Logo
Logo

बाजुराको बालबालिकामा कोभिडसँग मिल्दो संक्रमण, ३७ जना अस्पतालमा भर्ना


नन्दा थापा



बाजुरा । जिल्लामा ५ वर्ष मुनिका बालबालिकामा डरलाग्दो संक्रमण देखिएको छ । ६ महिना देखि ५ वर्ष उमेर समूहका बालकालिमा कोरोना संक्रमणसँग लक्षण मिल्ने ज्वरो र निमोनियाको डर लाग्दो संक्रमण देखिएको हो ।

एकाएक सबै ५ वर्ष मुनिका बालबालिकामा डर लाग्दो संक्रमण देखिएको जिल्ला अस्पताल बाजुराले बताएको छ । ज्वरो र निमोनिया तथा पखाला लाग्ने समस्याका ३७ जना बालबालिका जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना मात्र भएका छन् ।

साउन १५ गतेपछि एकाएक संक्रमण बढ्दा दुई साताको अवधीमा ३७ जना बालबालिका उपचारका लागि अस्पताल भर्ना भएको कार्यालय प्रमुख प्रकाशराज जोशीले बताएका छन् । जोशीले बाजुरामा विगत ४ वर्षको तुलना गर्दा यो वर्षकै जस्तो डर लाग्दो संक्रमण पहिलो पटक देखिएको बताएका छन् ।

भर्ना भएका मध्ये ३० जना निको भएर घर फर्किएका छन् । भने ६ जना अझै उपचार गराइ रहेका छन् । एक जना थप उपचारका लागि रिफर गरिएको छ । भर्ना भएका मध्ये २ जना गम्भीर अवस्थामा रहेको अस्पतालका कार्यालय प्रमुख प्रकाशराज जोशीले बताएका छन् ।

उपचारका लागि भर्ना भएका मध्ये अधिकांशमा ज्वरो, निमोनिया, श्वाप्रश्वास र पखालाको संक्रमण देखिएको छ । तीमध्ये केहीलाई अक्सीजनको साहरामा उपचार गर्नु परेको अस्पतालले बताएको छ । मौसमी संक्रमण हो कि भाइरल ज्वरो हो भन्ने यकिनका लागि परीक्षण गर्न केन्द्रीय प्रयोग शाला पठाइएको अस्पतालले बताएको छ ।

कोरोना लक्षणसँग मिल्ने हुँदा एन्टीजोन जाँच गर्दा नेगेटिभ देखाएपनि ज्वरोको संक्रमणमात्र हो भन्ने अवस्था नरहेको अस्पतालका सूचना अधिकारी नृप गिरीले बताए । स्वास्थ्य कर्मीले कोरोनाको तेस्रो लहर हुन सक्ने अनुमानसहित थप जाँचको आवश्यकता देखिएको बताएका छन् ।

५ वर्षभन्दा कम उमेर समूहका अधिकांशका एकाएक एकै प्रकारको संक्रमण र लक्षणको समस्या देखिनु सामान्य नहुने भएकोले घर परिवारले ख्याल गर्नुपर्ने अस्पतालले बताएको छ । सामान्य लक्षण देखिनेलगत्तै उपचारका लागि ल्याउनुपर्ने र खानपान, सुरक्षा र सरसफाइमा बिशेष ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।

विरामीको बढ्दो संख्या, बालबालिकामा बढेको जोखिम र पूर्व तयारीबारे अस्पतालले पत्रकारसँग छलफलसमेत गरेको छ । सञ्चार माध्यमबाट सचेतना सन्देश प्रशारण, प्रकाशन गर्न, घर परिवार र अभिभावकलाई जिम्मेवार बनाउने सहयोग गर्न पनि सञ्चार कर्मीसँग आग्रह गरेको छ ।

भदौदेखि माक्स नलगाए एक सय जरिवान

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालयले केही कडाइ गर्ने निर्णय गरेको छ । लकडाउनको अवस्थामा नपुगेनी पूर्वसावधानीका लागि सबै प्रकारका उपाय अपनाउने निष्कर्षमा जिल्ला प्रशासन कार्यालय बाजुरा पुगेको हो ।

जिल्ला प्रशासन कार्यालय बाजुराले भदौ १ गतेबाट लागू हुनेगरि थप कडाइका मापदण्ड निर्धारण गरेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले बताएका छन् । भदौ १ गते देखि बाजुरा प्रवेश गर्ने सवारी साधन साँझ ७ बजेपछि प्रवेश निषेध गर्ने निर्णय गरेको हो ।

बाजुरा प्रवेशका चारवटै नाकामा पुनः हेल्थ डेस्क स्थापना गरि अनिवार्य चेकजाँच गरेरमात्र जिल्ला भित्र प्रवेश गर्न दिने निर्णय गरेको छ । कोरोना महामारीको तेस्रो लहर फैलिने जोखिम रहेकोले इकडी गाड, कोल्टी विमानस्थल, जुड्डी र धुलाचौर नाकामा हेल्थ डेस्क स्थापना गर्ने निर्णय भएको छ ।

यस्तै, सवारी साधनको हकमा अनिवार्य सबैले माक्सको प्रयोग, सीट क्षमताअनुसार यात्रु संख्या र सेनिटाइजरसहित सुरक्षा मापदण्डको प्रयोग गर्न भनिएको छ । चेकजाँच टोली नाकामा बस्ने भएकोले विहान ६ बजे देखि साँझ ७ बजेभित्रको समयमा मात्र सवारी साधान प्रवेश गर्न दिइने भएको छ ।

कोभिड–१९ संक्रमण नियन्त्रणका लागि कार्यविधि नै बनाएर चेतना नभई मास्क नलगाउनेलाई १० रुपैँया जरिवानासहित माक्स अनिवार्य गराउने र चेतना भएर पनि माक्स नलगाउनेलाई १ सय रुपैँया जरिवाना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्