Logo
Logo

आरनमै बित्यो बैँस, बित्दैछ बुढ्यौली



दैलेखको ठाटीकाँधका रघे लुवार आरनमा भाडा बनाउदै । तस्बीर: जितेन्द्र थापा


सुर्खेत । समाजमा दबिएर बसेका समूदायलाई माथि उकास्ने भन्दै पटकपटक देशमा आन्दोलन भए । समाज रूपान्तरणका नारा पनि निकै घन्किए । तत्कालीन माओवादीले १० वर्षे सशस्त्र संघर्ष नै गर्यो । तर, जसको लागि संघर्ष र आन्दोलन भए ति अझै पनि चेतनाको स्तरबाट माथि उक्सिन सकेका छैनन् ।समाजको कुुरिती हटाउने प्रतिवद्धता गरेका उच्च अहोदामा भएपनि कुरिती हटेको छैन । अझै पनि अवशेष कायमै छ । यद्यपि, चेतनाको विकास भने भएको छ ।

चेतनाको स्तर बढेपनि आर्थिक अभावले पछौटे अवस्थमा रहेको समुदायलाई सधै दबाइराख्ने प्रवृत्ति अझै हट्न सकेको छैन । दैलेखमा करिब डेढ सय बढी परिवार भने अझै पनि बालीमै आफ्नो श्रम बेच्न बाध्य छन् । ठाटीकाँध गाउँपालिका लगायत जिल्लामा करिब डेढ सय घर परिवार आरन चलाएर जीवन गुजार्न बाध्य छन् ।

ठाटीकाँध २ का रघे लुवार आरन्तया रघ्या बाजे भनेर चिनिन्छन् । उमेरले ७४ नाघे । कपाल सेत्ताम्मे भइसक्यो । तरपनि उनी आरन पेसामा आवद्ध छन् । बिहान उठेदेखि कोदालो बनाउने र उपकरणमा धार लगाउँदा खाना खाने समय नै पाउँदैनन् । समय बितेको त झन् उनले पत्तो अहिलेसम्म नपाएको बताउँछन् ।

धेरै यो पेसाबाट विस्थापित भइसके । तर, उनी अझै पनि यही कामलाई निरन्तरता दिइरहेका छन् । ‘आरन पेशा नगरौँ त साँझविहानको गर्जो टर्दैन गरौँ त परिश्रम गरेअनुसारको फल ज्याला मिल्दैन एक सुपो अन्नमै चित्त बुझाउनुपर्छ ।’ उनले भने ।

दैलेख ठाटीकाँधको गैरेगाँउ, विशाला, माचखर्क, लकान्द्र, तोलीजैसी, आग्र, भम्क, पाँचला लगायतका करिब ४०÷४५ घर भन्दा बढी परिवार आरनकै भरमा गुजारा चलाउन बाध्य छन् ।

पेसा नै संकटमा
आरन पेसा गरेर जीवन धान्न मुस्किल हुने भएपछि आरनमा युवापुस्ताको चासो घट्दै गएको छ । युवा जनशक्तिले यसलाई हेयको दृष्टिले हेर्ने तथा वृद्धवृद्धाले समेत श्रम बापत बाली मात्रै पाउँदा आरन पेसालाई गतिलो आम्दानी दिन सकेका छैनन् । त्यसैकारण पनि यसकामप्रति युवाको बितृष्णा जाग्दो छ । खाना, नाना र छाना आफ्नो स्वामित्वमा नहुँदा वृद्धावस्थामा समेत यो पेसा अँगाल्नु परेको रघे लुवारकोे गुनासो छ ।

नयाँ पुस्ता यो पेसा अंगाल्न इच्छुक नभएपनि यही पेसाबाट उनले १०÷१२ जनासम्मको पारिवारिक गर्जो टारेका छन् । पेसा व्यवसाय गर्ने अरु सिप पनि नभएपछि उनी लगायत अन्य आरन व्यवसायी यसैमा आश्रित छन् ।

स्थानीय सरकारको बजेट कार्यान्वयनमा आएन
गाउँपालिकाले आरन सुधार तथा क्षमता विकासको लागि ६ लाख बजेट विनियोजन गरेको भएपनि त्यो कार्यान्वयनमा आउन सकेको छैन । गाउँपालिकाको ६ वटै वडाका आरन पेसा गरेर जीवन धानिरहेकालाई पालिकाले आर्थिक वर्ष ०७७÷७८ मा ६ लाख विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्