माधव नेपालले जगाएको आशा « Drishti News – Nepalese News Portal
Logo

माधव नेपालले जगाएको आशा


लक्ष्मण देवकोटा


ईश्वरवादी चिन्तनको बोलवाला रहेको मुलुकमा राणाहरुको दबदबा रहेको बखत २००५ सालमै कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरेर मुलुकमा गणतन्त्र नभई दुःखी गरिबको मुक्ति हुँदैन भन्ने दूरद्रष्टा पुष्पलाल श्रेष्ठलाई स्वनामधन्य कम्युनिष्टहरुले जीवनभर खुइल्याइरहे । काँग्रेससँगको सहकार्य विना मुलुकमा परिवर्तन सम्भव छैन भन्ने उनको विचारलाई काँग्रेसी हठले कहिल्यै स्वीकारेन ।

गणेशमान सिंहजस्ता दूरदर्शी नेता काँग्रेसमा नहुँदा हुन् त पुष्पलालले देखेको सत्य सपना पूरा हुन सम्भव थिएन । नेपालको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्न कम्युनिष्ट बनेरै सही र सत्य विचारलाई स्थापित हुनै नदिने इतिहास पार्टीहरुभित्र देखिइरहेको छ । नेकपा एमाले भित्रको अन्तरसंघर्ष र माधव नेपालहरुको नयाँ पार्टी निर्माणको अभियानलाई पनि सोही सन्दर्भमा जोडेर हेर्नु उपर्युक्त हुन्छ ।

झट्ट हेर्दा खड्गप्रसाद ओलीको पार्टी एकतावद्ध गर्ने तमाम प्रयास, नेपाललाई नै छोडेर ओलीसँग मिल्न गएका बिचौलियाहरुको ठूलो मिहिनेतपछि पनि नेपालले नयाँ पार्टी निर्माण गरे भनेर जुन आरोप सार्वजानिक तवरमा लगाइएको छ, वास्तविकता त्यो भन्दा भिन्न छ । मूल कुरो त एमालेमा केन्द्रदेखि वडासम्म कब्जा जमाएर बसेको ओली गूटले पार्टीबाटै माधव नेपाललाई कुनै पनि हालतमा विस्थापन गर्न चाहन्थे । सतहमा एकताको बाजा बजाएर स्वर मच्चाइए पनि ओलीले चालेका हरेक कदमबाट सबैले देखेबुझेकै कुरा यही हो ।

वार्तामा गएका बिचौलियाहरुको ओलीसँगको मिलनको एउटैमात्र कारण हो, राजनीतिक भविष्य बिग्रने डरले गरिएको आत्मसमर्पण । माधव नेपाललाई उचाल्नुसम्म उचालेर अन्तमा थेचार्ने यी बिचौलियाहरु वास्तवमा न माधव नेपालका हुन्, न ओलीका । टालटुल गरेर पार्टीलाई एकता गर्ने नाउँमा केवल आफ्नो स्वार्थपूर्ति गर्ने अवसरवादी झुण्ड मात्रै हो यो समूह ।

श्रमिक वर्गको आन्दोलनको लामो यात्रामा यस्ता अवसरवादीहरु पहिलोपटक देखिएका होइनन् । छद्म रुपमा यो वा त्यो समूहमा बसिरहनुभन्दा यस्तो प्रवृत्ति उजागर भएकै राम्रो । दुई पटकसम्म संसदको कत्लेआम गर्नु ठिक थियो भनेर अड्डी कसेर बसेका ओलीसँग आत्मसर्मण गरेका अवसरवादी प्रवृत्तिहरु सबै पार्टीमा, समूहमा, समाजका हरेक अंगमा क्रियाशील छन् । सिंगो रुपमा यो प्रवृत्ति पनि एकीकृत भएर आन्दोलन अगाडि बढाउनमा वाधा दिने तत्व हो भनेर बुझ्नु नै तर्कसँगत हुनेछ ।

ओलीको नेतृत्वमा पार्टी र सरकार संचालन भएपछि विधि, पद्धतिको अवसान भएको त सबैले देखेकै हो । कुनै पनि कम्युनिष्ट पार्टी संचालनमा विधि विधानलाई कुल्चेर एकल नेतृत्वलाई बलशाली बनाउन थालिन्छ, ढिलोचाँडो त्यसको नतिजा भनेको पतन नै हो । एमालेको नेतृत्वले पछिल्लो बैठक गरेर ओलीकै हातमा तजबिजी सुम्पिएपछि ओली झन् आक्रामक, असहिष्णु र अराजक बन्ने खतरा भएको छ । यो अराजकताले एकातिर वैचारिक रुपमा पार्टीलाई टाट पल्ट्याउन सक्दछ ।

