Logo
Logo

शेयरमा लगानी जुवामा च्याखेँ थाप्ने जस्तै !




पछिल्लो समय कोभिडका कारण अर्थतन्त्र प्रभावित भए पनि सेयर बजारप्रति चासो बढ्दै गएको छ । यसो हुनुको पछाडि लगानी गर्ने वातावरणको अभाव र थोरै पूँजीले पनि शेयरमा धेरै कमाउन सक्ने लोभ नै हो ।

आफूसँग भएको पकेट खर्च हजार रुपैयाँलाई सेयर बजारमा लगाउन सकिन्छ । त्यसैले पनि सेयर बजारप्रति आकर्षण बढेको हो । प्राथमिक सेयर (आईपीओ)े भर्न एक हजार रुपैयाँले पनि पुग्ने भएकाले सेयर बजारप्रति चासो बढेको नवप्रवेशी लगानीकर्ता बताउँछन् ।

सेयर बजारमा प्रवेश गर्नेहरूको संख्या दिनानुदिन बढिरहेको सरोकारवालाको भनाइ छ । हामीले सेयर बजार विस्तारको आवश्यकता समेत महसुस गरेका छौँ । मागभन्दा सयौँ गुणा बढी आवेदन पर्ने गरेको छ । आईपीओ पाउन भाग्यकै भर पर्नुपर्ने हुन्छ । पछिल्लो विवरणअनुसार डिम्याड खाता ३५ लाख बढी भइसक्यो ।

सेयर बजार कति विस्तार भइरहेको छ भन्ने कुरा कारोबार रकमले स्पष्ट पार्छ । धितोपत्र बजारमा एकपछि अर्को गर्दै कीर्तिमान कायम हुँदै आएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको धेरै भएको छैन । केही समयअघि कारोबार रकम औसत १६ अर्बको हाराहारीमा थियाे ।

सेयरमा कुनै जागिरमा जस्तो पूरै समय दिनुपर्दैन । व्यवसाय वा अरू जागिर गरिरहेपनि सेयर कारोबार गर्न सकिन्छ । त्यसैले पनि सेयर बजार धेरैको आकर्षणको केन्द्र बनेको हो । सबैले आ–आफ्नो पेसा व्यवसायसँगै सेयर बजारमा लगानी गर्दै आएका छन् ।

नेपालको सेयर बजारमा सामान्यतः तीन किसिमका कम्पनीमा बढी आकर्षण देखिन्छ, बैंक तथा वित्तीय संस्था, इन्सुरेन्स र हाइड्रो पावर कम्पनी । अरुको तुलनामा यस्ता कम्पनीको सेयर बढी आइरहेका छन् ।

सेयरमा धेरै लगानी गर्दा धेरै फाइदा हुन्छ भन्दै त्यसबारे राम्ररी नबुझी लगानी गर्न हतारिन्छौँ । लगानी गर्नुअघि दोस्रो बजारसम्बन्धी सामान्य ज्ञान पनि लिँदैनौँ । आधारभूत कुराहरूसमेत थाहा हुँदैन । बिनाजानकारी दोस्रो बजारमा प्रवेश गर्नु भनेकोे जुवामा च्याखेँ थाप्नुजस्तै हो ।

चार दशकभन्दा बढी भइसक्यो, सेयर बजार । तर, गत वर्षदेखिमात्रै धेरैले सेयरसम्बन्धी चासो राखेको पाइन्छ । पछिल्लो समय सेयरसम्बन्धी चासो बढ्नुको एउटा मुख्य कारण ‘डिजिटलाइजेसन’ हो । डिजिटलाइजेसन भएपछि जहाँ बसेर पनि सेयरको कारोबार सकिन्छ । इन्टरनेटको सुविधा भएको देश–विदेश, घर, पसल, कार्यालय जुनसुकै स्थानमा बसेर पनि सहजै गर्न सकिन्छ । जसले गर्दा पनि सेयर बजारप्रति सर्वसाधारणमा आकर्षण र चासो बढेको हो ।

के कुरामा ध्यान दिने ?

