Logo
Logo

कारबाही ‘अवैधानिक’ भन्दै कार्यान्वयन नगर्न सचिवालयलाई पत्र



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यमाथि निष्कासन र सांसदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न माग गर्दै माधव नेपाल पक्षले संसद् सचिवालयलाई पत्र पठाउने भएको छ ।

तस्बिर/अनलाइन खबर

बुधबार नयाँ बानेश्वरस्थित अर्याल होटेलमा बसेको अनौपचारिक बैठकपछि उक्त कारबाही ‘अवैधानिक’ भएकाले कारबाही रोक्न संयुक्त निवेदनसहित संसद् सचिवालयमा जाने निष्कर्षमा पुगेको हो ।

संसद् सचिवालयलाई बुझाउन तयार गरेको पत्रमा आफूहरूमाथिको कारबाही गैरकानुनी र पार्टीको विधानविपरीत रहेको उल्लेख छ । माधव समूहले ६ वटा कारण देखाएर सचिवालयलाई ओलीको पत्रको आधारमा कारबाही अघि नबढाउन र सूचना प्रकाशित नगर्न आयोगमा जानकारी गराउन माग गरेको छ ।

पत्रमा भनिएको छ, ‘उपरोक्त आधार कारणहरूबाट २०७८ भदाै १ गते नेकपा एमाले संसदीय दलको कार्यालयले संघीय संसदीय दलको कार्यालयलाई लेखेको पत्र अवैधानिक र दुरासयपूर्ण रहेकाले सो पत्रका आधारमा कुनै पनि कारबाही अगाडि नबढाउन सूचना प्रकाशित नगर्न र निर्वाचन आयोगमा जानकारी नगराउन हार्दिक अनुरोध गर्दछौँ ।’

समूहका १४ सांसदको पद खारेजीको माग गर्दै संसद् सचिवालयमा एमालेले मंगलबार पत्र दर्ता गरेको थियो । एमालेले यही २५ साउनमा बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मी चौधरी, निरादेवी जैरु, पुष्पकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ मेटमणि चौधरीको संसद पद खारेज गर्ने निर्णय गर्दै संसद सचिवालयमा पत्र दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्