अवसरवादी, लोभी र स्वार्थीहरुको झूण्डले तावडतोड समर्थन गरेर घाँटी सुकाएपनि पार्टीमा लामो समयदेखि योगदान दिइरहेको पाको पुस्ता या त पलायन हुन्छ, या विकल्प खोज्नतिर लाग्दछ । अपमानित भएर कसलाई र किन पार्टीभित्र बसिरहनु भन्ने मानसिकताले अहिले असल कार्यकर्ताहरु चिन्तित भइरहेकाछन् । चैतेहरुकै बोलावालाको कारण काँग्रेसको संगठनमा महाभारत आएको हामीले ०४७ सालयता देखिरहेकै छाैं ।

अर्को विश्लेषण गर्नुपर्ने पक्ष के हो भने, विभाजनको सम्पूर्ण दोष केवल ओलीमात्रै हुन् भन्ने कुरा सही होइन । उनी त एक प्रवृत्ति हुन् । सँगगठन र विधि विघटन उन्मूख भएपछि उदाएका निमित्त नायक हुन् । पार्टीले लिएको बाटो सही हुन्थ्यो र पार्टीको नेतृत्वमा आफ्नो आदर्शप्रति इमान्दारिता हुन्थ्यो भने ओलीविरुद्ध बलियो जनमत नेतृत्वमै तयार हुन्थ्यो । त्यसो हुँदा जनताको बहुदलीय जनवादका नाममा एमाले भित्र हुर्किएको गूटगत प्रवृत्ति, मदन भण्डारीको सहानुभूति र मनमोहन अधिकारीको नौ महिनाको लोकप्रिय सरकारको विगत बचेरै पार्टी कतिदिनसम्म चल्ने हो भन्ने गम्भीर प्रश्न पैदा भएको छ ।

अबको नेपाली समाज कस्तो हुने ? कम्युनिष्ट पार्टी जनताबाट अनुमोदित भएपछि राज्य संचालन र वर्गीय पक्षधरताको हितमा कसरी अर्थतन्त्रको व्यवस्थापन गर्ने भन्नेबारे कुनै स्पष्ट दृष्टिकोण नभएकोले पनि ओली प्रवृत्तिको उदय भएको हो । त्यसैले जनताको बहुदलीय जनवादलाई केवल गूट र स्वार्थ समूहको सिद्धिको निम्ति मनलाग्दी भजाइनु पनि क्रान्ति, आन्दोलनप्रतिको बेइमानीको रुपमा बुझ्नुपर्दछ । अबको समाजवादी आन्दोलनलाई सही र स्पष्ट मार्गको निम्ति जबजको पुनःव्याख्या, संसदीय अभ्यासमा आइसकेपछिको अर्थतन्त्रको मोडेल र सम्प्रभूताको रक्षाको निम्ति लिइने बलियो अडानको स्पष्टता नभई जस्तोसुकै नेतृत्व आएपछि अन्तत व्यक्तिको लहडले सिंगो आन्दोलनलाई ध्वस्त बनाउन पुग्दछ ।

यदि, नेतृत्व यो कुराप्रति इमान्दार हुन्थ्यो भने पार्टीभित्र वर्गीय बहस नै विलुप्त भएर दलालहरुको रजगज चल्ने थिएन । यदि नेपालको समाजवादी क्रान्तिलाई पुनःजागरणको बाटोमा लैजान माधव नेपालहरु कस्सिएका हुन् भने वैचारिक स्पष्टताको बहसलाई उजागर गर्नुपर्ने हुन्छ । जनताको बहुदलीय जनवादको रुपमा संसदीय अभ्यासलाई स्वीकार्दा प्राप्त भएका उपलब्धि, भएका नोक्सानी र अबको अपूर्णबाटोको विषयमा चर्चा नगरिएका विषयहरुलाई समेटेर सैद्धान्तिक, वैचारिक स्पष्टता नभई पार्टी संगठन हुनसक्दैन ।

