Logo
Logo

‘खुसीभन्दा बढी चिन्तित छु’



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोहोरिएर प्राधिकरणको नेतृत्वमा आउँदा आफूलाई चिन्ता लागेको बताएका छन् ।

कान्तिपुरसँगको कुराकानीका क्रममा आगामी दिनमा पहिलो कार्यकालमा गरेकोभन्दा बढी काम गर्नुपर्ने भएकाले आफूले चुनौती महसुस गरेको उनले बताएका छन् । पहिलो कार्यकालमा मुलुकलाई लोडसेडिङमुक्त गरेका उनले आगामी कार्यकालमा जनतालाई त्योभन्दा बढी काम देखाउनुपर्ने दबाब रहेको बताए ।

‘अहिले आउनु भनेको मलाई ठूलो चुनौती हो । म खुसीभन्दा बढी चिन्तित छु, एकदमै, शुक्रबार कान्तिपुरसँगको कुराकानीका क्रममा दोस्रो कार्यकालबारे घिसिङले दोहोर्‍याएर भने, ‘प्राधिकरणको अहिलेको कार्यकालमा म एकदमै चिन्तित छु, मैले जति पहिलो चरणमा काम गरे त्यो लेबलको काम गरेर अझ बढी काम गर्नुपर्नेछ ।’

व्यक्तिगत रूपमा एकपटक राम्रो काम गरेर बाहिरिएको र त्यसको चर्चा पनि राम्रो भएकाले पुनः सोही पदमा आउनुभन्दा बाहिरै बसेको भए राम्रो हुन्थ्यो भन्ने घिसिङले अनुभूति सुनाए । ‘आम जनताको पनि चाहना एकचोटी प्राधिकरणमा बस्नुपर्छ भन्ने चाहना र सरकारको पनि यो जिम्मेवारी लिनुप‍र्‍यो भन्ने चाहना भएकोले म यहाँ आएको हो ।’

आफू पूरा कार्यकाल प्राधिकरणमा नै बस्नुपर्छ भन्ने मान्यतामा नरहेको घिसिङले बताए । अन्य ठाउँमा जान प्रस्ताव थियो कि थिएन भन्ने प्रश्नको जवाफमा उनले भने, ‘नेतृत्व र व्यवस्थापनको पक्ष हुन्छ, त्यो सँगसँगै कुनै पनि काममा सफलता पाउन नेतृत्व र व्यवस्थापनसँगै विषय विज्ञता पनि आवश्यक पर्छ । त्यो भयो भने अझ राम्रो हुन्छ । ‘राइट म्यान इन राइट प्लेसु भन्ने सबैतिर लागू हुनुपर्छ भन्ने हो ।’, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्