जसले गाएरै दुनियाँ जगाए « Drishti News – Nepalese News Portal
Logo
कला/साहित्य

जसले गाएरै दुनियाँ जगाए


एमपी सुब्बा


भनिन्छ, ‘मरिसकेपछि मात्र गुणगान गाउने परम्परा नै बनिसकेको छ ।’ यही परम्पराबाट अछुतो रहेनन्, वरिष्ठ जनगायक जुठबहादुर खड्गी (जेबी टुहुरे) पनि । हामी नेपाली ‘बाँचुञ्जेल मान्छे चिन्दैनौँ, मरेपछि प्रशंसा गरेर थाक्दैनौँ ।’ यस्तै, जब अस्ताए जनगायक जेबी टुहुरे, तब उनको चर्चा गरिँदैछ यहाँ । अहिले भन्छौँ, ‘फेरि अब हामी पाउने छैनौँ जेबी टुहुरेहरु, जसले जनताकै लागि जीवन समर्पण गरोस् ।’

हो, अब टुहुरे न देशले पाउनेछ, न जनताले नै । जनताका सुख दुःख र पीडालाई गीतमार्फत बुलन्द गर्दागर्दै ७८ वर्षको उमेरमा जेबी टुहुरे आफ्ना जनसमर्पित गीतहरु छाडेर यो धर्तीबाट अस्ताए । जनताका गीत गाउने, जनवादी गीतसंगीतमै आफ्नो पूरै जीवन समर्पित गर्ने व्यक्ति । जो, शोषण, अत्याचारको विपक्षमा, लैंगिक समानता, सामाजिक, जातीय, आर्थिकलगायत हरेक पक्षमा समानता हुनुपर्छ भन्ने विचाराधारा राख्थे जेबी टुहुरे । तर, उनै जनगायक वितेर गएपछि मात्र यहाँ चर्चा गरिँदैछ ।

यो आलेख तयार गरिरहँदा टुहुरेको एउटा भनाइ स्मरण गर्न मन लाग्यो । २०५७/५८ तिर हुनुपर्छ । जेबी टुहुरेसँग पहिलोपटक पुतलीसडकस्थित वरिष्ठ गायक शम्भु राईको श्रद्धा स्टुडियोमा भेट भएको थियो । उनको गायनयात्रा र जीवनलाई नियाल्नेक्रममा एक प्रशंगमा त्यतिखेर भनेका थिए, ‘जीवन नगद होइन । जन्मँदै जीवनमा उधारोमा लिएर आएका हुन्छौँ । त्यसैले जीवनलाई नगदी हिसाबमा म राख्दिनँ ।’

वरिष्ठ जनगायक टुहुरेको जीवनको आधा शताब्दीभन्दा धेरै समय नेकपा एमालेसँग जोडियो । उनी एमालेको जनसांस्कृतिक मञ्चका अगुवा कलाकार थिए । तर, उनी माओवादी मुख्यालय, पेरिसडाँडामा कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम विदाई भए ।

‘आमा दिदी बहिनी हो, कति बस्छौँ दासी भइ’जस्ता महिला मुक्तिका गीत गाएका टुहुरेको नेकपा एमालेमा मन भाँचिएपछि माओवादीमा प्रवेश गरेका थिए । उनी एमालेकै ‘दास’ बन्न चाहेनन् । र, २०६६ सालमा एमाले त्यागेर माओवादी प्रवेश गरे । त्यो बेला उनले भनेका थिए, ‘एकजना बसाइँ जाँदैमा गाउँ रित्तिँदैन ।’ उनका ती भनाइमा पनि एमालेप्रति चित दुखाइ प्रष्ट हुन्थ्यो । उनैले गाएका थिए, ‘बसाइँ हिँड्नेको ताँतीले’जस्तो जनप्रिय गीत ।

