Logo
Logo

पर्वतारोहीलाई पुनर्ताजगी तालिम



पोखरा । पर्वतारोही तथा चट्टान आरोहीलाई नेपाल पर्वतारोहण सङ्घ (एनएमए) गण्डकी प्रदेश समितिले शुक्रबार पुनर्ताजगी तालिम प्रदान गरेको छ । पोखराको खहरेमा रहेको विस स्पोटर््स इन्डोर हबमा दुई दिनसम्म ‘बोल्डरिङ’ तथा ‘वाल क्लाइम्बिङ’ तालिम भएको हो ।

तालिममा सहभागीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त माउन्टेन गाइड प्रशिक्षक प्रेम गुरुङ र सहायक प्रशिक्षक राम गुरुङले अप्ठ्यारा पहाड, खोच र हिमालमा अपनाउनुपर्ने सुरक्षा सतर्कताका बारेमा तालिम प्रदान गरेका थिए । तालिमस्थलमा रहेको कृत्रिम पर्खालमा डोरी बिना चढ्ने, डोरीको सहायताबाट झर्ने, आरोहणका क्रममा अप्ठ्यारोमा फसेकाको उद्धार गर्नेलगायतका विधिबारे सिकाइएको थियो ।

बिहीबार र शुक्रबार भएको तालिममा गत माघमा मुस्ताङको धम्पुस पिक (६,०१२ मि) आरोहण गरेका र तनहुँको विमलनगरमा रक क्लाइबिङमा भाग लिएका गरी १५ जनाको सहभागिता रहेको थियो ।

सहभागीलाई प्रमाणपत्र वितरण गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकलाई सुरक्षित महसुस गराउन र पर्वतारोही स्वयंको सुरक्षामा तालिम लाभदायी हुने बताए । एनएमए गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले सैद्धान्तिक मात्र नभई व्यावहारिकरुपमा समेत सीपयुक्त बनाउन तालिम आयोजना गरेको बताए ।

उनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयभित्रै कृत्रिम पर्खाल बनाएर व्यवस्थित बनाए पर्वतारोहणको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न सकिने बताए । उनले भने, “गण्डकी प्रदेशका हिमाल आरोहण प्याकेज अहिले काठमाडौँले बेचिरहेको छ, पोखरामै तालिम केन्द्र बन्न सके यहीको व्यवसायी, गाइड र मजदूरले लाभ लिन सक्छन् ।” तालिम संयोजक कृपाकुमार गुरुङले प्रवद्र्धनात्मक हिमाल आरोहणमा सहभागी हुनेलाई तालिम फलदायी हुने बताए ।

प्रतिक्रिया दिनुहोस्