Logo
Logo

पार्टी रुपान्तरणको समय आएको प्रचण्डकाे भनाइ



काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी रुपान्तरणको समय आएको बताएका छन् । आइतबार केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले पार्टीमा रुपान्तरण आवश्यक रहेको बताएका हुन् ।

प्रचण्डले अहिले गरिरहेकै कामलाई निरन्तरता दिने र यथास्थितिमै रुमलिरहने हो भने माओवादी पार्टीको औचित्य नरहने बताएका छन् । ’अहिले पनि चुनौती र खतरा छन्। त्यसैले हामी जिम्मेवार भएर अघि बढ्नुपर्ने छ। रुपान्तरण आवश्यक छ, हामीले सक्नैपर्छ। हामी एउटा उचाइमा पुग्नैपर्छ। हामी सबैले रुपान्तरण गर्ने अभियान यो बैठकले गरेको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, ’हामी सबैले अगाडि बढ्नु नै पर्छ। यो नेतृत्व अगाडि अहिले ठूलो अवसर पनि छ। परिवर्तनका लागि त्याग गर्नेतर्फ पनि तपाईंहरु सबै तयार रहनुहोला।’ ।

केन्द्रीय कमिटीको बैठकमा यसो हेर्दा ठीकैजस्तो देखिए पनि माओवादी पार्टी अरु बुर्जुवा प्रतिक्रियावादी भन्दा फरक नदेखिएको र त्यही दिशातिर गइरहेको प्रचण्डले बताए । उनले तलैसम्म नेपाली जनतासित जोडिन नेताहरुलाई आग्रह गरे ।

आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन हतारमा तयार पारेको हुनाले भाषिक लगायतका कमी कमजोरीहरु रहे पनि आगामी राष्ट्रिय सम्मेलनसम्म बहसका लागि यसले आधार तयार पारेको प्रचण्डले बताए ।

८ पेजको प्रस्तावमा विचारको भ्रूण रहेको बताउँदै उनले यसलाई राष्ट्रिय सम्मेलनसम्म जाँदा नेपाली क्रान्तिलाई दिशावोध गर्ने दस्तावेज तयार पार्ने बताए ।

प्रतिक्रिया दिनुहोस्