Logo
Logo

प्रदेश १ का १३ सांसद एमाले समाजवादी पार्टीमा



काठमाडौं । नेकपा एमाले विभाजनले प्रदेश १ सरकारलाई धक्का लागेको छ । एमाले विभाजन गरेर नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी नेकपा एमाले (समाजवादी) पार्टी दर्तामा लागि बुधबार नै निर्वाचन आयोगमा निवेदन दिइसकेको छ । पार्टी नेतृत्व विभाजित भएपछि त्यसको असर प्रदेश १ सरकारलाई परेको हो ।

प्रदेशका सांसदहरुलाई विभाजनतर्फ जान नदिने उद्देश्यले एमालेले भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउने कसरत थालेको छ । तर, आचार्यले मुख्यमन्त्री बन्ने चासो देखाएका छैनन् । प्रदेश १ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार आचार्यले अहिलेको अवस्थामा मुख्यमन्त्री नबन्ने भएको हो । नेपाल पक्षमा उभिएका अधिकांश सांसदहरुले नयाँ पार्टी रोज्ने संकेत पाएपछि आचार्य हच्केका हुन् ।

नवगठित नेकपा एमाले (समाजवादी)का नेता राजेन्द्र राईले आफ्नो समूहको सानो संख्याबाहेक सबै टिममै रहने दाबी गरेका छन् । प्रदेशमा अहिलेसम्म माधव समूहमा रहेकामध्ये नेता आचार्यसहित यशोदा अधिकारी, सावित्रा जोशी र सरिता थापा कुनै पक्षमा खुलेका छैनन् ।

अहिलेसम्म १३ जना सांसद माधव नेपालको नयाँ पार्टीको पक्षमा उभिने निश्चित भएको छ । राजेन्द्र राई, राजन राई, खिनु लङ्वा लिम्बू, कृष्णकुमारी राई, गणेश काङमाङ, सुनिता चौधरी, सावित्रा रेग्मी, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नेपाल समूहमा खुलेका छन् । त्यस्तै लक्ष्मण तिवारी, बलबहादुर साम्सोहाङ र होमकुमारी साँवा पनि खुलेको दाबी नेता राजेन्द्र राईले गरे । अहिले भारतमा रहेका अर्का सांसद् लिलाबल्लभ अधिकारी पनि टिममै रहने विश्वास नेपाल पक्षको छ ।

माधव समूहका नेता जीवन घिमिरेले पार्टी एकताको पक्षमा अझै पहल गर्ने बताएका छन् । ‘दोस्रो पुस्ताका नेताहरुसहित हामी सामूहिक निर्णयमा पुग्नेछौँ,’ उनले भने ‘विभाजनमा लागे पनि, जे निर्णय गरे पनि हामी सामूहिक निर्णय लिनेछौँ ।’

एमालेबाट विभाजन भएर नेकपा एमाले समाजवादी पार्टी दर्ताका लागि लागि निर्वाचन आयोगमा पुगेको माधव नेपाल समूहमा कम्तिमा प्रदेश १ का १५ सांसद रहने उक्त समूहको दावी छ । यो संख्याले नयाँ पार्टी रोजेको खण्डमा एमाले नेतृत्वको एकल बहुमतको सरकार ढल्नेछ ।

प्रतिक्रिया दिनुहोस्