Logo
Logo

तालिबानसँग नडराऊ भन्दै सडकमा निस्किए अफगान महिला



काठमाडौं । अफगानिस्तानमा तालिबानविरूद्ध महिलाहरू सडकमा निस्किएका छन् । बिहीबार अफगानिस्तानको पश्चिमी सहर हेरातमा दर्जनौं महिलाहरूले र्‍याली निकालेका हुन् ।

उनीहरुले ‘नडराऊ, हामी सबै सँगै छौं’, ‘शिक्षा, काम र सुरक्षा हाम्रा नैसर्गिक अधिकार हुन्’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए
भने र्‍याली प्रान्तीय गभर्नरको कार्यालयसम्म पुगेको थियो ।

द न्युयोर्क टाइम्सले हेरात अफगानिस्तानको उदार सहर हो। त्यहाँका हजारौं महिलाले विश्वविद्यालय गएका छन् भने दुई साताअघि तालिबानहरूले सत्ता कब्जा नगरूञ्जेल उनीहरू घरबाहिर विभिन्न काममा जान्थे उल्लेख गरेको छ ।

‘हामी तालिबानहरूलाई आफ्नो शक्ति देखाउन चाहन्छौं,’ प्रदर्शनको आयोजना गरेकी मारयामले भनिन्,‘हामी घरभित्रै बस्यौं भने हामी आफ्नो शक्ति देखाउन पाउँदैनौं तर तालिबानहरूले हामीलाई राजनीतिक र सामाजिक भूमिकाबाट हटाउन अरू प्रतिबन्ध लगाउन सक्छन्।’

तालिबानका एक जना नेताले बिबिसी पर्सियन सेवासँग नयाँ सरकारमा महिलाहरूलाई मन्त्रीस्तरको जिम्मेवारी नदिइने बताएको अर्को दिन हेरातमा प्रदर्शन भएको हो ।

‘यो प्रदर्शनको उद्देश्य तालिबानलाई सरकारमा महिलाको पनि सहभागिता गराऊ र महिलाबिनाको कुनै पनि सरकार लामो समय टिक्दैन भन्ने सन्देश दिनु हो,’ प्रदर्शन आयोजनामा सघाएकी मानव अधिकारकर्मी बासिराले भनिन्,‘हामी धेरै समय चुप लागेर बस्ने छैनौं।’

यसअघि सन् १९९६ देखि २००२ सम्म सरकार चलाउँदा तालिबानहरूले महिलालाई उच्च शिक्षा पढ्न दिने र बाहिर काम गर्न पाउने कुरामा प्रतिबन्ध लगाएका थिए । अहिले केही तालिबान नेताहरूले आफूहरूले महिलाको मानव अधिकारको रक्षा गर्ने बताए पनि धेरैले त्यो कुरा पत्याएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्