Logo
Logo

नेकपा एमाले फुटेकोदेखि वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी नियुक्तसम्म



हेडलाइन्स्

१. नेकपा एमालेको केपी शर्मा ओली र माधव नेपाल पक्षबीच गहिरो अन्र्तद्वन्द्व चलिरहँदा सरकारले जारी गर्यो राजनीतिक दल विभाजन सहज हुने गरी अध्यादेश, राजनीतिक दलसम्बन्धी ऐनअनुसार कुनै पनि दल विभाजन हुन केन्द्रीय समिति वा संघीय संसदका कम्तीमा ४० प्रतिशत सांसद संख्या २० प्रतिशत बनाए पुग्ने, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र दल रोज्न पाउने, सबै जनप्रतिनिधिको पद सुरक्षित हुने ।

२. अध्यादेश जारी भएसँगै माधवकुमार नेपालद्वारा निर्वाचन आयोग पुगेर छुट्टै दल दर्ता, दलको नाम नेकपा एमाले समाजवादी रहने, चुनाव चिह्न कलम माग, एमाले एकतामा जोड दिएका नेपाल पक्षका सांसदले भने दिएनन् साथ, नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जन हुनबाट जोगाउनका निम्ति कठोर कदम चाल्नुपरेको भन्दै नआत्तिन भन्दै नेपालद्वारा वक्तव्य जारी, विभाजनको सम्पूर्ण दोष ओली र ओलीको अहंकार भएको नेपालको आरोप ।

३. अध्यादेश जारी भएसँगै जनता समाजवादी पार्टी (जसपा) को आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका महन्थ ठाकुरले जसपा लोकतान्त्रिक नाम सहित नयाँ दल दर्ताका लागि दिए निवेदन, नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहने, २५ सदस्यीय कार्यकारिणी समिति प्रस्ताव, रेशम चौधरी पनि ठाकुर पक्षमा आइपुगे, नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव ।

४. वागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यद्वारा सपथ ग्रहण, सपथ लिएसँगै शाक्य बनिन् नेपालको पहिलो महिला मुख्यमन्त्री, एमाले औपचारिक रूपमा विभाजन भएपछि शाक्यले माधव नेपालको साथ छोडेसँगै डोरमणी पौडेलद्वारा पदबाट राजीनामा दिएर शाक्यलाई मुख्यमन्त्रीका लागि मार्ग प्रशस्त, एमाले एकताका लागि आफू सधैँ लागिरहने शाक्यको प्रतिक्रिया ।

५. दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणको छानबिन गर्न गठित समितिको म्याद तेस्रो पटक थपियो, पहिलो पटक १० दिन र दोस्रो पटक ७ दिन म्याद थप हुँदा पनि समितिले निष्कर्ष निकाल्न नसकेपछि गृहमन्त्री बालकृष्ण खाँणले तेस्रो पटक म्याद थप, जयसिंह धामी नदी तर्दातर्दै भारतीय सीमा सशस्त्र बल (एसएसबी)ले तुइन फुकालिदिँदा घटना भएको समितिको प्रारम्भिक निष्कर्ष, प्रतिवेदनमा लेख्ने विषय गृहमन्त्री खाँणसँग परामर्शपछि मात्र टुंगिने समितिको भनाइ ।

६. विभिन्न प्रयोगशालामा ११ हजार ८३९ नमूनाको पीसीआर परीक्षण र ४ हजार ९ सय ९९ नमूनाको एन्टिजेन परीक्षणा गर्दा ३४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, थप ४२ जनाको मृत्यु , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ सय ४ जना कोरोनामुक्त, हाल सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ पुग्यो, ४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित थपिए, जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिए ।

७. नुवाकोटको सिसडोल जाने बाटो वर्षाका कारण अवरुद्ध भएपछि काठमाडौं उपत्यकाको फोहोर अझै उठेन, फोहोर नउठ्दा काठमाडौंका घर र सडकमै थुप्रियो १६ हजार टन फोहोर, ल्याण्डफिल साइट खुल्ने बारे काठमाडौं महानगरपालिका नै अनविज्ञ, केही समय घरबाहिर फोहोर ननिकाल्न महानगरको नगरवासीसँग अनुरोध ।

८. नेप्से सूचकले ’अल टाइम हाइ’ रेकर्ड बनाउदा कारोबार रकम पनि रेकर्ड नजिक, हकप्रदको बहार आउँदा महिना दिनमै हाइड्रोको शेयर मूल्य शतप्रतिशत बढ्यो, उच्च आयातले आवको पहिलो महिनामै भन्सार संकलन उत्साहजनक, लक्ष्यभन्दा ११ अर्ब बढी उठ्यो, २१६ मेगावाटको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनाको निर्माण सुरु, २०८३को मंसिरभित्रमा सक्ने लक्ष्य, सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा ।

९.माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक, पाँच राष्ट्र सहभागी साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ (असोज १५ देखि २७) सम्म आयोजना हुने, नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने, नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने ।

१०. र, अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ गनी युनाइटेड अरब एमिरेट्स (यूएई) पुगे, राष्ट्रिय झण्डाको समर्थनमा प्रदर्शनमा उत्रिएकामाथि तालिबानको गोली प्रहार,अफगानी स्थानीय आदिवासीले सीमा अबरुद्ध गरेपछि पाकिस्तानको व्यापार ठप्प, अफगानिस्तानमा तालिबानको सत्ताले विश्वभर जिहादी संगठनको वृद्धि हुने, जर्मनीले अफगानिस्तानलाई आर्थिक सहयोग रोक्ने, २० हजार अफगानी शरणार्थीलाई बेलायतले शरण दिने ।

प्रतिक्रिया दिनुहोस्