Logo
Logo

लोकगीतमा छाडापन बढ्यो- बबिता श्रेष्ठ, भिडियो निर्देशक


- दृष्टि न्युज/संवाददाता


हिजोआज गीत सुन्नेभन्दा हेर्ने चलन बढेको छ । यहाँ दैनिक नयाँ–नयाँ म्युजिक भिडियोहरु बनिरहेका छन् । मासिक सयौँका संख्यामा भिडियोहरु निर्माण भएपनि निर्देशनमा पुरुष हाबी छ । जसमा थोरै भिडियो निर्देशन गर्ने महिलामध्ये एक हुन् बबिता श्रेष्ठ । २०६८ सालदेखि म्युजिक भिडियो निर्देशनमा सक्रिय रहेकी बबिताले हालसम्म एक हजारभन्दा बढी भिडियो निर्देशन गरिसकेकी छन् । उनी व्यस्त निर्देशकमध्ये एक हुन् । तर, अहिले पनि महिला निर्देशकलाई सहज भने छ्रैन । ललितपुर पुल्चोककी बबिता भन्छिन्, ‘म्युजिक भिडियो निर्देशनमै यतिका वर्ष बिताएँ, तर महिला भएकै कारण अझै असहज छ ।’ निकट भविष्यमै फिचर फिल्म निर्देशन गर्ने सोचमा रहेकी बबिताले त्यसभन्दा पहिले टेलिसिरियल निर्देशन गर्दैछिन् । यिनै व्यस्त निर्देशक बबिता श्रेष्ठसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहन्छ ?

म्युजिक भिडियो निर्देशनमै व्यस्त छु । आज पनि मेरो सुटिङ छु । सुटिङकै लाग दोलालघाट जाँदैछु ।

निर्देशन क्षेत्रमा लाग्नुभएको कति भयो ?

निकै वर्ष भयो । २०६८ सालबाटै म्युजिक भिडियो निर्देशन गर्न थालेकी हुँ ।

तपाइँद्वारा निर्देशित चर्चित भिडियो कुन हो ?

अहिलेसम्म थुप्रै चर्चित भिडियोहरु बनाएकी छु । पछिल्लो समय गरेको ‘एक हजारको नोट’ बोलको गीत अहिले पनि चर्चामा छ ।

यो क्षेत्रमा कसरी लाग्नुभयो ?

सुरुमा म्युजिक भिडियो निर्देशन गर्छु भनेर सोचेकी थिइनँ । विभिन्न सञ्चारमाध्यममा आरजे÷भिजे गर्ने क्रममा गीतसंगीतका ब्यक्तित्वहरुसँग भेटघाट बाक्लिदै गयो । एक जना गायकले म्युजिक भिडियो बनाउने सोच बनाउनुभएको रहेछ, उहाँले मलाई के देखेर भिडियो निर्देशन गर्न दिनुभयो । कामको प्रतिफल राम्रै निस्क्यिो । सबैले राम्रो छ, यत्तिको क्षमता भएको मान्छेले जस्तो पनि गीतको भिडियो निर्देशन गर्न सक्छ भनेर उहाँहरुको हौसलाले आत्मवल बढ्यो । त्यसपछि निरन्तर यसै क्षेत्रमा लागि परेको छु ।

सुरुवाती अनुभव कस्तो रह्यो त ?

एउटा भिडियो बनाएँ, सबैतिरबाट स्यावासी पाइयो तर, सोचेजस्तो नहुने रहेछ । महिला भएकै कारण सुरुका दिनहरुमा काम दिन हिचकिचाउने, कलाकारले पनि नपत्याउने, प्राबिधिकले पनि आफुले भनेजस्तो सहयोग नगर्नेजस्ता विविध कठिनाइको सामना गर्नुप¥यो । हिजो मसँग काम गर्न नरुचाउनेहरु अहिले मेरो गीतको भिडियो बनाइदिनु प¥यो भन्छन् ।

कस्तो खालको भिडियो बढी बनाउन मनपर्छ ?

