Logo
Logo

ओली ज्ञानेन्द्रजस्तै हुन् : प्रकाश ज्वाला



वीरेन्द्रनगर । नेकपा एमाले माधव नेपाल समूहका कर्णाली प्रदेश संयोजक प्रकाश ज्वालाले राजाको जसरी नै केपी शर्मा ओलीको प्रतिगमन पनि ढालेको बताएका छन् ।

शनिबार वीरेन्द्रनगरमा नेकपा एमालेको युवा संघ नेपाल कर्णाली प्रदेश कमिटी तथा पिपुल्स भोलिन्टियर (पिभि) घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले केपी ओली र राजा ज्ञानेन्द्रले गरेको प्रतिगमनमा केही फरक नभएको बताए ।

‘केपी ओली र राजा ज्ञानेन्द्रले गरेको प्रतिगमनमा केही फरक छैन,’ उनले भने, ‘जसरी राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पुर्याइएको थियो, त्यसैगरी केपी ओलीको प्रतिगमन ढालेर बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्याइयो ।’

कर्णालीका पूर्वमन्त्री समेत रहेका ज्वालाले केपी शर्मा ओलीले कम्युनिष्टको नाममा व्यवस्थालाई आघात गर्ने काम गरेको आरोप लगाए । उनले राजतन्त्रलाई ढालेर ल्याएको लोकतान्त्रिक व्यवस्थालाई ओलीले कुल्चन खोजेको आरोप लगाए ।

‘ओलीको सोच लोकतन्त्रको पक्षमा थियो कि थिएन भन्ने कुरा उतिबेला नै आन्दोलनको क्रममै पुष्टि भइसकेको थियो नि ! राजतन्त्रको विरुद्धमा सडकमा कार्यकर्ता लडिरहेका बेला बालकोटको छतबाट काजू खाँदै ओली भन्दै थिए ‘बयलगाडा चढेर अमेरिका जान सकिँदैन’ ज्वालाले भने, ‘राजतन्त्र फाल्न असम्भव भन्थे ओली । तर,हामीले फाल्यौँ ।’

प्रतिक्रिया दिनुहोस्