Logo
Logo

खैराना सामुदायिक वनबाट अवैध काठ बरामद, तस्कर फरार


हिक्मत बम


धनगढी । कैलालीको गोदावरी नगरपालिका– ४, खैराना सामुदायिक वनबाट अवैध सालको काठ बरामद गरिएको छ । शनिबार राति २०/२२ जनाको समूहले २४ कडी काठ वनबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरिएको हो ।

विशेष सूचनाका आधारमा वनका पदाधिकारीसंगै पुगेको डिभिजन वन कार्यालय धनगढीको टोलीले रातिको ९ बजेको समयमा उक्त काठ वन क्षेत्रबाट बरामद गरेको जनाएको छ ।

काठ बरामद गरिएपछि तस्कर भने भाग्न सफल भएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख राम चन्द्र कडेलले दुष्टि न्युजलाई जानकारी दिए ।

उनले बरामद गरिएको काठ वनका अध्यक्षको जिम्मा लगाएर राखिएको र सोमबार मात्रै ती काठ धनगढी वन कार्यालयमा ल्याइने बताए ।

काठ बोक्न प्रयोग गरिने डोरी, कपडा, तन्ना, सब्बल लगायतका सामग्री पनि बरामद गरिएको छ । वनको टोली पुग्ने वितिकै तस्करहरु काठ छोडेर भागेकाले उनीहरुमध्ये कसैलाई पनि समात्न नसकिएको टोलीमा सहभागि सामुदायिक वनका एक पदाधिकारीले जानकारी दिए। उनले रातको समय भएकाले चिन्न पनि नसकिएको बताए ।

सामुदायिक वनका अध्यक्ष गोरख खड्काले तस्करहरुको समूहले दैनिक जसो वनमा काठ काट्ने गरेको भएपनि पक्राउ पर्न नसकेको बताए। ‘त्यो सबै हाम्रै वन भित्रको काठ हो’ उहाँले भन्नुभयो, ‘तस्करहरुले दैनिक २/३ रुख ढालिरहेका छन । फेला पर्दैनन् । के गर्ने ?’

वनका कर्मचारीले भगाए तस्कर
स्थानीयले पछिल्लो समय वन फडानीसंगै काठ तस्करीका गतिविधिहरु बढ्दै गएको बताएका छन् । उनीहरू भन्छन्— शनिबार राति काठ तस्करी गर्दै गरेको अवस्थामा भरियाहरु त फेला परेका थिए । तर वनका कर्मचारीको मिलेमतोमा उनीहरुलाई भगाइयो ।

एक स्थानीयले नाम नबताउने सर्तमा भने कैलाली जिल्लाको वनजंगल वन कर्मचारीकै मिलेमतोमा फडानी हुँदैछ । वन कर्मचारीहरुको तस्करसंगको मिलेमतोमा वन फडानीसंगै काठ पनि तस्करी भइरहरेको छ ।

उनले यदि वन कर्मचारीको मिलेमतो नभएको भए शनिबार राति खैराना सामुदायिक वनबाट काठ तस्करहरु भाग्न कसरी सफभए भन्दै वन कर्मचारीकै संलग्नतामा काठ तस्करी भइरेहको बताए ।स्थानीयका अनुसार वनमा काठ तस्कर गर्ने भरिया मात्रै भएको र तस्कर भने अरुनै भएको बताउँदै आएका छन् ।

यस अघि पनि सो क्षेत्रमा पटक–पटक यसरी नै काठ बरामद हुने गरेको र काठ ल्याउने भरियाहरु काठ छोडेर भाग्ने गरेकोले जानकारी दिदै अर्का स्थानीयले भने ठेकेदारसंगको मिलेमतोमा ठेकेदारकै योजना अनुसार वनका कर्मचारीले काठको भरियाहरुलाई भगाउने गरेको र मुख्य तस्करसंग अझै पुग्न नसकेको बताए ।

चुरे क्षेत्रका नजिक जंगलमा डेरा बनाई अस्थाई बसोबास गरि काठ चिरान गरि तराईका लालपुर, खैराना र बास्कोटाको बाटो प्रयोग गरि दैनिक जसो काठ तस्करी हुने गरेको छ ।

इलाका वनको चरम लापरबाही र सामुदायिक वनको असक्षमताका कारण वन क्षेत्र सखाप भएको स्थानीयहरुको आरोप छ । यसरी बरामद गरिएका काठ पनि वन कार्यालय र सामुदायिक वनका अध्यक्षले मिलोमतोमा गायव पार्ने गरिएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्