Logo
Logo

काबुल विमानस्थलमा भएको विस्फाेटकाे जिम्मेवारी आइएसले लियो



एजेन्सी । अफगानिस्तानको काबुल विमानस्थलनजिक बिहीबार राति भएको वम विस्फोटको जिम्मा इस्लामिक स्टेट खोरासन (आइएस–के)ले लिएको छ ।

उक्त विस्फोटनमा परी अहिलेसम्म कम्तीमा ९० जनाको मृत्यु भइसकेको छ भने एक सय ५० भन्दा बढी घाइते भएका छन् । अमेरिका र बेलायतले विमानस्थलमा आतंकवादी हमला हुन सक्ने चेतावनी दिएको केही दिनमा नै यो हमला भएको हो ।

यसअघि अमेरिका र बेलायतसहित अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्डलगायतका देशहरूले काबुल विमानस्थल हमलाको उच्च जोखिममा रहेको प्रतिक्रिया दिएका थिए ।

अफगानिस्तानको सत्तामा तालिबानले कब्जा जमाएसँगै यस्तो आक्रमण हुनसक्ने विश्लेषण गरिएको थियो । अझ पनि थप हमलाहरु हुनसक्ने बताइएको छ ।

अमेरिकी कमान्डरहरू अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको एक उच्च सैन्य अधिकारीले जनाएका छन् ।

इस्लामीक स्टेटले काबुल विमानस्थलमा सम्भावित रकेट वा सवारीसाधन प्रयोग गरी थप आक्रमण गर्न सक्ने अमेरिकाका सेन्ट्रल कमान्ड जेनेरल फ्र्याङ्क मकेन्जीले बताएको बिबिसीमा उल्लेख छ ।

अगस्ट १५ तारिखमा तालिबानले अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो । अहिलेसम्म काबुलबाट १ लादभन्दा बढी मानिसलाई अन्यत्रै लगिएको छ ।

अगस्ट ३१ तारिखमा अमेरिकी फौज फर्कनुअघि नै त्यहाँबाट बाहिरिनका लागि कैयौँ अफगानहरू विमानस्थल पुगिरहेका छन् । हालसम्म अफगानिस्तानबाट एक लाखभन्दा बढीको उद्धार गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्