विशेष त दोहोरी गीतसंगीतप्रति कृयाशिल भएकीले यतै बढी सक्रिय छु । तर, पनि भिन्न–भिन्न खालको भिडियो निर्देशन गर्न रुचाउँछु म । केही दिन पहिलेमात्र मैले नेपालको पहिलो महिला रेस्लर भगवती खड्कालाई लिएर एक्शन भिडियो बनाएकी छु, जुन भिडियोले यतिबेला चर्चा पाइरहेको छ ।

पछिल्लो समय म्युजिक भिडियो निर्माणको क्रम बढेको हो ?

अवश्य पनि । अहिले सुन्ने गीतभन्दा हेर्ने गीतको प्रचलन बढेको छ । धेरैले काम पाइरहेका छन् । यो सकारात्मक पक्ष हो । तर, गुणात्मकभन्दा संख्यात्मकलाई बढुवा दिनेहरुका कारण म्युजिक भिडियोको स्तर घट्दै गएको महसुश गरेकी छु ।

यही लहरकै कारण तपाइँ पनि ब्यस्त हुनुहुन्छ नि ?

त्यसै भन्नुपर्ला । दिनमै दुई÷तीन वटासम्म म्युजिक भिडियो निर्देशन गर्नुपर्ने बाध्यता छ । सुटिङ गरेरमात्र भएन, त्यसपछि सम्पादन, प्रमोशनलगायत थुप्रै काम हुन्छ । भिडियो सार्वजनिक भएर दर्शकको सकारात्मक प्रतिक्रिया आएपछि मात्र मन खुसी हुन्छ ।

यतिका धेरै म्युजिक भिडियो बन्छन् । तर महिलाको संख्या एकदमै हुनुको कारण के होला ?

जे भनेपनि यो क्षेत्रमा महिलालाई काम गर्न गाह्रो छ । महिलालाई सुरुमा कसैले पत्याउँदैनन् । निर्देशन भनेको क्रियटिभ काम हो । त्यसैले महिलाले गर्न सक्दैन कि भन्ने भ्रम पुरुषमा छ । त्यो मैले पनि भोगेकी छु ।

फिल्म निर्देशन गर्ने सोच छैन ?

अहिले आएर लक्ष्य नै निर्देशनलाई बनाएकी छु । त्यसैले केही समयपछि फिल्म पनि निर्देशन गर्ने सोच बनाएकी छु । तर, त्योभन्दा पहिले टेलिसिरियल निर्देशन गर्दैछु ।

हिजोआजका दोहोरी गीत तपाइँलाई कस्तो लाग्छ ?

लोकदोहरी गीतसंगीतको कुरा गर्नुपर्दा पछिल्लो अवस्थामा छाडापन देखिन्छ । म्युजिक भिडियोभन्दा पनि स्टेज कार्यक्रममा कलाकारहरुले प्रस्तुत गर्ने शब्द र भल्गर दृश्यका कारण छाडापन देखिएको हो । लोक कलासंस्कृति भनेको हाम्रो पहिचान हो, यसलाई सम्बद्र्धन र संरक्षण गर्नु हामी सबैको दायित्व हुन्छ ।

तपाइँ यो क्षेत्रमा खुसी हुनुहन्छ ?

खुसी छु । यहाँसम्म आउँदा मैले आफ्नो परिचय बनाएकी छु । सबैले चिन्न थालेका छन् । सुरुवातमा जे–जस्तो अवस्था भोगेपनि अहिले टिमवर्कमा काम गर्दा रमाइलो लागिरहेको छ ।

यो क्षेत्रमा लागेर के पाउनुभयो ?

सबैभन्दा ठूलो कुरा माया, साथ र सम्मान पाएकी छु । २०७५ मा मात्र मैले निर्देशनबाट ६ वटा अवार्ड पाएँ । १० वटा अवार्डमा नोमिनेशन भएकी थिएँ । यो मेरो लागि खुसीको कुरा हो ।

प्रतिक्रिया दिनुहोस्