सेयर बजारबाट कमाउनेले अथाह कमाइरहेका छन् भने धेरै डुबेका पनि छन् । यहाँ जसरी कमाइन्छ, त्यसरी नै डुबिन्छ पनि । ‘जान्नेलाई श्रृखण्ड, नजान्नेलाई खुर्पाको बिड’ भनेजस्तै हो ।

सेयरमा धेरै लगानी गर्दा धेरै फाइदा हुन्छ भन्दै त्यसबारे राम्ररी नबुझी लगानी गर्न हतारिन्छौँ । लगानी गर्नुअघि दोस्रो बजारसम्बन्धी सामान्य ज्ञान पनि लिँदैनौँ । आधारभूत कुराहरूसमेत थाहा हुँदैन । बिनाजानकारी दोस्रो बजारमा प्रवेश गर्नु भनेको जुवामा च्याखेँ थाप्नुजस्तै भएको लगानीकर्ताहरू बताउँछन् ।

लहैलहैमा लाग्नेहरू ९५ प्रतिशतचाहिँ सेयर बजारमा डुब्ने सगरमाथा मर्चेन्ट बैंकका पूर्वसिइओ मन बाहिङ राई बताउँछन् । अध्ययन र विनाजानकरी दोस्रो बजारमा छिर्दा कमाउनेभन्दा पनि डुबाउने सम्भावना बढी हुने उनको भनाइ छ । उनी भन्छन्, ‘अध्ययनविनै लगानी गर्न सक्ने भनेको आइपीओ हो । दोस्रो बजार आइपीओ जस्तो हुँदैन । सेयर बजारसम्बन्धी अध्ययन गर्न जरुरी हुन्छ । अनुभवीहरूसँग सल्लाह–सुझाव लिनैपर्छ । अरुले कमायो भनेर दोस्रो बजारमा विना ज्ञान लागियो भने आफ्नो साँवासमेत डुब्ने खतरा हुन्छ ।’

‘कागले कान लग्यो’ भन्दै कागको पछाडि दौडनु हुँदैन । ट्राफिक प्रहरीको एउटा भनाइ छ– ‘हतार गर्यो भन्ने भन्न सकिँदैन, विस्तारै गए अवश्य पुगिन्छ’ सेयर बजार पनि ठ्याक्कै यस्तै हो । अहिले नै कमाइहाल्छु भनेर लागियो भन्ने भन्न सकिँदैन । तर, अध्ययन गरेर लागियो भने अवश्य कमाउन सकिन्छ ।

विशेषतः कुन कम्पनीको सेयर किन्दैछौँ ? त्यसबारे विस्तृत जानकारी लिनुपर्छ । लगानी गर्नु भनेको त्यसको स्वामित्वसँगै दायित्व लिनु पनि हो । त्यसैले कम्पनीको वर्तमान अवस्था र भविष्यको सम्भावनाबारे अध्ययन गर्न जरुरी हुन्छ ।

दोस्रो बजारमा लगानी गर्दा कम्पनीको वित्तिय स्थिति, व्यवसाय, व्यवस्थापन, मुनाफा, नेतृत्व, बजारहिस्सासँगै बजारमा उक्त कम्पनीको साखः विगतको र सम्भावित मूल्यको उतारचढाव, खुद मुनाफा, प्रतिसेयर आम्दानी, लाभांश क्षमता र लाभांश नीति समेतमा ध्यान दिन जरुरी छ । साथै, कति वर्षको लागि लगानी गर्ने ? कारोबार गर्ने भए कतिको नाफा वा नोक्सानीमा बेच्ने ? यी कुरा बुझेर लगानी गर्नु बेस हुने जानकारहरूको सुझाव छ ।

कम्पनीको विगत एक वर्षको बजार मूल्य, विगतमा कतिसम्म मूल्य पुगेको थियो र हाल किन्न लागेको मूल्य कति सस्तो वा महँगो भन्नेबारे पनि केलाउनुपर्छ । त्यसको लागि नेप्से र धितोपत्र बोर्डका आधिकारिक वेबसाइट, कम्पनीहरूका त्रैमासिक विवरण र वार्षिक प्रतिवेदनबाट जानकारी लिनुपर्दछ ।

