Logo

बालुवाटार जग्गाबारे विष्णु पौडेलको प्रस्टीकरण, बर्दघाटको ८ कठ्ठा बेचेर बालुवाटारमा ८ आना किनेको हो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , ६ वैशाख

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले २०६१ सालमा नवलपरासीको बर्दघाटस्थित आफ्नो ८ कठ्ठा जग्गा बेचेर आएको रकमले बालुवाटारमा ८ आना जग्गा खरिद गरेको प्रष्ट पारेका छन् । उनले जग्गा किर्ते प्रकरणबारे सरकारले छानबिन गरिरहेको र त्यसको निश्कर्ष आफूलाई स्वीकार्य हुने जनाएका छन् ।

शुक्रवार साँझ एक विज्ञप्ति जारी गर्दै पौडेलले आफ्नो छोरा नवीन पौडेलको नाममा रहेको बालुवाटारस्थित कित्ता नं. ३०९ को क्षेत्रफल ०–०–१–१ र कित्ता नं। ३१५ को क्षेत्रफल ०–७–२–३ (कूल आठ आना) जग्गाका सम्बन्धमा जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेल पर्नेगरी प्रकाशित र प्रसारित समाचारहरूप्रति दुःख व्यक्त व्यक्त गरेका छन् ।

‘२०६१ पुस २९ गते काठमाडौँ महानगरपालिका वडा नं. ४, बालुवाटारस्थित उक्त ८ आना जग्गाको दर्ता श्रेस्ता सम्बन्धित मालपोत कार्यालयमा बिक्री गर्ने व्यक्ति उमा ढकाल र माधवी सुवेदीको नाममा कायम रहेको र प्रचलित कानूनबमोजिम सम्बन्धित कार्यालयले खरिद बिक्री गर्न मिल्ने एकिन गरी लिखत पारित गरी लाग्ने राजश्व लिई छोरा नवीन पौडेलको नाममा पास गरिदिएको तथ्य पुनः स्मरण गराउँदछु,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘२०६१ असोज २४ गते नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नं. १० मा रहेको मेरो श्रीमतीको नाममा रहेको ८ कठ्ठा जग्गा बिक्री गरी प्राप्त श्रोतबाट उक्त जग्गा खरिद गरिएको हो ।

महासचिव पौडेलले आफू मन्त्री सांसद वा कुनै पनि तहको जनप्रतिनिधिको जिम्मेवारीमा नरहेको बेला बर्दघाटमा श्रीमतीको नाममा रहेको जग्गा बेचेर बालुवाटारको जग्गा खरिद गरिएको प्रष्ट पारेका छन् ।

उनले आफ्नो सो जग्गाबारे २०६४ मा संविधानसभा सदस्य निर्वाचित भएपछि र त्यसपछि मन्त्री हुँदा पनि सम्पत्ति विवरणमा उल्लेख हुँदै आएको बताएका छन् । पौडेलले सरकारी जग्गा हडप्ने दुषित मनसायले कागज श्रेस्ता मिलाई कीर्ते गर्ने वा गराउने कार्यमा आफू र आफ्नो परिवारको प्रत्यक्ष अप्रत्यक्ष संलगन नरहेको र यस्तो अपराधन्जय गतिविधि सोच्न समेत नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्