ओलीका कारिन्दा बने गृहसचिव « Drishti News – Nepalese News Portal
Logo

ओलीका कारिन्दा बने गृहसचिव


दृष्टिन्यूज


काठमाडौं । केपी ओलीको निकट रहेका गृहका महेश्वर न्यौपानेलाई हटाएर कांग्रेसले आफू निकट सचिवलाई गृह मन्त्रालय ल्याउने आँकलन गरिएको थियो । तर, त्यस्तो भएन । ओलीकै प्रियपात्र भएर भूमिसुधारमा काम गरेका सचिव टेकनारायण पाण्डेलाई गृहमन्त्री बालकृष्ण खाँणले भित्र्याएका छन् । पद्मा अर्यालको विश्वासपात्र भनेर भूमि व्यवस्था मन्त्रालयमा काम गरेका पाण्डेलाई कांग्रेसको समेत पहिलो रोजाईमा पर्नुको पछाडीको चलखेल डरलाग्दै छ ।

भूमि व्यवस्था मन्त्रालयमा हुँदा उनको भूमाफिया समूहसँग घनिष्टता बनेको थियो । गिरिबन्धु टि इस्टेटलाई हदबन्दीभन्दा धेरै जग्गा बिक्रि गर्न दिदा पनि उनले सघाएका थिए । अन्य ठूला जग्गा प्रकरणमा उनको देशका ठूला माफिया समूहसँग निकटता भएको थियो । त्यही समूहले पाण्डेलाई गृह मन्त्रालय पु¥याएको स्रोत बताउँछ ।

शिक्षा पृष्ठभुमीका पाण्डेसँग गृह मन्त्रालयको कुनै अनुभव छैन । शान्ति सुरक्षाको आधारभुत ज्ञान नभएको व्यक्ति गृहसचिव हुँदा देशको शान्ति सुरक्षामै असर पर्ने प्रहरी अधिकारीहरु बताउँछन् । गृहको लामो अनुभव भएका कांग्रेस निकट नै रहेका अन्य सचिवहरुलाई पछि पार्दै पाण्डेले गृह मन्त्रालय हात पारेका हुन् ।

पाण्डेले भूमिसुधारमा हुँदा जग्गा हिनामिना नीगिगत अनियमिततामा मुछिएका सचिव हुन् । ताप्लेजुङको फत्तालुङ गाउँपालिका– ६ मा रहेको करिब १५ सय रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ताका लागि पनि सचिव पाण्डेले चलखेल गरेका थिए । छुट दर्ताका नाममा नक्कली कागजपत्र देखाएर एक समूहले जग्गा दर्ताको प्रयास गरिरहेको छ । भूमि सुधारमा यस्तो ठूला चलखेलमा संलग्न पाण्डेले गृह मन्त्रालयमा झनै बिकृती बढाउने जोखिम देखिएको कर्मचारीहरु बताउँछन् । भुमी सुधारमा हुँदा उनले गरेका कतिपय निर्णयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्