Logo
Logo

मुन्द्रा चढाउने डाँडा जोड्ने पदमार्ग निर्माण



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीयस्थल मुन्द्रा चढाउने डाँडा उक्लने पदमार्ग निर्माण भएको छ ।

मुन्द्रा चढाउने डाँडाको पर्यटन विकासका लागि अन्नपूर्ण गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो । भुरुङ–तातोपानीमा आउने पर्यटकको बसाई लम्बाउन मान्द्रेढुङ्गा हँुदै बराह गुफादेखि मुन्द्रा चढाउने डाँडासम्म जोड्ने पदमार्ग बनाएको वडा अध्यक्ष ओमप्रकाश फगामीले जानकारी दिए ।

“मुन्द्रा चढाउने डाँडालाई नयाँ पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न पूर्वाधार बनाएका हौँ”, उनले भने, “सडकका कारण पुराना पदमार्ग र पर्यटकको बसाई छोटिएकाले नयाँ गन्तव्य पहिचान गरेका छौँ ।” आर्थिक वर्ष २०७७÷७८ मा गाउँपालिकाले विनियोजन गरेको रु दश लाख बजेटबाट दुई किलोमिटर ५०० मिटर पदमार्ग निर्माण भएको गाउँपालिकाका इञ्जिनीयर ईश्वरबहादुर भण्डारीले बताए ।

अप्ठ्यारो, उकालो र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी तथा तेर्सो ठाउँमा माटो खनेर पदमार्ग बनाइएको छ । पदमार्ग निर्माण भएपछि लडेर दुर्घटना हुने, बाटो अलमलिएर हराउने समस्या हटेको छ । झाडी हटाएर सरसफाइ गरिएको छ । मान्द्रेढुङ्गादेखि पाँच घण्टा पैदल हिँडेपछि मुन्द्रा चढाउने डाँडामा पुगिन्छ । पदमार्ग निर्माणका लागि करिब दुई महिना जङ्गलमै बास बसेको उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर कामीले बताए ।

मजदूरलाई जङ्गलमै अस्थायी टहरा बनाएर राखिएको थियो । दैनिक ५० जनाको दरमा मजदूर परिचालन भएका थिए । मुन्द्रा चढाउने डाँडा समुद्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ । यो बाटो भएर धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ ।

यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे«, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजङ्गलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

खानेपानी, शौचालय र पाहुना आश्रयस्थलको आवश्यकता छ । यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको रु सात लाख सहयोगमा बेरोजगार युवालाई परिचालन गरेर भुरुङ–तातोपानीको सिंगारेढुङ्गादेखि मान्द्रेढुङ्गा जोड्ने पदमार्ग निर्माण भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष खड्गबहादुर गर्बुजाले १४ जना युवाले एक महिनासम्म श्रम गरेर दुई किलोमिटर पदमार्ग बनाएको बताए । पदमार्ग निर्माण भएपछि मान्द्रेढुङ्गा र ठूलोबगरका करिब १५० घरधुरीलाई आवतजावत गर्न सहज भएको छ ।

मान्द्रेढुङ्गाका बासिन्दालाई ठूलोबगर हुँदै गाउँपालिकाको केन्द्र पोखरेबगर र ठूलोबगरका बासिन्दालाई वडा कार्यालय भएको मान्द्रेढुङ्गा आवतजावत गर्न सुविधा पुगेको हो । यो गाउँपालिकाको केन्द्र पोखरेबगर र वडा कार्यालय भएको मान्द्रेढुङ्गा आवतजावत गर्ने छोटो दूरीको पैदलमार्ग हो । अर्को वर्ष सिंगारेढुङ्गादेखि नागढुङ्गातर्फ जोड्ने पदमार्ग बनाएर योजनालाई पूर्णता दिने योजना रहेको वडाध्यक्ष फगामीले बताए ।

प्रतिक्रिया दिनुहोस्