Logo
Logo
कला

मलाई संगीतको नशा लागिसक्यो



थोरै कलाकार छन्, जो मोफसलमै बसेर संघर्ष गर्छन् । तीमध्ये एक हुन्, मोडल तथा गायिका हेमुस्मृति चोङबाङ । हेमुस्मृति सानैदेखि गाउन भनेपछि हुरुक्कै हुन्थिन् । त्यही रहर र इच्छा पूरा गर्नेक्रममा २०७२ सालदेखि उनी गायनमा सक्रिय छिन् । तर, उनी काठमाडौं एकदमै कम आउँछिन् । कलाकारिता गर्न संघीय राजधानी काठमाडौंमै बस्नुपर्छ भन्नेहरुका लागि उनी एक चुनौती हुन् । ‘मेरो संघर्ष र मिहिनेत गर्ने थलो धनकुटा नै हो’ हेमुस्मृति भन्छिन्, ‘रेकर्डिङका लागिमात्र काठमाडौं आउने गरेकी छु ।’ उनी हरेक प्रकारका गीत गाउँछिन् । धनकुटामै बसेर हेमुस्मृतिले तीन दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । मोडलिङबाट कलाकारिताको ‘करिअर’ प्रारम्भ गरेकी हेमुस्मृतिले ‘मनको तारा’(२०७२) एल्बम ल्याएपछि संगीतलाई व्यवसायीक रुपमा अँगालेकी हुन् । गायिका तथा मोडल हेमुस्मृतिसँग एमपी सुब्बाको जम्काभेट :


तपाईंको दिनहरु कसरी बित्दैछ ?

कोरोना महामारीले खासै बाहिर हिँडेकी छैन । लकडाउन खुकुलो भएपनि संक्रमणको त्रास कायम भएकाले घरमै बस्दै आएकी छु । यही अवधिमा एउटा ‘पालाम’ तयार भएको छ । चाँडै रिलिज गर्ने सोचमा छु ।

लिम्बू भाषाका गीत पनि गाउनुहुन्छ ?

म सबै प्रकारका गीत गाउँछु । आधुनिक, लोकगीतदेखि लिम्बू भाषाका पालाम पनि गाउँछु । नेपाली फिल्ममा पनि गाएकी छु । गायिका भइसकेपछि सबै खालका गीत गाउनुपर्छ भन्ने मेरो मान्यता हो ।

गाउन सुरु गर्नुभएको कति भयो ?

सानैदेखि गाउँथेँ । तर, औपचारिक रुपमा संगीतलाई अँगाल्न ढिलो भयो । गाउँमा बसेपछि रहर र इच्छा भइकन पनि गीत रेकर्डिङ गर्ने मौका मिलेन । २०७२ सालमा जब एल्बम ‘मनको तारा’ ल्याएँ, त्यसपछि चाहिँ निरन्तर यसै क्षेत्रमा छु ।

सानोमा कस्तो र कसको गीत बढी गाउनुहुन्थ्यो ?

मलाई मनपर्ने सबै प्रकारका गीत गाउँथेँ । अरुणिमा लामादेखि आशा भोस्लेसम्मका गीत गाउँथे । र, पालामहरु पनि गाउँथे । अहिले पनि गाउँछु ।

तपाईंको पहिलो रेकर्डिङ भएको गीत कुन हो ?

पहिलो रेकर्डिङ ‘फक्ताङलुङ डाँडैमा’ हो । जुन गीत मैले एल्बम ल्याउनअघि नै गाएकी हुँ । त्यो गीत इन्द्रसुशीलको एल्बमका लागि गाएकी थिएँ ।

गायनमा कसरी प्रभावित हुनुभयो ?

सानैमा गाउन भनेपछि हुरुक्कै हुन्थेँ । तर, गायिका नै बन्छु भन्नेचाहिँ लागेको थिएन । त्यसैले गायनभन्दा अगाडि मोडलिङ गरेँ । अहिले मोडलिङ छाडेर गायनमा मात्र छु ।

तपाईंले मोडलिङ पनि गर्नुभयो ?

