काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोज शर्माको सम्बन्धमा उजुरी आह्वान गरेको छ ।

संसद् सचिवालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । जेठ ४ गतेसम्म उजुरी आह्वान गर्ने र ५ गते उजुरी खोलिने सभापति श्रेष्ठले बताए ।
प्रस्तावित प्रधानन्यायाधीश शर्माका सम्बन्धमा संसद् सचिवालयमा उपस्थित भएर या ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी गर्न सकिने उनले बताए ।
उनले भने– ‘सीडीओ कार्यालयमार्फत् पनि उजुरी गर्न सकिन्छ । नाम किटान गरेर र बेनामे पनि पठाउन सकिन्छ । ५ गते उजुरी खोल्ने र बाँकी प्रक्रिया शुरू हुनेछ ।’
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि शर्माको नाम संसदीय सुनुवाइ समितिमा सिफारिस गरेको थियो । संवैधानिक परिषद्को पत्र पाएलगत्तै शुक्रबार नै सूचना जारी गरेर आजै बैठक राखिएको थियो ।