जनताको बहुदलीय जनवादलाई पूर्णत जडसुत्र बनाउन ओली गूट कम्मर कसेर लागेको छ । यो गूटले वैचारिक बहस चलाउनुभन्दा जबजकै नाममा जनतामा जान सजिलो हुने भएकैले यसमा अरु थप बहस हुन दिनेपनि छैन । तर, विचार गतिशील छ । स्वयम् जबजको न्यूनतम अवधारणा, जनताको जनमतको कदरसमेत नगरी संसदको दुई–दुई पटक हत्या गर्नेहरुबाट जबजको रक्षा हुन्छ भनी सोंच्नु अर्को मूर्खता हुनेछ । बरु वैश्विक युग हो, यो वा त्यो आवरणमा यसको ब्यापार भने हुनसक्दछ ।

माधव नेपालहरुका निम्ति अर्को चुनौति छ, ६२÷६३ को आन्दोलनको उपलब्धिको रक्षा । संघीय गणतन्त्रको रक्षाभन्दा पनि केन्द्रीकृत मानसिकता, हिन्दू धर्मका नाममा मोदीपन्थको नक्कल गर्दै संघीयता, धर्मनिरपेक्षता खारेजीको मुद्दा एमालेले उठाउन सक्दछ । जुन पार्टीका संस्थापक पुष्पलालले नै गणतन्त्रको माग उठाउनुभयो, जुन पार्टीले पन्ध्र सालको निर्वाचन पूर्व नै संघीय शासनको अवधारणालाई अघि सार्यो । आफूलाई उसैको उत्तराधिकारी हुँ भनीठान्नेहरुले फेरि उही अवधारणाविरुद्ध बोल्ने उल्टो अभ्यासमा अब ओलीगूट पूर्णत लाग्नेछ ।

हिन्दू धर्मप्रतिको नेपाली समाजको आस्थालाई गलत रुपमा राजनीतिक फाइदाको निम्ति भजाउन यो गूट पूर्णत लाग्नेनै छ । कि त पार्टीको घोषणापत्रमै प्रष्ट उल्लेख गरेर सोही अनुरुप लाग्नु वेश, नत्र कम्युनिष्ट पार्टीको आवरणमा क्षणिक अवसरका निम्ति जुनसुकै मुद्दा उचाल्नु सिंगो आन्दोलनको निम्ति बेइमानी हो । यसविरुद्ध जनमत तयार गर्नु पनि वैकल्पिक शक्तिको रुपमा उदाउन चाहनेहरुका निम्ति ठूलो चुनौती हो ।

चुनौती देखेर डराउनेहरुले क्रान्तिको वेग सिर्जना गर्न सक्दैनन् । त्यो अर्थमा माधव नेपालले नेपाली कम्युनिष्ट आन्दोलनमा ल्याउन खोजेको नयाँ बहसमा आशा गर्ने ठाउँ छ । मुख्य कुरा पार्टीको विचार नै हो । वैचारिक स्पष्टता भयो भने एक्लै हिंडेको मानिसले पनि गन्तव्य हासिल गर्न सक्दछ । वैचारिक अस्पष्टताले ठूला–ठूला पार्टीको अवसान भएको नेपालमै देखिएको छ ।

अहिले प्रजा परिषद इतिहास भैसक्यो । विद्रोह र समाज परिवर्तनको वेगमा उदाएका युवाहरुले सुरु गरेको आन्दोलन नै त हो अहिलेको यतिधेरै संख्या भएको एमाले । छयालीस सालको आन्दोलनका केही वर्षसम्म दुई÷चार जना सांसद भएका माओवादीहरु एजेण्डाकै कारण संसदको मुख्य शक्ति बन्यो । त्यसैले संख्या थोरै हुनु पार्टी निर्माणको निम्ति कुनै वाधा व्यवधान होइन, भविष्यको बाटो स्पष्ट नहुनु सबैभन्दा ठूलो वाधा हो ।

जित्नेलाई सिंगो संसार छ । दलाल पूँजीपति, भ्रष्ट र कम्युनिष्टका नाममा अकूत सम्पत्ति कमाउने नवधनाढ्यहरुको कब्जामा गएको एमालेको विकल्पको रुपमा राजनैतिक कार्यदिशा समाते भने माधव नेपाल यो मुलुकको अर्को बलियो कम्युनिष्ट शक्ति बन्ने निश्चित छ । जनतामा यही एउटै आशा बाँकी छ ।

मदनपोखरा, पाल्पा

प्रतिक्रिया दिनुहोस्