Logo
Logo

ओलीको गन्तव्य पश्चिम बंगाल



ग्रीक दार्शनिक अरस्तुले राजनीति र राजनीतिकर्मीको कर्मलाई मसिनो गरी व्याख्या गर्ने क्रममा धेरैपटक दोहोर्याएको सन्दर्भ हो, नैतिक चरित्रको कुरा । धेरै विधाका महान् ज्ञाता अरस्तुले सत्यमा टेकेर निश्चित ध्येयका साथ कसैसँग नडराई, स्वयम् आफूलाई पहिला विजय प्राप्त गरी जेहादमा निस्किएको कसैले पनि युद्धमा पराजय भोग्नु पर्दैन भनेर तत्कालीन ग्रीक साम्राज्यका अधिपतिहरुलाई दिएको प्रवचन नेपालका कम्युनिष्टहरुले पनि पढ्नु सान्दर्भिक हुने देखिन्छ ।

अरुलाई जित्न निस्किएको मानिसले आफ्नो विवेक र ज्ञानमाथि होस् या इन्द्रियहरुमाथि नियन्त्रण गुमाउँदै गयो भने, उसको शक्ति क्षय हुँदै जान्छ भन्ने दृष्टान्त हाम्रै आँखा अगाडि छन् । विजयको सानो टाकुरो उक्लने वित्तिकै मानिसमा पैदा हुने उन्माद र दम्भले दुईतिहाइको सत्ता तासको घरजस्तै ढलेको उदाहरण हाम्रै अगाडि भर्खरै देखियो । समाजका तमाम वर्गीय उँचनिचको खाडल सम्याउन हिंडेकाहरु लोभ र लाभमा फँसेर फेरि अर्को डरलाग्दो अँध्यारो सुरुङ प्रवेश गरेकाहरु कम्युनिष्ट भइरहन सक्छन् कि सक्दैनन् ? बडो सोचनीय प्रश्न छ ।

आज हेर्नोस्, अफगानिस्तान कट्टरपन्थी पुस्तुन लडाकुहरुको संगठन तालिवानले कब्जा गरेको छ । महिलाहरुलाई दास ठान्ने, मुस्लिम धर्म बाहेक बाँकी बिधर्मीहरुप्रति असाध्यै क्रूर व्यवहार गर्ने र धर्मका नाममा कुकृत्य गर्ने यो समूहले अमेरिकी सेना फिर्ता गएसँगै छोटो समयमै सत्ता कब्जा गर्न सफल भएको छ ।

कुनैबेला अफगानिस्तानमा मुस्लिम कट्टरपन्थीहरुको पन्जाबाट मुक्त गरेर अफगानीहरुलाई अन्य देशको दाँजोमा पुर्याउन महिलालाई उच्च शिक्षाको बन्दोबस्त मिलाउने, व्यवस्थित नगरको योजना र आर्थिक रुपमा दीर्घकालीन काम गर्ने कम्युनिष्टहरुले शासन चलाएका थिए भन्ने कुरा इतिहास मात्रै भएको छ ।

सोभियत संघको आडमा फैलिएकै भएपनि मुस्लिम कट्टरपन्थ भन्दा कम्युनिष्ट शासन धेरै हिसाबले उत्कृष्ट थियो भनेर इतिहासकारहरुले लेखेका छन् । व्यवस्थित नगर, बाटोघाटो र नारी पुरुषको हक हित जस्ता विषयमा राम्रै प्रगति भएपनि आफू आफूकै झगडाले अफगानिस्तानमा कम्युनिष्टहरुको अधोगति शुरु भएको हो । अहिले भूमिगतकालीन अवस्थामा औंलामा गन्न सक्ने अवस्थामा छन् त्यहाँ कम्युनिष्टहरु ।

कम्युनिष्ट शासकहरुले आफ्नो प्रतिस्पर्धामा आउने अरु कम्युनिष्टहरुलाई छानी–छानी मार्न थालेदेखि नै जनतामा वितृष्णा पैदा हुँदै गएको थियो । तालिवानको बर्बर शक्तिको अगाडि कम्युनिष्ट संगठनको निम्ति जोखिम मोल्न तयार प्रगतिशील शक्तिहरु सम्भवत जन्मनै बाँकी हुनसक्दछ अफगानिस्तानमा ।

