Logo
Logo

गण्डकीमा मुख्यमन्त्रीको अनुमति बिना मन्त्रीले जिल्ला छाड्न नपाउने



काठमाडौं । गण्डकी प्रदेशका मन्त्रीहरुले प्रदेशको राजधानी छाड्न मुख्यमन्त्रीको अनुमति लिनुपर्ने भएको छ । यसअघि विदेश जानुपर्दा मात्रै मन्त्रीहरुले मुख्यमन्त्रीबाट अनुमति लिनुपर्ने प्रावधान थियो ।

तर, गण्डकी प्रदेश सरकारले मन्त्रीहरुकालागि आचारसंहिता जारी गर्दै जिल्ला छाड्नुअघि अनिवार्य रुपमा मुख्यमन्त्रीबाट अनुमति लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको हो । उक्त ३० बुँदे आचारसंहितालाई गण्डकी प्रदेश सरकारको गत साउन ३२ गते बसेको मन्त्रीपरिषद बैठकले पारित गरेको छ ।

आचारसंहिताको बुँदा नम्बर १५ मा भनिएको छ, ‘मन्त्रीले कास्की जिल्लाबाहिर जानुपर्दा वा विदेश भ्रमणमा जानुपूर्व मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने र भ्रमणको सम्बन्धमा राष्ट्रको नाममा प्राप्त हुने दान, पुरस्कार वा उपहार गण्डकी प्रदेशलाई बुझाउनुपर्नेछ ।’

आचारसंहितामा मुख्यमन्त्रीद्वारा जारी गरिएका हरेक निर्देशनहरुलाई पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ । साथै मन्त्री परिषदमा वा मन्त्री परिषदका सदस्यहरुबीच भएको वा हुने कुनैपनि विवाद सञ्चारमाध्यम मार्फत अभिव्यक्त गर्ने वा गर्न लगाउन पनि आचारसंहिताले बन्देज लगाएको छ ।

त्यस्तै गण्डकी प्रदेशका मन्त्रीहरुलाई सरकारका नीति, कार्यक्रम र बजेटबिरुद्ध बोल्न बन्देज गरिएको छ । आचारसंहिताको २३ नम्बर बुँदामा भनिएको छ, ‘गण्डकी प्रदेश सरकारको आधिकारिक नीति तथा कार्यक्रम सरकारको प्रवक्तामार्फत मात्र सार्वजनिक गर्ने गराइनेछ ।’, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्