Logo
Logo
अफगान द्वन्द्व

जब लडाकुहरू अफगान राष्ट्रपति कार्यालय छिरे !



काठमाडौं । विद्रोही समूह तालिबान लडाकुले अफगानिस्तान कब्जामा लिएको छ । अफगानिस्तानको एकपछि अर्को शहर कब्जामा लिएको चरमपन्थी विद्रोही संगठन तालिबानका लडाकु राजधानी काबुल प्रवेश गरेका हुन् । यससँगै राष्ट्रपति असरफ घानीले देश छाडेका छन् ।

झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा पनि प्रवेश गरिसकेका छन् । आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका तालिबानहरूले दिउँसो शक्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए । तर राष्ट्रपति असरफ घानी देश छोडेर भागेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा छिरेका हुन् । तालिबान लडाकु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका थिए ।

तालिबानसामु काबुल तीन महीना पनि नटिक्ने अमेरिकी गुप्तचर एजेन्सीको रिपोर्ट एक साता पहिला मात्र सार्वजनिक भएको थियो । तर, त्यसको केही दिनमै तालिबान लडाकु काबुल प्रवेश गरेका छन् ।

राष्ट्रपति घानी सरकारसामु तालिबानसँग संघर्ष गर्ने वा आत्मसमर्पण गर्ने मात्र बाटो थियो । किनकि तालिबानले अफगानिस्तानका ३४ मध्ये कम्तीमा २५ प्रान्तीय राजधानीमा कब्जा गरिसकेको छ ।

राष्ट्रपति कार्यालयमा तालिबान लडाकु पसेसँगै अफगानिस्तानमा अमेरिकासमर्थित सरकारको अन्त्य भएको छ । अब तालिबानहरू सम्मिलित अन्तरिम सरकार बन्ने जनाइएको छ तर यसको विस्तृत खाका आइसकेको छैन । तालिबानका प्रवक्ताले अब अफगानिस्तानमा युद्ध समाप्त भएको बताएका छन् ।
उता देश छोडेका राष्ट्रपति घानीले रक्तपात रोक्न आफू बाहिरिएको बताएका छन् । उनी अहिले कहाँ छन् भन्ने औपचारिक जानकारी दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्