नेपाली कम्युनिष्ट आन्दोलनको कुरा गर्दा जेबी टुहुरेको नाम छुट्याउन मिल्दैन । विशेषगरी नेपालमा कम्युनिष्ट पार्टीहरु छत्ताछुल्ल भएको अवस्थामा एमालेलाई संगठित गर्नेमा जेबी टुहुरेको नाम बिर्सन हुन्न । ‘आमा दिदी बहिनी हो’, ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘चौंरी चर्ने ठाउँ’, ‘दुःखको भोज’, ‘रातको अनिँदो’ जस्ता थुप्रै प्रगतिशील गीतहरु जेबी टुहुरेले गाए । ती गीतहरु जनताको मन मनमा गञ्जिरहेका छन् । यिनै गीतहरू सुनेर धेरै मानिस कम्युनिष्ट बने । अर्थात्, नेकपा एमाले ठूलो पार्टी बन्यो ।

आफ्ना गीत संगीतमा जनताका समस्या, दुःख, पीडा, पीरमर्कालाई विषयवस्तु बनाउने जेबी टुहुरेका गीतमा वर्गीयप्रेम, राष्ट्रप्रेम र विद्रोह झल्कन्छन् । जनताको पीडा गाउने जेबी दाइको जीवन सरल थियो । दुःख र अभाव सँगै थिए । मूलतः आफ्नो पसिनाले सिञ्चित गरेको पार्टी नेकपा एमालेमा टुहुरो महसुस गरेरै उनले माओवादी रोजे ।

मध्यम वर्गीय परिवारमा २००१ सालमा धरानको पुरानो बजारमा जन्मिएका उनी बुबाको निधनपछि आफू टुहरो भएको भन्दै सांकेतिक रुपमा नामको पछाडि ‘टुहुरे’ लेखे । सानैदेखि गीत गाउन रुचाउने टुहुरले वि.सं २०१० बाट सांगीतिक यात्रा सुरु गरेका थिए । सुरुमा उनी सबैखालका गीत गाउँथे ।

वि.सं २०२० देखि कम्युनिस्ट विचारधारासँग नजिक भएर उनले जनताका गीत लेख्न र गाउन थाले । जनताको पक्षमा करिब पाँच दशक गीत गाएका जेबी टुहुरेले आफूलाई राजनीतिज्ञभन्दा प्रगतिशिल गायक तथा कलाकारकै रुपमा चिनाउँथे ।

नेपाली कम्युनिष्ट आन्दोलनको कुरा गर्दा जेबी टुहुरेको नाम छुट्याउन मिल्दैन । विशेषगरी नेपालमा कम्युनिष्ट पार्टीहरु छत्ताछुल्ल भएको अवस्थामा एमालेलाई संगठित गर्नेमा जेबी टुहुरेको नाम बिर्सन हुन्न । ‘आमा दिदी बहिनी हो’, ‘बसाइँ हिँड्नेको ताँतीले’, ‘चौंरी चर्ने ठाउँ’, ‘दुःखको भोज’, ‘रातको अनिँदो’ जस्ता थुप्रै प्रगतिशील गीतहरु जेबी टुहुरेले गाए । ती गीतहरु जनताको मन मनमा गञ्जिरहेका छन् । यिनै गीतहरू सुनेर धेरै मानिस कम्युनिष्ट बने ।

पञ्चायतकालमा जेबी टुहुरे एमालेलाई सघाउँदै देशभरि गीत गाउँदै हिँडे । ०४६ सालको परिवर्तनपछि एमालेलाई जनताको मनमा स्थापित गर्न टुहेरेको ठूलो योगदान छ । जनतामा जनवादी चेतनाको बिगुल फुक्न उनी पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हिँडे । तर, एमालेले जनताको मुद्धा छोड्दै गएपछि अन्त्यमा उनले पनि एमाले छोडे । माओवादी प्रवेश गरेपछि २०७० सालमा उनी संविधानसभा सदस्य भए ।

