Logo
Logo

दल दर्ताको गृहकार्यमा नेपाल, प्रतिवाद गर्ने ओलीको चेतावनी



काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा एमालेका शीर्ष नेता आ–आफ्नै तयारीमा जुटेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल समूह दल विभाजनसम्बन्धी अध्यादेश आएपछि नयाँ दल गठनका लागि आन्तरिक छलफलमा जुटेको छ भने अध्यक्ष केपी शर्मा ओली समूहले यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

नेपालले आफू निकटका सांसद तथा केन्द्रीय सदस्यहरुसँग नयाँ दल दर्ताको बिषयमा छलफल गरिरहेका छन् । नयाँ वानेश्वरस्थित होटल अर्यालमा माधव समूहको छलफल जारी छ ।

नेपाल पक्षको छलफलमा उपाध्यक्ष वामदेव गौतमपत्नीसमेत रहेका केन्द्रीय सदस्य तथा सांसद तुलसा थापा पनि सहभागी छन् । यस्तै अर्का नेता माया ज्ञवाली पनि नेपाल समूहको बैठकमा सहभागी भएको बताइएको छ । उपाध्यक्ष गौतमले यस अघि नै पार्टी विभाजन भए माधव समूहलाई साथ दिने भनिसकेका छन् । नेपाल पक्षको छलफलमा विगठित कार्यदलका सदस्यहरु सहभागि छैनन् । यद्यपि, उनीहरु पनि छलफलमा आउने बताइएको छ ।

ओली समूहको आजै बसेको स्थायी कमिटी बैठकले दल विभाजनसम्बन्धी अध्यादेश आए कडा प्रतिकार गर्ने भन्दै आपत्ति जनाइसकेको छ । एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने कार्य निन्दनीय र अस्वीकार्य भएको बताए । दल विभाजन प्रयोजनका लागि ल्याइएको अध्यादेशमा गम्भीर आपत्ति रहेको उनले बताएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ (२) अनुसार कुनै पनि दलको केन्द्रीय समिति र संघीय संसद्को संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्काे कुनै दलमा प्रवेश गरेमा त्यस्ता सदस्यसमेतले नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्यागेको नमानिने उल्लेख छ ।

यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्