Logo
Logo

सेवाग्राहीमैत्री व्यवहार गर्न प्रहरी महानिरीक्षकको निर्देशन



काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले देशभरका ट्राफिक कार्यालयका प्रमुखहरुलाई निर्देशन दिएका छन् । बुधवार प्रहरी हेडक्वार्टरबाट भिडियो कन्फ्रेन्समार्फत महानगरीय ट्राफिक प्रहरी महाशाखा, प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरुलाई ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणबारे क्षेत्रीले निर्देशन दिएका हुन् ।

ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरुले शिष्ट, सभ्य व्यवहार तथा आचरणमा व्यावसायिकता प्रदर्शन गर्दै पूर्ण पेशागत निष्ठाका साथ लाग्न जरुरी रहेको बताउँदै प्रहरी महानिरीक्षक क्षेत्रीले ट्राफिक व्यवस्थापनमा प्रविधिलाई जोड दिन जरुरी रहेको बताए ।

सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि मौलिक योजना तथा रणनीति तयार गरी अगाडि बढ्न उनले निर्देशन दिए । ‘ड्युटी गर्ने शिलशिलामा आफ्नो ज्यानको बारेमा सजग हुनुपर्छ’ प्रहरी महानिरीक्षक क्षेत्रीले भनेका छन्– ‘कार्यालय तथा सडकमा सम्पर्कमा आउने सेवाग्राहीहरुलाई प्रदान गरिने सेवा प्रवाहमा समानता र सेवाग्राहीमैत्री व्यवहार कायम गर्नुस् ।’

साथै, आफूले सम्पादन गर्नुपर्ने जिम्मेवारी परिणाममुखी हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले परिस्थितिको मूल्याँकन गरी स्वविवेकको प्रयोग गर्नुका साथै कोभिड–१९ को जोखिमलाई मध्येनजर गर्दै आफ्नो र मातहत कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सावधानी अपनाई जिम्मेवारी वहन गर्न समेत उनले बताए ।
स्थानीयस्तरबाट प्रहरीको भौतिक संरचना, सिसिटिभि जडान जस्ता कार्यक्रममा स्थानीयतह, जनप्रतिनिधिहरु र संघसंस्थासँग समन्वय गरी ट्राफिक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग समेत समन्वय र सहकार्य गरी कार्य प्रगति प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्