वर्षौसम्म नेतृत्व हस्तान्तरण गर्न नचाहने, कोरा सैद्धान्तिक गफमा गरिब जनताको व्यापार मात्रै गरिरहने, सिद्धान्तका चर्का भाषण र उखान टुक्काको शैलीले अन्ततः नेपालका कम्युनिष्टहरुलाई पुर्याउने ठाउँ भनेको पश्चिम बंगाल नै हो ।

अफगान सन्दर्भ होस् या अरस्तुको सन्दर्भ होस्, खास कुरो जनतासँगको सम्बन्धको हो । नेपालका कम्युनिष्टहरु बिग्रिएर अहिले गन्हाइरहेका छन् । जमीनसँगको सम्बन्ध टुटेको छ । हिजो सुकुम्बासी र गरिबका झुप्रामा संगठन गर्दै हिंड्नेहरु सुकिला मुकिला भएर अर्बपति भएका छन् । जब जनता र जमीनसँग सम्बन्ध छुट्छ तब, राजनीतिले नचिताएको र नसोंचेको मोड लिनसक्दछ । सूचना र संचारको प्रविधिले मानिसहरुको चेतनाको स्तर बढेको छ । नेताले गरेको बदमासी सजिलै बुझ्ने ल्याकत राख्दछन्, आजका नेपाली जनता ।

जनतासँग सियो पनि नलिनू भनेर सिकाएका हिजोका कम्युनिष्टहरुले मारवाडी व्यापारीलाई आर्थिक सल्लाहकार, मारवाडीकै घरमा कम्युनिष्ट पार्टीको कार्यालय खोलेको र दलाल पूँजीपति, जग्गा दलाल, माफियासँग मिलेर देश खोक्रो बनाएको यही आँखाले देख्नुपरेको छ । दुई नम्बरी काम गरेर छिटो करोडपति बन्ने अभियानमा लागेका बिचौलिया, दलालहरुको घेराबन्दीमा घेरिएपछि कम्युनिष्ट अब कम्युनिष्ट रहेन, ऊ जनताको रहेन ।

एमालेभित्रको यो घर झगडाको दीर्घकालीन असर सिंगो नेपाली सर्वहारावादी आन्दोलनमा पर्नेछ । यो कुरामा ओली समूहको पटक्कै चेत खुलेको देखिन्न । चोइटिएर जानेहरु वामदेव हुन्छन् भन्ने स्कूलिंग वडा कमिटीसम्म पुर्याइएको छ । यहाँनेर सोंचनीय कुरा के छ भने वामदेवकालीन ‘चेन अफ कमाण्ड’ के अझै एमालेमा जीवित छ त ? नेताहरु स्वयम् सच्चिन नचाहने र एकोहोरो मेरो गोरुको बाह्रै टक्काको शैलीमा असहमतहरुलाई भित्तामा पुर्याउन लागिपर्ने हो भने अब आउँदा दिनहरुमा नेपालका कम्युनिष्टहरुको अधोगति सुरु हुनेछ ।

वर्षौसम्म नेतृत्व हस्तान्तरण गर्न नचाहने, कोरा सैद्धान्तिक गफमा जनताको गरिबीको व्यापार मात्रै गरिरहने र सिद्धान्तका चर्का भाषण र उखान टुक्काको शैलीले अन्ततः नेपालका कम्युनिष्टहरुलाई पुर्याउने ठाउँ भनेको पश्चिम बंगाल नै हो ।

यो सम्भावित विघटनको लागि सबैभन्दा पहिलो कर्म भनेको नेतृत्वमा रहने मानिसको सफेद चरित्र नै हो । बोली र व्यवहारको एकात्मकता नै हो । निश्चित जिम्मेवारी पूरा गरेपछि अर्कोलाई जिम्मेवारी छोडेर आफू अर्को लाइनमा भित्री मनैदेखि सहयोगी रहनु नै हो । पूँजवादी मुलुकहरुमा समेत गजब अभ्यासमा रहेको यो राजनीतिक चरित्र राजनीतिक सिद्धान्तका संसारका ठेली भनिदिन सक्ने नेपालका विद्वान, नेता कसैमा पनि देखिएन । उही र उस्तै खेलको पुनरावृत्ति भैरहनु पोखरीमा पानी जमे जस्तै हो । बगिरहने र छाल उठिरहने पानी जति सफा हुन्छ एकैठाउँ जमेको पानी फोहर हुन्छ ।

