Logo
Logo

घुमुवाको पावर गृहमन्त्रालयमा



काठमाडौं । नेपाल प्रहरीमा केही यस्ता कर्मचारी छन् जसको पद सानो भएपनि पावर भने ठूलो हुने गरेको छ । हाकिमहरुको विश्वास जित्ने र नेतालाई खुशी बनाउने त्यस्ता प्रहरीले आफु अनुकुल पोष्टिङ मिलाएर अकुत सम्पत्ति आर्जन गरेका छन् ।

त्यसमध्ये एक हुन् काभ्रेका टोपराज गिरी । जवान पदका उनी करिब एक दशकदेखि काभ्रेमा कार्यरत छन् । संघीय प्रहरी कार्यालय लामो समय घुमुवाका रुपमा काम गरेका उनले काभ्रे मात्र नभई सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप लगायत जिल्लामा समेत सेटिङ मिलाएर पैसा उठाउने गरेको खुलेको हो ।

उनले पैसा असुलेको पुष्टि भएपछि हाल प्रहरी प्रधान कार्यालयले छानबिन गरिरहेको छ । छानबिन प्रभावित पार्न उनै जवान गिरी गृहमन्त्री बालकृष्ण खाणकोमा पुगेका छन् । स्रोतका अनुसार काभ्रेका कांग्रेस नेता शिव प्रसाद हुमागाईमार्फत उनी गृहमन्त्रीसम्म पुगेर आफ्नो जागिर जोगाइदिन आग्रह गरेका छन् ।

प्रहरीले पक्राउ गरेका जुवाडेले आफुहरुले नियमित प्रहरीलाई पैसा बुझाउने गरेको बयान दिएपछि उनको घुसकाण्ड बाहिर आएको हो । जसमा प्रहरी मुख्यालयले समेत हालै छानबिन थालेर त्यसमा मुछिएका अधिकृतमाथि समेत सोधपुछ थालेको छ । तर, जवान गिरीलाई हालसम्म निलम्बन गरिएको छैन । पावरकै आधारमा उनलाई निलम्बन नगरिएको स्रोत बताउँछ ।

उता पत्रकारलाई लागू औषधमा फसाउन खोजेको खुलेपछि रौतहटका एसपी सिद्धिबिक्रम शाह संकटमा परेका छन् । उनका घुुमवाद्वय असइ उदय यादब र मनोज शाहले पत्रकार मोहम्मद मुजुबुल्लालाई फसाउन उनको मोटरसाइकलमा लागू औषध राखिदिएका थिए । छानबिनमा सो कुरा पुष्टि भएपछि असइ र जवानलाई निलम्बन गर्न लागिएको छ भने एसपीलाई भने जोगाउने चलखेल भइरहेको स्रोत बताउँछ । सीसीटिभी क्यामेराका आधारमा प्रहरीको बदमासी प्रष्ट भएको हो । यो घटनाले प्रहरी संगठनमाथि नै अविश्वास प्रकट हुने वातावरण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्