प्रगतिशिल गीत गाउँदा पञ्चायतकालमा हिरासत र यातना भोगे तर हार मानेनन् । २०६२/०६३ को परिवर्तनसम्म गीतमार्फत जनतामा चेतना जगाउन निन्तर लागिपरे । पछिल्लो समय परिवर्तनका लागि लडेका व्यक्तिहरु सत्तामा हुँदासमेत जनताले परिवर्तनको महसुस गर्न नपाएको उनको दुखेसो थियो ।

माक्र्सवाद, लेनिनवाद, माओवाद र मदन भण्डारीले अँगालेको जनताको बहुदलीय जनवादको सिर्जनात्मक प्रयोगमा कसरी हिँड्ने भनेर जनकलाकारहरूलाई सिकाउँथे जेबी टुहुरे । देश समृद्ध बनाउने, गाँस, बास, कपास, शिक्षा, रोजगारलगायत सबैमा सबैको समान पहुँच हुनुपर्छ भन्ने उनको चाहना थियो ।

आर्थिक समृद्धि हुँदै समाजवादसम्म कम्युनिष्टको लक्ष हो । त्यसै लक्ष्यको एउटा यात्री थिए जेबी टुहुरे । तर, कम्युनिष्ट माआएको विचलनले समाजवादसम्म पुग्ने कम्युनिष्ट सपना अपुरो छ । कम्युनिष्ट विग्रह र विचलनको अवस्थामा पुगेकै बेला टुहुरे पनि अस्ताए । यो एक संयोग मात्र हो ।

कम्युनिष्ट गीत गाउन थालेपछि उनी काठमाडौं बस्न थाले । पारिजात, रामेश, रायन, मंजुल, अरिमलगायतले राल्फा आन्दोलन सुरु गरिसकेका थिए । उनीहरुसँगको संगले टुहुरेलाई कम्युनिष्ट बनाएको थियो । तर, त्यो समय कम्युनिष्ट पार्टी छिन्न–भिन्न थिए । २०२५ सालमा पूर्व कोशी प्रान्तीय कमिटीको सदस्यता पाएका टुहुरेलाई दधिराम आचार्यले पार्टी सदस्यता दिएका थिए । त्यो बेला नै उनले ‘बसाइँ हिँड्नेको ताँतीले’ गाएका हुन् ।

जेबी टुहुरेको निधनले राष्ट्र, जनता र देशमा अपूरणीय क्षति भएको छ । जनताका लागि लड्ने, जनता जगाउने, देश बनाउने, जनताको सधैँ भलो चाहने, जनताको प्रिय जनगायक र एउटा आदर्श व्यक्ति गुमाएका छौँ ।

जेबी टुहुरेको निधनले एक प्रगतिशील गायकमात्र नभएर देशभक्तिले ओतप्रोत सच्चा नागरिक देशले गुमाएको छ । उनको निधनमा कम्युनिस्ट पार्टीले मात्र सच्चा कार्यकर्ता गुमाएको छैन, सिँगो राष्ट्रले देशका लागि चेतना दिने व्यक्ति गुमाएको छ ।

जेबी टुहुरेजस्ता कलाकार, जो जनताकै लागि जीवन समर्पण गर्ने कलाकार सायद अब पाउन मुस्किल हुनेछ । राजनीति, सामाजिकलगायत हरेक हिसाबले उनी अब्बल थिए, जनताका प्रिय थिए । एक किसिमले भन्ने हो भने जेबी टुहुरे सांस्कृतिक धरोहर थिए । उनी अस्ताए पनि उनले कोरेका सांस्कृतिक गोरेटो र डोर्याएको चिन्तन र विचारलाई आत्मसाथ गर्न सके नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको विचलनमाथि मलमपट्टी बन्नेछ ।
हार्दिक श्रद्धासुमन जेबी दाइ !

प्रतिक्रिया दिनुहोस्