाह नगरी गए, अनि तिनै जोधाहा ठाकुर गैरेहरु जो सिमानामा गएर गोली खान तयार भए ।

नेतादेखि कार्यकर्तासम्म सबैको यौटै स्वर थियो– सीमारक्षा । भारतीय विस्तारवादको विरुद्धमा । अहिले गजब दृष्य छ– जानाजान हाकाहाकी तुइन काटिदिएर हत्या गर्दा कसैले मुख खोल्ने हिम्मत राख्दैन । बालुवाटारमा मध्यरातमा रातो कार्पेट बिछ्याएर राजनीतिका हरेक खेलहरुमा विदेशीलाई आमन्त्रण गरिएपछि अस्थिपञ्जर मात्र बाँकी रहेको छ, ओली गुटको ।

गजब छैन त एकीकृत आन्दोलनको महान यात्रामा निस्केको एमालेका अगुवा ओली सहयात्री माधव नेपाललाई देशद्रोही करार गर्दा नेता, कार्यकर्ताले तालीको गड्गडाहटले स्वागत गरिरहेको दृष्य देख्न अभिषप्त छ, समय । माधव नेपाललाई ‘लाल गद्दार’ घोषित गर्दा जमीनको कार्यकर्ता खुशीले फेसबुकमा ‘ओली बाको जय’ भनेर लेखिरहेको हुन्छ ।

रानो माहुरीले माहुरीलाई गोलबन्द गर्दै कूट निकाल्नुपर्नेमा आफ्नो गूट मात्रै बलियो बनाएर असहमत सबैलाई ढोका बन्द गरिएको घोषणा गर्दा समर्थनमा अध्यक्षका तस्वीर लिएर जुलुसहरु निस्कन थालेका छन् । माक्र्सवाद लेनिनवादको भौतिकवादी सिद्धान्तमा विश्वास गर्ने नेता सन्निकट चुनावलाई ध्यानमा राखेर ठोरी र रामको राजनीति गरिरहेको छ । आफूले गरेका हजार अपराधहरुलाई सिरानीमुनी लुकाएर सहयात्रीहरुको छाला काढेर आउने नतिजा कस्तो होला ? विस्तारै देखिंदै जानेछ । घटनाहरु शुरु भैसकेकाछन् ।

एमाले पार्टीको जमीनसम्म अहिले विभाजनको आगो झोसिंएको छ । एमाले भित्रको कचिङ्गलको उपज मधेशवादी दलहरुमा समेत पस्ता विभाजित नै भैसके । हुँदोखाँदोको सत्ता काँग्रेसको हातमा पुगिसक्यो । यो सबै परिघटनाहरुको वैज्ञानिक समीक्षा हुनुपर्ने होइन र ? अनि यो राजनीतिक अराजकताको प्रमुख कारक को हो ? भनेर चिन्नुपर्ने, चिनाउनुपर्ने होइन र ? के माधव नेपालहरुलाई देशद्रोही घोषणा गरेर उनीहरुलाई बहिष्कृत गर्दैमा मदन भण्डारीको सपना बमोजिमको बहुलवादी समाजको कल्पना हुनसक्ला त ? अनि के यो सबको घटनाको यौटै मात्र कारण माधव नेपालको पदलोलुपता मात्रै हो त ?

एमालेभित्रको यो कचिङ्गल र ओली महत्वाकांक्षाको भुक्तान जयसिं धामी र अरु जमीनका मानिसहरुले गर्नुपर्नेछ । एकीकृत हुँदा छिमेकी भारत र चीनले हेर्ने दृष्टिकोण यौटा टुकडी लिएर उभिएको ओलीमाथि पक्कै पनि समान हुने छैन । घरभित्रका राजनीतिक दलहरु जति कमजोर हुँदै जान्छन्, उति यसको फाइदा बेफाइदा छिमेकीहरुले उठाउँछन् नै ।

घटनाक्रमहरुले देखाइरहेका छन् कि ओली, माधव नेपाललाई पार्टीभित्र प्रवेश गर्नै नदिने रणनीतिमा छन् । यी वार्ता, कुराकानी फगत कार्यकर्तालाई झुक्याउने दाउ मात्र हुन् । सत्ताच्यूत हुनुपर्दाको बदला लिने घाइते मानसिकतामा छन्, ओली । उनलाई पार्टी र देशको कुनै पर्वाह छैन । आफू शक्तिमा रहुन्जेल आफ्नाहरुको संरक्षण गर्ने, सरकारबाट बाहिर निस्किएपछि पार्टी यथावत कब्जा गरिरहने उनको रणनीति माधव नेपाललाई देशद्रोही नबनाइ सम्भव छैन ।

