Logo
Logo

समयको कठोर अग्निपरीक्षामा माधव



मुस्लिम मौलानाहरुले लेखक सल्मान रुस्दीको टाउको काटेर ल्याउनेलाई पुरस्कार दिने घोषणा गरिएको पुस्तक भर्खर पढेर सिध्याएँ । उनीभित्र के कति सन्दर्भमा लेखनको निम्ति प्रेरणा जाग्यो, सत्य बोलेवापत उनले भोगेका परिस्थिति र आशाको मधुरो सुरुङबाट हिड्दाका कष्टसाध्यहरु उनका सरल भनाइहरु उनको पुस्तकमा पढ्न पाइन्छ ।

मैले यो पुस्तक पढिरहँदा जिन्दगीभर कम्युनिष्ट आन्दोलनमा लागेर बूढेसकालमा ‘लाल गद्दार’को बात लागेका माधवकुमार नेपाललाई सम्झिएँ । उनको वर्तमान सम्झिएँ । उनी बलियो छँदाका सारथीबाटै जब उनी एक्ल्याइन थाले, त्यसपछि उनलाई छोड्दै गइरहेका उनकै उत्पादनहरु सम्झिएँ र उनले अघि सार्न खोजेको पाइला सम्झिएँ । आफ्नै घरमा ओली ‘बा’बाट अपमानित र कार्यकर्ताहरुबाट दुत्कारिँदै गएका यी नेताको अप्ठेरो परिस्थिति देखेर मलाई लाग्यो, समयको कठोर अग्निपरीक्षामा छन्, माधव नेपाल ।

नेपालको वामपन्थी आन्दोलनमा पनि मौलानाहरु छन् । भाँती भाँतीको भेषमा देखिएका छन्, मुल्लाहरु । ती आफूलाई अलौकिक ठान्छन् र बाँकी सबै अपराधी ! अहिले माधव नेपाललाई दुत्कार्दै ढ्यामढुम ढोका लगाएर जगतमा बोलाएको भान पार्ने तर, भित्रभित्रै आफूले पार्टी कब्जा गर्ने धुर्त खेलमा ओलीबा लागेको त प्रष्टै देखिएको छ ।

यो कठिन परिस्थितिमा नेपालको पाइलामा साथ दिने कार्यकर्ता, नेता जोगाउनुपर्ने दायित्व र बागी हुँदाको सकस खेप्दै अघि बढ्नुको कष्टकर यी माधव नेपालको थाप्लामा आइपुगेको छ । बालकोटदेखि ग्रामीण तहसम्म ओलीभक्तहरुको उही कर्कश स्वर छ, सरकार ढाल्ने माधव नेपाल पख् । तँलाई रुखमा भोट हाल्न जिताएर पठाएको हो ? तावडतोड प्रश्नकर्ता कार्यकर्तालाई उही टाँगावाल शैलीमा दागा धर्न सिकाइएको छ ।

उसलाई प्रश्न गर्न सिकाइएको छैन । दुई–दुई पटक आफ्नो दुईतिहाइको सार्वभौम संसद् विघटन गर्न खोजिएको हो ओली ‘बा’ ?
पार्टीभित्रको बहस किन पार्टीभित्र नगरिएको हो ‘बा’ ? अदालतले माओवादीसँगको एकीकरणपूर्वका वडादेखि केन्द्रसम्मका सबै कमिटीहरु ब्युँताइदिँदा किन त्यसलाई कार्यान्वयन नगरिएको हो ‘बा’ ? अध्यक्ष र महासचिव मात्र रहने गरी बाँकी सब विघटन गर्ने अधिकार ओली ‘बा’लाई कसले दियो ? यदि कसैले यी प्रश्नहरु गर्ने आँट गर्दछ भने बुझे हुन्छ उसका दुःखका दिन शुरु भए ।

आफ्नै घरमा ओली ‘बा’बाट अपमानित र कार्यकर्ताहरुबाट दुत्कारिँदै गएका यी नेताको अप्ठेरो परिस्थिति देखेर मलाई लाग्यो, समयको कठोर अग्निपरीक्षामा छन्, माधव नेपाल ।