प्राथमिक सेयर बजारका लगानीकर्ताहरूको गन्तव्य भनेको दोस्रो बजार पनि हो । आईपीओमा परेको सेयर बिक्री गर्न दोस्रो बजार नै छिर्नुपर्ने हुन्छ । प्राथमिक बजारमा होस् वा दोस्रो, आधारभूत ज्ञान त हुनैपर्छ । साथै, लगानीकर्ताहरू सचेत हुन पनि जरुरी छ ।

प्रायः घट्ने चक्रबाट गुज्रिरहेको बेला राम्रा कम्पनीका सेयर किन्न सके भविष्यमा त्यो बढ्ने सम्भावना धेरै हुने संसारभरकै सेयर विश्लेषकहरूको सुझाव हुने गर्छ ।

सुधारको जरुरी

सेयरका लागि अहिले बैंकमा गएर पैसा हातमा लिएर लाइन बस्नुपर्ने बाध्यता हटेपनि हामीले विभिन्न समस्यन भोगिरहेका छौँ । नेपालमा मात्र यस्तो देश हो, जहाँ पूँजी बजारमा यो सुधार गर, त्यो सुधार गर भनेर विभिन्न समयमा अनशन बस्नुपर्छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा गएर धर्ना बस्नुपर्छ । नेप्सेमा गएर ताल्चा लगाउनुपर्छ ।

राजनीतिक नेतृत्वले गर्दा पनि लगानीकर्ताहरूले दुःख भोग्ने गरेका छन् । अझैपनि सेयरमा सुरक्षित छ भन्न सकिने अवस्था छैन । सेयर बजारमा लगानी गरेको छु भनेर आनन्दले बस्ने र निदाउन सक्ने वातावरण छैन ।

मौद्रिक नीति आउनुभन्दा अघि नै त्यससम्बन्धी सूचना चुहावट हुने पनि गरेको छ । कुनै कम्पनीले केही ‘डिक्लेयर’ गर्दैछ भने त्यो पहिला नै चुहावट भइसक्छ । त्यो भनेको सामान्य लगानीकर्ताको पहुँचमा हुँदैन । जो अलिकति ठूला लगानीकर्ता छन्, जसको कम्पनीसँग पहुँच छ, तिनै खेलाडीहरू त्यो पहुँचमा हुन्छन् । र, खतरामा अरुलाई जाक्छन्, आफू उम्कन्छन् ।

पदीय दुरुपयोग गरी अनुचित लाभ लिने पनि उत्तिकै छन् । अघिल्लाे शुक्रबार मात्रै प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सर्वाेत्तम सिमेन्टको सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको ठहर गरेको थियो ।

समितिको बैठकले अर्थ मन्त्रालयले नै छाविन समिति बनाएकाले अध्ययन समितिको प्रतिवेदन समितिलाई पनि बुझाउनु र सोहीअनुसार कारबाही गर्नु भनेर सरकारलाई निर्देशन दिएको छ । त्यसमाथि शेयर बजार कालोधनलाई ‘सेतो’ बनाउन पनि प्रयोग भइरहेको छ ।

पुँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रमा स्वच्छता, पारदर्शीता, सदाचार, नैतिकताका साथ जिम्मेवारी र जवाफदेहिता प्रवर्द्धन गर्न नीतिगत, कानूनी, संरचनात्मकलगायत सुधारको खाका तयार गरि समितिलाई जानकारी गराउन निर्देशन दिएको छ ।

यता, महालेखा परीक्षकले पनि नेपाल बैंकले सर्वसाधारण र सरोकारवालाहरूलाई सहि सूचना नदिएको जनाएको छ । महालेखाले बैंकले नेपाल राष्ट्र बैकले दिएको निर्देशनविपरित वार्षिक प्रतिवेदन प्रकाशित गरेको समेत आरोप लगाएको छ । सरकारले यस्ता प्रवृतिलाई नियमन गरिदिने हो भने सेयर बजारको भविष्य उज्ज्वल छ ।

प्रतिक्रिया दिनुहोस्