यो गूटगत राजनीतिले एमाले कब्जा गर्ने षड्यन्त्रको एउटा हिस्सा मात्र हो । यसबाट ओलीले पार्टी कब्जा त गर्लान् तर पार्टीभित्र विधि र पद्धतिको प्रयास गर्ने समूह अलग्गिने छ । यो अलगथलग चरित्रले सिंगो वाम आन्दोलनलाई नोक्सान हुनेछ । फाइदाको राजनीति गर्नेहरुको लागि त यसले कुनै अर्थ राख्दैन । तर, निष्ठा र इमानमाथि विश्वास गर्नेलाई भने ठूलो बज्रपात हुनेछ ।

देख्दादेख्दै जान्दाजान्दै अनेक तिकडमहरु गरेर जेठ २ मा फर्कन नचाहेको त देखिएकै छ । जसलाई पार्टीको विधानले त्यो उच्चतम् पदसम्म पुर्यायो, उसैले कम्युनिष्ट पार्टी, पद्धति मिचेर रद्दीको टोकरीमा मिल्काइदिएपछि कम्युनिष्ट पार्टी नै कसरी रह्यो र ? रामबहादुर थापा बादलहरु एमालेका खाँटी कार्यकर्ता भैरहँदा माधव नेपालहरु देशद्रोह करार हुनु खासै अनौठो नहोला पनि ।

दुई तिहाई निकट शक्ति लिएर सत्तारोहण गरेको कम्युनिष्ट तागत जसले महाकाली सन्धी धोका हो भनेर महिनौ दिनसम्म संसदमा आवाज बुलन्द गरिरह्यो, त्यो शक्ति कमजोर भएपछि विदेशी हस्तक्षेप नभए के हुन्छ ? तुइन नकाटिए के काटिन्छ ?

समयको यो कठीन परीक्षामा पार्टी कब्जा गरेर बसेको समूहसँग आत्मसमर्पण गर्नु इतिहासमा गम्भीर धोका हुनेछ । पार्टीलाई दलाल पूँजीपतिहरुको अड्डा बनाउने, लुटका नायकहरुको वर्चश्व कायम राख्न दिइरहने हो भने नेपालबाट कम्युनिष्टहरुको पतन हेर्न धेरै वर्ष कुर्नु पर्दैन ।

रुस र पूर्वी युरोपमा कम्युनिष्ट शासनको पतन हुँदा जनताले हर्षबढाइँ त्यसै गरेका होइनन् । विभाजनले कसैलाई फाइदा पुग्दैन भन्ने जान्दाजान्दै पनि आफ्नो वर्चश्वको निम्ति कम्युनिष्ट नीति, सिद्धान्तलाई नै तिलाञ्जली दिएर जबजको नाममा व्यक्तिपूजक संस्कृति कसरी अग्रगामी काम हुनसक्छ ?

ओलीको प्रतिगमनविरुद्ध उभिएका सबै शक्तिहरुको वृहत्तर एकता र कम्युनिष्ट आन्दोलनका नाममा स्वार्थ समूह, गूटको विस्थापन नगरेसम्म यो आन्दोलन रोकिनु हुँदैन । नत्र लाक्षागृह भष्म हुनेछ । लाक्षागृह भष्म भएसँगै वामपन्थी आन्दोलनको विसर्जन हुनेछ । आज तुइन काट्नेहरु भोलि हाम्रा गाउँगाउँमा हतियार लिएर पस्नेछन् ।

हामी निरिह भएर बस्न बाध्य हुनेछौं । आज जोडजोडले देशभक्त ओली ‘बा’का तस्वीर लिएर नगर घुम्नेहरु खोज्दा पनि भेटिनेछैनन् । त्यतिबेला यिनै ‘बा’हरुले देशद्रोही करार गरेका मानिसहरु नै छाती खोलेर सडकमा आउनुपर्ने हुन्छ । तीतो भएपनि सत्य यही नै हो ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्