नेपालको राजनीतिको पोखरी यस्तै दुर्गूणहरुको कारण फोहर छ । जसले सफा गर्न खोज्दछ, उसको नियति राजनीतिको मियोबाट हुत्तिएर किनारमा पुग्नु नै हुन्छ । अहिले खड्गप्रसाद ओलीहरुले माधव नेपाललाई राजनीतिको मैदानबाट हुत्याएर किनारमा पछार्न खोजे जस्तै । मुखमा रामराम, बगलीमा छूरा बोकेको समूह कसैगरी पनि माधव नेपालहरुलाई हुत्याउनमै तल्लिन भए ।

आफूले राजनीतिका सबै नियमहरु तोड्नु न्यायसँगत हुने । तर, अरुले भने सबै नियम पालन गरिरहनुपर्छ भन्ने गैर राजनीतिक तर्कले हुने भनेको विनाश नै हो । यति धेरै अपमान र गाली सहेर पनि एकताको निम्ति आवाज उठाउने माधव नेपालहरुलाई एमालेले गलहत्यायो । त्यसको ठूलो मोल आगामी दिनमा चुक्ता गर्नुपर्ने हुन्छ ।

छूरा जस्ता मुख भएकाहरुको लागि अरुको आदर र सम्मान भन्दा गालीगलौज नै प्यारो लाग्ला तर राजनीतिको सूई सधै एकनासको त हुँदो रहेनछ त । आफूलाई बादशाह ठानेका ओली ढल्दै ढल्दै कहाँ पुगिसकेका छन् ? फेरि दुई तिहाई जितेर सत्ताको केन्द्रमा आउँछु भन्नु मिथ्या भ्रम मात्र हो ।

अहँकार र घमण्डलाई त्यागेर आफूले नेतृत्व छोडेको भए नेपालको एकीकृत कम्युनिष्ट आन्दोलनलाई जोगाइराख्न केही मद्दत पुग्दथ्यो । जसका लागि खड्ग ओलीले एमालेको नेतृत्वबाट विदा लिनुपर्ने थियो । बाँकी नेतृत्व महाधिवेशनले छान्ने थियो । सर्वोच्चको फैसलालाई समेत लत्याएर राम बहादुर थापाहरुलाई रातो कार्पेट बिछ्याउने ओलीले माधव नेपालहरुलाई गलहत्याएर जल्दोबल्दो एमाले बनाउने सपना देख्नु बिल्कुल भ्रम हो ।

सहमति र समझदारीमा पार्टीको आगामी बाटो पहिल्याएर अघि बढेको भए कम्युनिष्टहरु रहन्थे नेपालमा । विघटनको प्रकृया शुरु भइसकेको छ र यसले तिब्र गतिमा निरन्तरता पाउनेछ । समाज निकै गतिशील लयमा अगाडि बढिरहेको छ । दुःखी गरिबका गीत गाएर धनी बनाउनको लागि अबको मेरो छोरा पुस्ताले किन आफ्नो जीवन बर्बाद गरोस् ?

के कसैले यो विन्दूबाट सोंचेको थियो ? साेंचेको छ ? सबैतिरबाट निराशा भएपछि मानिसले जस्तोसुकै कदम पनि चाल्न सक्दछ भन्ने कुरा त बागीहरुका कामबाटै थाहा हुन्छ । एकतामा जति शक्ति छ विभाजित हुँदा छैन भन्ने सामान्य कुरा पनि देश चलाउन माथि पुगेका नेताहरुले बुझेनन् । यिनीहरु खुर्मुरिएर खसेकै ठीक भन्ने निर्णयमा पुगे । दुर्भाग्य यो नै हो ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्