Logo

कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याइने


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ, ६ वैशाख (रासस) ः कीर्तिपुर नगरपालिकाले त्यस क्षेत्रको स्थापना, सभ्यता, संस्कृतिलगायत इतिहासलाई समेटेर ‘कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याउने भएको छ । लिच्छिवीकालको उतराद्र्धमा करीब ११औँ शताब्दीमा शिवदृव तेस्रोले स्थापना गरेको उक्त स्थानमा पाइएका लिपी, शिलापत्र, ताम्रपत्र, थ्यासपुःको अध्ययनका आधारमा रहस्मय संस्कृतिको अनुसन्धान समावेश गरी कृति प्रकाशन गर्न लागिएको हो ।

नेपाल भाषा एकेडेमीले उक्त कृति प्रकाशनका लागि नगरपालिकासँग समन्वय र सहकार्य गरिरहेको छ । करीब रु १० लाखको लागतमा प्रकाशन गरिने कृतिमा स्थानीय मठमन्दिर, संस्कृतिसहितका सम्पदा, कीर्तिपुर तथा त्यस बरपर क्षेत्रमा बसोवास गर्ने क्षेत्री बाहुन, जनजाति, नेवार समुदायका परम्परा, रीतिरिवाजलाई समावेश गरिने नगरप्रमुख रमेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्राचीन समयमा काठमाडौँ उपत्यका कीर्तिपुरको भूगोल र सभ्यता पुरानो छ ।

यहाँको इतिहास र सांस्कृतिक धरोहरको महत्वलाई बाहिर ल्याउनका लागि कृति प्रकाशन गर्न लागिएको बताउँदै नगरप्रमुख महर्जनले कीर्तिपुरको थुम्कोमा बाघभैरवको प्रसिद्ध मन्दिर रहेको यसलाई कीर्तिपुरवासीको प्रतीक तथा सभ्यताको देवताका रुपमा मानिने बताउनुभयो ।

बाघभैरवका साथै उमामहेश्वर, नारायण, सरस्वती र इन्द्रायणी मन्दिरले धार्मिक रुपमा विशेष महत्व बोकेका छन् । काठमाडौँ उपत्यकाकै सबैभन्दा ठूलो ताल टौदह, पाँगा, चोभारजस्ता ऐतिहासिक शहर समेत यस क्षेत्रमा पर्छ । कृतिमार्फत मूर्त–अमूर्त कला, सामाजिक जीवन, भाषिक–सांस्कृतिक पहिचानलाई संरक्षण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गरिने छ ।

आधुनिक नेपाल एकीकरणका सन्दर्भमा गोर्खाका राजा पृथ्वीनारायण शाहले यस क्षेत्रमा पहिलोपटक विसं १८१४ मा, दोस्रोपटक विसं १८२१ मा र तेस्रोपटक विसं १८२२ मा लडाइ गर्नुपरेको थियो । यस शहरमाथि विजय प्राप्त गर्न गोर्खाली सेनालाई धेरै धन, जन र समय खर्चिनुपरेको इतिहास पाइन्छ । परम्परादेखि चल्दै आएको गाईजात्रा, गणेशजात्रा, कुमारीजात्रा, बाघभैरवजात्रा, इन्द्रायणीजात्रा, दशैं, तिहार यहाँको महत्वपूर्ण पर्व हुन् ।

गोपाल वंशको पालाका अवशेष प्राचीन तथा सांस्कृतिक महत्व बोकेको कीर्तिपुर शहरमा पाइएका कारण यस क्षेत्र प्राचीन शहर भएको विश्वास गरिनुका साथै सोही समयदेखि नै बस्ती विकास भइसकेको अनुमान गरिएको छ । किराँत, लिच्छवी, मल्लकालीन इतिहाससमेत कीर्तिपुरमा भेटिएको नगरपालिकाले जनाएको छ ।

संस्कृति, सङ्ग्रहालय, जात्रा, पर्व, गुठी र बाजागाजा सिकाउने ठाउँको रूपमा कीर्तिपुर परिचित छ । विसं २०५३ चैत १४ गते तत्कालीन आठवटा गाविस मिलाएर कीर्तिपुर नगरपालिका घोषणा भएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्प तथा त्यसपछिका पराकम्पका कारण क्षति पुगेको स्थानीय चिलंच्व विहार र आदिनाथ मन्दिरको पुरातत्व विभागले पुनःनिर्माण करीब सम्पन्न गरेको छ ।

नगरपालिकाले स्थानीय पाटीपौवा, सत्तल निर्माणका कार्य गरिरहेको छ । त्यस क्षेत्रको पूर्वाधार विकास तथा स्थानीय निर्माणका लागि विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरेका विज्ञहरूसहितको १३ सदस्यीय कीर्तिपुर विकास परिषद् गठन गरिएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणको नीतिभित्र रहेर बस्ती विकास गर्ने उद्देश्यले नगरपालिकाले जग्गाको प्लटिङमा रोक लगाएको छ । नगरपालिकाको २३औँ स्थापना दिवशका सन्दर्भमा प्राचीन बाद्यबाधनको संरक्षण गर्ने उद्देश्यले यही वैशाख ७ गते त्यस क्षेत्रका विभिन्न नौ समूहले धाःबजा महोत्सव गरिने भएको छ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले शुभारम्भ गर्ने उक्त महोत्सवमा साङ्गीतिक प्रस्तुति गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्