भत्काउनुपर्ने सबै भत्काइसकेपछि निषेधको कर्कश स्वरमा बार्दलीमा उभिएर चिच्याइरहेका छन् ओली ‘बा’ । जमिनका मानिसहरु मरुन् कि बाँचुन् जुनसुकै व्यवस्था आए पनि मतलब नरहेरै जनताले कम्युनिष्ट नाम गरेका शक्तिलाई बेतोड मतका साथ सत्तामा पुर्याएका थिए ।

जनयुद्धकालीन त्यत्रो कोलाहल बिर्सेर पनि खाली खुट्टा गाउँले जनता अघि बढ्ने सपनाका साथ उभिएको थियो मतदाताको लाइनमा । जसका सपनाहरुका लयमा लय मिलाएर जनताले जिताए, उसैबाट फेरि शदियौँदेखि नेपाल राज्यको सत्ताको तर मारेकैले फेरि सरकारलाई अल्मल्याइदिए । सर्वहाराको खेत खलिहानका घुम्दै सिंहदरबार पुगेको नेता पनि उतै हुनेखानेहरुको हुलमा मिसियो । ऊ उता मिसियो, यता सपना नासियो । आफैँ आफैँको तानातानमा बन्चरो चल्यो संसद्माथि । शीतल निवासलाई समेत नाङ्गै बनाएर खेलियो हेर्नै नसकिने भद्दा खेल ।

राजनीति फोहरी हुन्छ भन्ने त मानिसहरुले सुनेका थिए, कम्युनिष्टको सरकारमा त ह्वाङ्गै देखे पनि । अति भएपछि हुने खति नै हो, त्यही खतिको चोटमा छन् सत्तामा पुगेर फर्किएकाहरु । जो आए पनि केही नभएका जनतालाई त यसले खासै फरक पारेको छैन । मूर्छित भएको त केवल जनताको सपना ।

यही अलपत्र सपनाहरुलाई ब्युँझाउन माधव नेपालको नेतृत्वमा लडिरहेको शक्तिसँग विस्तारै जनताको आशा जाग्न थालेको छ । तर, ती आशाहरुलाई जोगाइराख्ने कि मर्न दिने भन्ने कुराको छिनोफानो भने स्वयं माधव नेपालनै गर्नुपर्ने हुन्छ । सानातिना कुरामा सम्झौता गरेर होइन, अबको नेपाली वामपन्थी आन्दोलनको सही बाटो कुन हो भनेर सैद्धान्तिक बहसको थालनी गरेर हिँड्नुपर्छ । जनता माधव नेपालकै पक्षमा छन् ।
ओली ‘बा’को औचित्य अब नेपाली कम्युनिष्ट आन्दोलनमा सकिएको छ । अब यो नाम मात्रको गुटले एमाले र सूर्य चिन्हको कुस्त व्यापार गर्नेछ ।

सुकुम्वासी र भूमिहीनका नाममा नाटक गर्नेछ । आफ्नो गुटलाई बलियो बनाउन दिइएका नियुक्तिहरुको खारेजीले अवसर पाएकाहरु तिलिमिलाउनु स्वाभाविक नै हो । तर त्यो अवसर नेपाली जनताको मतबाट प्राप्त भएको हो भन्ने पनि कसैले बिर्सनु हुँदैन । गुट विस्तारको निम्ति, आफ्ना मानिसहरुलाई खुशी बनाउनको निम्ति दिइएका यस्ता अवसरहरुबाट जनताले के फाइदा पाए त ? मुख्य कुरो त्यो हो । यदि नीति नै गलत छ भने जनताले के फाइदा पाउन सक्दछन् ?

