Logo
Logo

पन्जशिरमा तालीबान र विरोधी फौजबीच भीषण युद्ध



काठमाडौं । तालिबान र विरोधी फौजबीच अफगानिस्तानको पन्जशिर उपत्यकामा लडाइँ भइरहेको समाचारमा बताइएको छ । बिबिसीका अनुसार तालिबानले पन्जशिर उपत्यकाका केही भूभाग नियन्त्रणमा लिएको र विरोधी फौजलाई ठूलो क्षति पु¥याएको दाबी गरेका छन् । तर, विरोधी फौजले उपत्यकाका सबै प्रवेशद्वार आफ्नो नियन्त्रणका रहेको बताउँदै सयौँ तालिबान लडाकु मारिएको दाबी गरेको छ ।

पन्जशिर उपत्यका अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिन नसकेको एक मात्र प्रान्त हो र त्यहाँ हजारौँ तालिबान विरोधी लडाकु जम्मा भएको मानिएको छ । अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्ला सालेहसहित अफगान सुरक्षा बलमा पूर्व लडाकु र स्थानीय लडाकुहरू रहेको विरोधी फौजको नेतृत्व स्थानीय नेता अहमद मसूदले गरिरहेका छन् ।

मसूदका बुवा अहमद शाह मसूदले सन् १९८० को दशकमा सोभियत सङ्घको फौज र सन् १९९० को दशकमा तालिबानलाई पन्जशिर उपत्यकाका छिर्न दिएका थिएनन् । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले वार्ता असफल भएपछि लडाकुहरू पन्जशिर उपत्यकामा प्रवेश गरेको बताएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

बीबीसी पर्सिअनका अनुसार विरोधी फौजका प्रवक्ता फाहिम दाश्तीले दुई पक्षले एकदमै फरक अडान लिएका कारण वार्ता असफल भएको बताएका छन् । उनले दुई स्थानमा तालिबानसँग लडाइँ भइरहेको र ३५० तालिबानको मृत्यु भएको दाबी गरेका छन् । तालिबान लडाकुहरूले प्रहरी र सरकारका पूर्वअधिकारीहरूलाई खोजी खोजी हत्या गरिरहेको विवरण आएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा भएको बम आक्रमणमा घाइते सैनिकहरूलाई भेटेका छन् । सो आक्रमणमा मारिएका १७० जनामध्ये १३ जना विदेशी र अफगान नागरिकहरूको उद्धार उडानमा सहयोग गरिरहेका अमेरिकी सैनिक थिए ।

बाइडनले अमेरिकी सेनाले अफगानिस्तान छोडेको चार दिनपछि सो भ्रमण गरेका हुन् । अगस्ट १५ मा तालिबानले पश्चिमा देशहरूको समर्थन रहेको सरकारलाई गिराउँदै अफगानिस्तानको सत्तामाथि नियन्त्रण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्