Logo
Logo

मेसी भित्र्यापछि पिएसजी हौसिए, अब नजर रोनाल्डोमाथि



काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई कतारी धनाढ्यको लगानीमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले यो साता भित्र्याउन सफल भएसँगै पिएसजी हौसिएको छ ।

स्पेनिस क्लब बार्सिलोनासँगको २१ वर्षे नाता तोडेका मेसीलाई अनुबन्ध गरेको हो । फ्रान्सेली समाचार एजेन्सीहरूले दावी गरे अनुसार अब पिएसजीको नजर अर्का उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि परेको छ ।

समाचार अनुसार मेसी, रोनाल्डो, नेमार जुनियर तथा केलियन एम्बाप्पेजस्ता वर्तमान समयकै उत्कृष्ट स्ट्राइकरहरूलाई समावेश गरी मैदानमा उतार्ने सपना पिएसजीले बुनेको छ ।

फ्रेन्च पत्रिकाहरूले शुक्रबार ‘रोनाल्डो पनि पिएसजीमा भित्र्याएर फ्रेन्च क्लब विश्वकै शक्तिशाली क्लब बन्ने योजनामा लागेको छ,’ उल्लेख गरेका छन् । यसअघि नै पिएसजीले डिफेन्स लाइन बलियो बनाउन रियल म्याड्रिडका सर्जियो रामोसलाई अनुबन्ध गरेको थियो ।

सबै योजना सफल हुँदा पिएसजीमा डिफेन्सदेखि फिनिसिङ लाइनसम्मका खेलाडी एकसे एक हुनेछन् । अहिले नै फ्रेन्च टोलीका मेसी, नेमार र विश्व च्याम्पियन फ्रेन्च खेलाडी एम्बाप्पे पिएसजीमा छन् ।

यस वर्ष रोनाल्डो सिरिए क्लब युभेन्ट्समै रहनेछन् । अर्को वर्ष रोनाल्डो र युभेन्ट्सबीचको सम्झौता समाप्त हुँदै छ । स्पेनिस क्लब रियल म्याड्रिडलाई लगातार तीनपटक युरोपिय च्याम्पियन्स लिग उपाधि दिलाएपछि रोनाल्डो एक्कासि युभेन्ट्स पुगेका थिए । युभेन्ट्समा रोनाल्डो छाइरहेका छन् । नयाँ चुनौती स्वीकार गर्न खप्पिस रोनाल्डो राम्रो प्रस्ताव आउँदा जुनसुकै क्लबमा जान सक्छन् । अर्को वर्ष रोनाल्डो ३७ वर्षका हुनेछन् ।

सन् २०१५ र २०१७ को बालोन डिअर अवार्डमा मेसी, रोनाल्डो र नेमार अन्तिम तीन सूचीमा परेका थिए । रोनाल्डोका एजेन्ट जर्जे मेन्डिसले पिएसजीको चासोप्रति कुराकानी भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्