तीन वर्ष मोडलिङ गरेँ । पूर्वमा बनेको म्युजिक भिडियोहरुमा मोडलिङ गर्दै आएकी थिएँ । तर, मोडलिङलाई निरन्तरता दिन सकिनँ ।

मोडलिङलाई निरन्तरता दिन नसक्नुको कारण ?
मोडलिङमा आफूलाई फिट लाग्न छाड्यो । मोडल भन्नेवित्तिकै राम्री र स्लिम हुनुपर्छ भन्ने मान्यता छ । त्यो मापदण्डसँग म म्याच छुइन भन्ने आफैँलाई लागेपछि छाडेकी हुँ ।

गीतसंगीत क्षेत्रबाट खुसी हुनुहुन्छ ?

अहिलेसम्म खुसी नै छु । दर्शक तथा श्रोताको माया पाएकी छु, त्यसैमा सन्तुष्टि छु ।

अहिलेको अवस्थामा मोडलिङ वा फिल्मका लागि प्रस्ताव आयो भने गर्नुहुन्छ ?

अब त गर्दिनँ । अरुलाई पनि पालो दिनुपर्यो नि । मलाई गायनमै ठिक छ । गीतसंगीत भनेको नशा रहेछ । त्यो नशा मलाई लागिसकेको छ ।

धनकुटामा बसेर संघर्ष गर्नु गाह्रो भएको छैन ?

काठमाडौंमै बसेर संघर्ष गरेजस्तो हुन्न । केही अप्ठ्यारो छ । तैपनि अहिलेसम्म टिकिरहेकी छु । हुन त अहिले पूर्वमा पनि गीत रेकर्डिङ र म्युजिक भिडियोहरु बन्न थालेका छन् । तैपनि, अबचाहिँ काठमाडौंमै बसेर गायन करिअरलाई अगाडि बढाऔँ कि भन्ने सोच्दैछु ।

तपाईंलाई गायिकाका रुपमा चिनाउने गीत कुन हो ?
‘ढाका टोपी’ बोलको गीत हो, जसले मलाई गायिका हेमुस्मृतिको रुपमा चिनायो । पछिल्लो समय ‘तोङ्बा सुरुप्पै’ पनि दर्शक तथा श्रोताले रुचाउँनु भएको छ । जुन गीत केही समयअघि मात्र आफ्नै अफिसियल यु–ट्युब च्यानलबाट रिलिज गरेकी हुँ ।

तपाईंको आफ्नै यु–ट्युब च्यानल पनि छ ?

छ । आवश्यकता महशुस भएपछि आफैँले खोलेकी हुँ । आफ्नो लाखौँ लगानी भएको हुन्छ तर, अरुको च्यानलमा अपलोड गर्दा पैसै नपाइने भएपछि आफ्नै च्यानल सुरु गरेकी हुँ । सबै कलाकारलाई मेरो सुझाव छ, लाखौँ लगानी गरेर अरुलाई दिनुभन्दा आफ्नै च्यानल बनाएर भिडियो अपलोड गर्नुस् । ढिलोचाँडो राम्रो हुन्छ । पैसा उठाइरहनु झमेला पनि हुँदैन ।

संगीतको औपचारिक ज्ञान लिनुभएको छ कि छैन ?
अहिलेसम्म सिकेकी छैन । म नेचुरल गायिका हुँ । भगवानले जति कला र प्रतिभा मलाई दियो, त्यति नै हो ।

तपाईंको बुझाइमा संगीत के हो ?

नशा । मानिसहरु संगीतमा भुल्न थालेपछि नशा लाग्छ । संगीतको नशा लागिसकेपछि छुट्नु र छुटाउन गाह्रो छ ।

प्रतिक्रिया दिनुहोस्