Logo
Logo

खोसिदियो डोजरे विकासले ग्रामीण सौन्दर्य


ध्रुवसागर शर्मा/रासस


फाइल फोटो

गलेश्वर । डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुना–कन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् ।

एक दशकअघिसम्म ग्रामीण क्षेत्रका लेक बेँसी, बस्ती, गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का अहिले नासिन थालेका छन् ।

गाउँघरतिर ‘बजेट सक्ने विकास’ भनेर बोलिने डोजर चालक नै इञ्जीनियर बनेर खनिएका मोटरबाटोका कारण वर्षौ पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदा नास भएको बताइएको छ । जीवन्त यस्ता सम्पदाको संरक्षणका लागि सम्बन्धीत पक्षले वास्ता नगरेको स्थानीयवासीको भनाइ छ ।

विकासका नाममा वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकन जथाभावी खनिएका मोटरबाटोका कारण बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका तीन दर्जन बढी ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिएका पाइएको छ ।

यस्ता प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क अद्यावधिक गर्ने कुनै निकाय नभएता पनि स्थानीय तहहरुले बल्ल आ–आफ्नो क्षेत्रमा पहिला भएका र अहिले नरहेका यस्ता सम्पदाको जानकारी लिन सुरु गरेका छन् ।

गाउँगाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय पाटी, पैवा, सत्तल, देवल, धारा, कुवा र चौतारी पोखरी भत्काइएको वा पुरिएको बेनीका दण्डपाणि उपाध्यायले बताए । उनले भने– ‘विकासको नामबाट विनास भएको छ त्यसले दीर्घकालसम्म क्षति पुर्याइरहने छ । सडकको नाममा डोजरले खेतका गरा, कान्ला र उर्वर जमिन मात्रै भत्काएको छैन, आफ्ना पुर्खाको कीर्ति, संस्कृति, सभ्यता र हाम्रो परम्पराको जग पनि हल्लाएको छ, यसले हाम्रो ग्रामीण सौन्दर्य पनि खोसिदिएको छ ।’

तत्कालीन बाइसे चौबीसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक देबल, मठ, थुम्का, सत्तल, चौतारी, पोखरी, कुवा र इनार अहिले खण्डहरमा परिणत भएका स्थानीयवासीले बताएका छन् । ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्तिबम मल्लले बनाएको फूलपाती , डम्मरा र गौडालाउने चौतारी तथा लामागराको पुर्खे सत्तल, ज्यामरुककोटको देवल, हाँडेभिर पश्चिमको पाती चढाउने थुम्कोलगायत दर्जनौंँ सम्पदा नासिएका बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायले बताए ।

त्यसैगरी ऐतिहासिक महत्व बोकेका खड्गभवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरिपरि रहेका कुवा र पोखरीको पनि अस्तित्व सङ्कटमा परेको छ । मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायले ध्यान नदिएकामा स्थानीयवासीले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्