Logo
Logo

प्रहरीको प्रश्नपत्र चोरीः यूएन शाखाकै कर्मचारीले दुई आफन्तलाई दिए


दृष्टि संवाददाता



काठमाडौं । शान्ति मिसनमा छनोटसम्बन्धि प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र चोरी र गोप्य रुपमा वितरण गर्ने कार्यमा आर्थिक लेनेदेन पुष्टि भएको छ । यसरी प्रश्नपत्र किनबेनमा तीन प्रहरीको संलग्नता देखिएको र उनीहरुलाई नोकरीबाट हटाउने प्रक्रिया प्रहरी प्रधान कार्यालयले थालेको छ ।


यूएन शाखामै कार्यरत सइ जनकबहादुर थापा, हवल्दार कुमार शाह र कार्यालय सहयोगी सुरेश बमलाई प्रहरी प्रधान कार्यालयले प्रहरी सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको हो । डिआइजी बसन्त कुमार लामा नेतृत्वको छानबिन समितिले उनीहरुलाई मुख्य दोषी देखाएको छ ।


हवल्दार शाहको निर्देशनमा कार्यालय सहयोगी बमले एसपीको घर्राबाट प्रश्नपत्र चोरी गरी फोटोकपी गरेका थिए । त्यसवापत बमले हवल्दार शाहसँग १० हजार रुपैयाँ लिएको र थप रकम दिने आवश्वासन दिएका थिए । साइबर ब्यूरोमा कार्यरत हवल्दार शाह परीक्षार्थी थिए भने उनले अन्य व्यक्तिलाई प्रश्नपत्र दिलाएका थिए । परीक्षामा पास भएपछि थप रकम उपलब्ध गराउने आश्वासन आफुलाई शाहले दिएको बयान बमले दिएका छन् ।


त्यस्तै, साहले नै यूएन शाखामै कार्यरत सइ जनक थापालाई दिएका थिए । थापा परीक्षा समितिमा समेत थिए । ‘थापालाई पहिलेदेखि नै शाहले प्रश्नपत्र चोर्ने गरेको जानकारी देखिन्छ,’ छानबिन समितिका एक अधिकारीले भने,‘परीक्षा समितिकै व्यक्तिको यो हदको मिलेमतो देखिएपछि उनलाई पनि जागिरबाटै हटाउन सिफारिस गरेका हौं ।’ सइ थापाले आफ्ना आफन्त रहेका सइ केशब कार्की र असइ अशोक कार्कीलाई सो प्रश्नपत्र उपलब्ध गराएका थिए । उनीहरु दुवै जनालाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ ।


तीन सिनियर अधिकृत मुछिए

चोरिएको प्रश्नपत्रका आधारमा तीन सिनियर अधिकृतले परीक्षा दिएको खुलेको छ । डिएसपीहरु रुपेश खड्का र सुगन्ध श्रेष्ठ तथा इन्सपेक्टरहरु दिलिप क्षेत्री सलग्नता पुष्टि भएको हो । तीनै जनालाई हवल्दार शाहले नै प्रश्नपत्र दिएका थिए । यसमा मुछिएका अन्य केदार तिमल्सिना र सुनिल भण्डारीलाई पनि शाहले नै उपलब्ध गराएको छानबिनमा पुष्टि भएको छ । जवान सुनिता नेपाललाई भने सइ तिमल्सिनाले उपलब्ध गराएका थिए । उनीहरु सबैलाई विभागीय कारबाहीको सिफारिस भएको छ ।


प्रहरी जवान नेपालले एक महिला इन्सपेक्टरलाई प्रश्नपत्र उपलब्ध गराएकी थिइन् । ती इन्सपेक्टरले यूएन शाखाका कार्यरत कर्मचारीलाई जानकारी गराएपछि यो प्रकरणमा छानबिन सुरु भएको थियो ।


यूएन शाखा र परीक्षा समितिको पनि लापरबाही

प्रश्नपत्र बाहिरिनुमा परीक्ष समितिका केही अधिकारी तथा यूएन शाखाको पनि लापरबाही समितिले औंल्याएको छ । युएन शाखाका प्रमुख एसपी अनुपमशमशेर राणालाई समेत कारबाहीको सिफारिस भएको छ । उनकै घर्राबाट प्रश्नपत्र कार्यालय सहयोगी बमले चोरेका थिए । घर्राको साँचो लुकाएर चोरी भएको थियो । एसपी राणाले आवश्यक सावधानी नअपनाउँदा प्रश्नपत्र चोरी भएको निष्कर्ष निकालिएको छ ।


त्यस्तै परीक्षा तयारी तथा प्रश्नपत्र निर्माण समितिमा रहेका एसपी वेद बिष्ट र इन्सपेक्टर ईश्वरी भण्डारीलाई पनि नैतिक रुपमा जिम्मेवार ठहर गरी कारबाहीको सिफारिस भएको छ ।


गत १६ र १६ गते मिसनको छनोटका लागि प्रि–स्याट परीक्षा सञ्चालन भएको थियो । दुवै दिनको प्रश्नपत्र चोरी भएको पुष्टि भएपछि परीक्षा रद्द भएको छ । १२ साउनमा कार्यालय सहयोगी बमले प्रश्नपत्र चोरी गरेका थिए । छानबिन समितिको सिफारिसका आधारमा दोषी प्रहरीलाई कारबाही गरी नयाँ परीक्षा सञ्चालन गरिने प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले बताए ।


प्रश्नपत्र चोरी हुनुको एउटा प्रमुख कारण एउटै शाखामा लामो समय एउटै प्रहरीलाई राख्नु भएको समितिले औंल्याएको छ । घटनाका योजनाकार रहेका हवल्दार शाह ८ वर्षसम्म सो शाखामा बसेका थिए । चार महिनाअघि मात्र उनलाई त्यहाँबाट हटाइएको थियो ।


उनले विगतमा पनि यसैगरी प्रश्नपत्र चोरेर बिक्रि गरेको आशंका गरिएको छ । यसपटक पहिलेदेखि नै एसपीको घर्राको साँचो लुकाउन लगाएर उनले प्रश्नपत्र चोरेर फोटोकपी गर्न लगाएका थिए । त्यस्तै प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालनको क्रममा सुरक्षा बलियो हुन नसकेकाले त्यसमा सुधार गर्न समेत सिफारिस भएको छ । साथै परीक्षा दिने प्रहरीलाई यूएन शाखामा राख्न नहुने सिफारिस पनि समितिको छ ।

प्रतिक्रिया दिनुहोस्