माधव नेपालले निक्र्यौल गर्नुपर्ने कुरो के हो भने ओली अध्यक्ष भएर आइसकेपछि जन्मिएको व्यक्तिकेन्द्रित कम्युनिष्ट राजनीतिको अन्त्यमा उनले लिने बाटो कस्तो हुने हो ? पार्टीको केन्द्रीय समिति, पोलिटब्युरो, स्थायी समितिलाई नाम मात्रको बनाएर एकलौटी पार्टी चलाएर र आसेपासेहरुको सल्लाहमा अघि बढ्नु नै यो अधोगतिको आरम्भ भएको हो ।

अध्यक्षका फोटाहरु, उनकै महान आदर्श र सपनाहरुकै कारण सत्तामा पुगिएको भनेर जुन प्रचार गरियो, यो विकृत प्रवृत्तिको उदाहरण हो । कम्युनिष्टहरु सामूहिक पो हुन्छन् । समूहमा विश्वास गर्ने, सामूहिक अभ्यास गर्ने पो यिनीहरुको इतिहास हो । त्यसको बदलामा जुन प्रवृत्तिको विकास गर्न खोजिएको छ, प्रथमत यसको खारेजी हुनुपर्दछ । सत्ताको चरम दोहनले ओलीलाई झन् धुरीमा पुर्यायो ।

अब कम्युनिष्ट पार्टी जनताको पार्टी बनाउने र इतिहासमा मात्रै सीमित हुने पार्टी नबनाउने हो भने ‘बा’ प्रवृत्ति निर्मूल गर्नुपर्दछ । निश्चित नीति, पद्धति र विधिका आधारमा चल्ने पार्टी हुनुपर्दछ । यसको नेतृत्व लिन सक्षम व्यक्ति भनेकै माधव नेपाल हुन् । किनभने, उनको पहल नभएको भए दशतिरबाट हमला भइरहेको गणतान्त्रिक नेपालको संविधानको वध भइसक्ने नै थियो ।

संविधानको वध गर्ने व्यक्ति महान् लोकतान्त्रिक र क्रान्तिकारी हुने ? संविधान बचाउन पहल गर्ने व्यक्ति ‘लाल गद्दार’ हुनै सक्दैन । लाल गद्धार त त्यो हो जसले बिनाकारण दुईतिहाइको सरकार ढाल्यो । एमाले कार्यकर्तापंक्तिले पनि यो तथ्य बुझ्न जरुरी हुन्छ ।

पार्टीको जीवन भनेको उसले लिने विचार हो । विचार भुत्ते भयो भने ठूलै जमात भएको पार्टी पनि निमेषभरमा खरानी हुने खतरा रहिरहन्छ । पूर्वी युरोप र संसारको वामपन्थी आन्दोलनलाई केलाएर हेरे त्यस्ता दृष्टान्तहरु यथेष्ट देखिन्छन् । बहुदलवादी पद्धतिलाई अँगालेको जनवादी, अनुशासित र लोकतान्त्रिक चरित्र भएको नेतृत्व नभई कार्यकर्ता पंक्ति बलियोसँग रहिरहने सम्भावना हुँदैन ।

त्यसैले पनि उत्कृष्ट विचारले लैस भएको नेतृत्वले मात्र जनमत जुटाउन सक्दछ । युवा, किसान र मजदुरहरुको आशा अहिले पनि माधव नेपाल समूहसँगै छ । भ्रष्टाचारको दुर्गन्धले दुर्गन्धित भएका, सत्तामा छँदा करोडौं भ्रष्टाचार गरेका, अख्तियारलाई वशमा पारेर आफूले गरेका बदमासी लुकाएकाहरु नेता त के कम्युनिष्ट पार्टीको कार्यकर्तासमेत बन्न लायक हुँदैनन् । यसो हुँदा अबको क्रान्तिको बेडा लिएर अघि बढ्ने हिम्मत माधव नेपालहरुले गर्नुपर्ने हुन्छ । विगतमा भएका गल्ती कमजोरी सुधारेर अघि बढे समयले फेरि उनलाई साथ दिनेछ ।

यसबखत उनी समयको अग्निपरीक्षामा छन् । बागी हुनु सजिलो काम त हुँदै होइन । ओलीको गलत प्रशिक्षणले वास्तविकता नबुझेको कार्यकर्तापंक्ति पनि फेरि एकसाथ हिँड्ने दिन आउनेछ । किनभने सत्य र निष्ठाको विचारकै विजय हुनेछ ।
मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्